Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी-रुद्रवेणी (साँघुरे) सडकमा एक महिना सवारी बन्द गरिने

Published on 9:46:00 PM //


घनश्याम गौतम
जिल्लाकै व्यस्त सडक रिडी रुद्रवेणी सडक खण्डमा एक महिना सवारी संचालन बन्द हुने भएको छ । जिल्ला विकास समितिमा मंगलबार बसेको सर्वपक्षिय बैठकले विश्व बैंकको आइडिए ऋण तथा अनुदान सहयोगमा भै रहेको स्तरोन्नती कार्यलाई सवारी संचालनले समस्या उत्पन्न भएको भन्दै माघ २१ देखि फागुन २० सम्म एक महिना सवारी संचालन बन्द गर्ने निर्णय गरेको हो । बन्द अवधिभर जिविसले बलेटक्सार, बम्घा, टाहटिम उल्लिखोला सडक मर्मत गरी सवारी संचालनको व्यवस्था मिलाउने स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले बताए ।
सडकमा माघ १५ देखि २० सम्म भने साँझ ६ बजे देखि विहान ६ बजेसम्म सवारी संचालन हुनेछन् । बैकल्पिक व्यवस्था गर्न लागिएको सडकको बडीघाट खोलामा पुल नभएकाले सवारी संचालनमा समस्या छ । पुल अभावले बस र खाध्यान्न ढुवानी गर्ने ट्रक संचालनमा बढी समस्या उत्पन्न हुने सवारी चालकको गुनासो छ । सडक संचालनमा रिडी रुद्रवेणी सडक जिल्लाकै अति व्यस्त सडक हो । जिल्लाका विभिन्न गाविस र बाग्लुङ्गका झण्डै दुई दर्जन गाविसलाई यातायात सुविधा पुगेको सडकमा दैनिक १ सय बढी सवारी संचालन हुने गर्दछन् ।
निर्माण भएको झण्डै ३० वर्षपछि स्तरोन्नतीका लागि विश्वबैंकको आइडिए ऋण तथा अनुदान सहयोगमा ग्रामिण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरएआईडिपी)ले रिडी रुद्रवेणी सडकको स्तरोन्नतीको काम शुरु गरेको छ । सर्वपक्षिय बैठकले सवारी बन्दको समयमा सडक खण्डको सबैभन्दा अप्ठ्यारो स्थान साँघुरेबाट शुरु गर्न समेत निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
सवारीको चाप बढी भएकाले त्यसको सहजताका लागि बढीघाट खोलाको इन्द्रेगौँडामा रहेको घाटको समेत व्यवस्थापन गरी संचालनमा ल्याउने बैठकले निर्णय गरेको छ । जिविसले रिडी रुद्रवेणी वामी खण्डका लागि ३ करोड ८ लाख ८० हजार रुपैंयाको ठेक्का आह्वान गरेकोमा १ करोड ७९ लाख २ हजार रुपैंया र तम्घास सिमलटारी पुर्कोटदह सडकका लागि २ करोड ७१ लाख ७५ हजार ठेक्का आह्वान गरेकोमा १ करोड ७९ लाख २९ हजार रुपैंयामा ठेक्का स्वीकृत भएको थियो । जिविस इन्जिनियर मेघराज ज्ञवालीका अनुसार रिडी रुद्रवेणी सडकमा ३ किलो मिटर स्तरोन्नती र १६ किलोमिटरसम्म सडक चौडा गर्ने, नाली खन्ने, कल्भर्ट निर्माण लगायतका काम हुनेछन् । जिल्लाको १ नं. निर्वाचन क्षेत्र र बाग्लुङ्ग जिल्ला जोड्ने यो सडक ४२ किलोमिटर लामो छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. ३ सहित प्यूठान जोड्ने तम्घास सिमलटारी पुर्कोट दह सडक खण्डमा भने साढे ७ किलोमिटर स्तरोन्नती र १६ किलोमिटरसम्म सडक चौडा, वाल, नाली निर्माणका काम हुने परियोजनाले जनाएको छ । दुवै सडक जिल्लाका अति महत्वपूर्ण सडक भएकाले यस वर्ष स्तरोन्नती गर्ने र अर्को वर्षबाट त्यसको कालोपत्रेका लागि प्रकृया अगाडी बढाईने परियोजनाले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग