Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा विद्यालय बनाउन दाजुभाईले दिए १७ लाख रुपैंया

Published on 6:05:00 PM //


घनश्याम गौतम
आफुले पढ्न नपाएको पिडाले अन्यलाई शिक्षा दिलाउन थानपतिका दुई दाजुभाईले गाउँमा स्कुल संचालन गर्न १७ लाख रुपैंया भन्दा बढी रकम उपलब्ध गराएका छन् ।

जापान र बुटवलमै व्यवसाय गर्दै आएका थानपति ३ झमादीका ५० वर्षे मेघबहादुर बसेल र उनका भाई मदनले विद्यालयको पूर्वाधार निर्माण, शिक्षक, विद्यालय सामाग्रीका लागि रकम प्रदान गरेका हुन् । उनले विद्यालय संचालन दिगो बनाउन आम्दानीको वार्षिक १० प्रतिशत रकम हरेक वर्ष उपलब्ध गराउने समेत घोषणा गरेका छन् । उनीहरुको मासिक आम्दानी २ लाख ५० हजार रुपैंयाभन्दा बढी छ । आर्थिक अभावकै कारण तिन कक्षा पढ्दै गर्दा रोजगारीका लागि भारत पसेका थिए । भारतमा झण्डै दुई दशक होटलमा काम गरेर जापानको टोकियो शहर पुगेका थिए । टोकियो शहरमा समेत शुरुमा होटलमै काम गरेका बसेल दाजुभाईले अहिले आफ्नै होटल संचालन गरेका छन् ।
जापानबाट गाउँ फर्कदा सानासाना बालबालिका धुलोमा लड्दै र खेल्दै गरेको देखेपछि मेघबहादुरमा सहयोग गरेर बालबालिका पढाउने र चेतना जगाउने दया पलाएको थियो । दुई भाईको सल्लाहमा गाउँमा बाबुआमाको नाम पनि रहने र विद्यालय जानबाट बञ्चित दलित बालबालिकालाई शिक्षा प्रदान गर्ने गरी विद्यालय खोल्ने सोंच बनाएर रकम सहयोग गरेको मेघबहादुरले बताए । ‘व्यक्तिको चेतना माथि नउठेसम्म गाउँ र समाजको विकास नहुने भएकाले विद्यालय निर्माण गर्न सहयोग गरेका हौं ।’, उनले भने ।
दुई दाजुभाई मध्ये मेघबहादुर अहिले बुटवलमै बस्दै आएका छन् । भाई मदनले जापानमै होटल संचालन गरिरहेका छन् । ‘हामीले गरिबीकै कारण पढन नपाएको र दलित भएकै कारण अपहेतिल समेत हुने गरेकाले सहयोग गर्न मन लागेको हो’, दाता मध्येका दाजु मेघबहादुरले भने, ‘विद्यालय नगएका गाउँका  बालबालिकालाई पढाउन सके उनीहरु पनि भोली हेपिन नपरोस, र गरेर खान सकुन भन्ने हाम्रो चाहना हो ।’
झमादी गाउँमा प्रेम बिष्णुदेवी सबेल प्राथमिक विद्यालय खोल्ने गरी आइतवार सभाषद प्रदिप ज्ञवालीले भवनको शिलन्यास गरेका छन् । भवनको शिलान्यास गर्दै सभाषद ज्ञवालीले बालबालिकाहरुको शिक्षा दिक्षाको दायित्व राज्यको भएपनि मेघबहादुरका दाजुभाईको सबैका लागि उदाहरणीय भएको बताए । ‘मेघबहादुरजीहरुले आफु अशिक्षित र अपहेलित हुनुको पीडा बिर्सन जुन सहयोग गर्नु भएको छ, त्यसमा तपाईहरुले पूर्ण साथ दिनु जरुरी छ’, उनले भने, ‘विद्यालय बनेपछि भोली गाउ“का सबै बालबालिकालाई विद्यालय पठाउने दायित्व तपाईहरुको हो ।’
स्थानीय समाजसेवी एवं दलित अगुवा धनबहादुर नेपालीका अनुसार थानपतिको झमादी गाउँ पुरै दलित बस्ति हो । झमादीमा ७३ दलित, ७ मगर र ४ ब्राह्मण क्षेत्री जम्मा ८४ घर छन् । ८४ घरमा ५५ भन्दा बढी विद्यालय जाने उमेरका बालबालिका भएपनि २०÷२२ जना विद्यालय टाढा भएकै कारण घरमै बस्ने गरेका छन् । विद्यालय टाढा भएकै कारण पढ्दापढ्दै विद्यालय छोड्नेहरुको संख्या पनि धेरै नै छ ।
‘नजिकको विद्यालय भनेको जमादी प्रावि लामाखर्क हो’, उनले भने, ‘त्यहाँ पुग्न केटाकेटीलाई डेढ घण्टा लाग्ने गर्दछ ।’ धनबहादुर ले अहिले मेघबहादुरबाट प्राप्त भएको १७ लाख रुपैंयामा ४ कोठे भवन निर्माण गरिने र बाँकी रहेको रकम अक्षयकोषको रुपमा राखेर विद्यालय संचालन गरिने बताए । मेघबहादुरले दलित गाउ“मा विद्यालय नै निर्माण गरिदिन थालेपछि अन्य स्थानीय पनि हौसिएका छन् । उनीसंगै आईतवार नै बुटवल बसाई सरेका झमादीकै सुबेदार खुमबहादुर बसेलले १ लाख रुपैंया र स्थानीय सन्तबहादुर बसेलले १० हजार रुपैंया सहयोगको घोषणा गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग