Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषि प्रविधिले तान्यो किसानलाई

Published on 7:51:00 PM //


अमृता अनमोल
कपिलवस्तुको कोपवाका किसान जयराज चौधरी आइतबार परिवारसहित २ दिनका लागि बुटवल आएका छन् । एक दशक अघि खुट्टा भाँच्चिँदा बाहेक नआएका उनी अहिले उपचारका लागि आएका होइनन् । यहाँ कृषि मेला अवलोकन तथा परामर्शका लागि आएका हुन् ।

'कृषिसम्बन्धी प्रविधि देखाउने र प्रयोग गर्न सिकाउने भन्ने सुनेर दुई छोरासहित आएको हुँ,' उनले भने ।  सात वर्षदेखि व्यावसायिक तरकारी खेती गरिरहेका उनले मेलामा प्लास्टिकको पोखरीमा माछा पाल्ने प्रविधिले आफूलाई छोएको बताए । 'मेरो खेतमा पानी प्रशस्त छ,' उनले भने, 'यो प्रविधिबाट माछा पाल्न पनि सुरु गर्छु ।'

करहियाका श्यामबहादुर श्रेष्ठ ७ जना साथीसहित आइतबार मेला अवलोकनमा आए । रासायनिक मल नपाउँदा आफूले लगाउने गरेका नगदेबाली प्रभावित भएपछि उनीहरू अर्गानिक मल बनाउने र अर्गानिक खेती गर्ने तरिका सिक्न मेलामा आएका हुन् । 'रासायनिक मलको प्रयोग गरेर मौसमअनुसार अन्न बाली, नगदे बाली र तरकारी खेती गरेका छौं ।'

मिलिजुली किसान समूहमा आबद्ध उनीहरूले भने, 'तर समयमा मल नपाइने, माटोको उर्वराशक्ति नासिने गरेर हैरान भएकाले अर्गानिक विधि सिक्न यहाँ आएका हौं ।' मेलामा आएपछि अर्गानिक विधिसँगै चितवनको रामपुरस्थित राष्ट्रिय मकै बाली कार्यक्रमले देखाएको मकैका उन्नत जातको छनोट गर्ने, खेती गर्ने र भण्डारण गर्ने तरिकाले उनीहरूलाई लोभ्याएको छ । 'मौसमी-बेमौसमी दुवै खेती गर्न सकिने, मल पानी पनि बढी नचाहिने मकै खेती राम्रो लाग्यो ।' समूहमा आबद्ध अर्का किसान दलबहादुर गुरुङले भने, 'अब केही जमिन छुट्याएर मकै खेती पनि सुरु गर्ने सोच बनाएका छौं ।'  'बजारमुखी कृषिको आधार ः समुन्नत नेपालको पूर्वाधार' भन्ने नाराका साथ बुटवलमा शनिबारदेखि सुरु भएको चौथो कृषि मेला २०६८ मा मेला उद्घाटनलगत्तै चौधरी र श्रेष्ठजस्ता सयौं किसान अवलोकन गर्न आएका छन् । किसानहरूलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रको प्रवर्द्धन, व्यवसायीकरण, बजार विस्तार र कृषिमा आधारित उद्योग तथा व्यवसायलाई महत्त्व दिने उद्देश्यले बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त मेलामा किसान समूहमा आबद्ध किसानका लागि निःशुल्क अवलोकनको व्यवस्था गरिएको छ ।

प्रत्येक स्टलमा निःशुल्क प्रविधिबारे परामर्श दिने, सहुलियतमा औजार तथा प्रविधि किनबेच गर्ने व्यवस्था पनि गरिएको छ । यसले गर्दा मेलामा रूपन्देही सहित कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, दाङ, स्याङ्जा सम्मका किसान तथा तिनका समूहहरू आएका छन् । बाहिरी जिल्लाबाट आउने नमुना किसान समूहलाई स्टल नराखे पनि मेलामा

आफ्ना प्रविधि देखाउने अवसर दिइएको मेला संयोजक कृष्णकुमार श्रेष्ठले बताए ।

मेलामा पाल्पा मदनपोखराका तरकारी किसान, गुल्मीका अदुवा तथा कफी किसान, सल्यानका तरकारी किसान, चितवनका मह किसान, रूपन्देहीको छपियाका माछा किसान लगायत छन् । किसानलाई लक्षित कृषि क्षेत्रमा प्रयोग भएका आधुनिक प्रविधि तथा पुराना प्रविधिलाई परिमार्जन गरी प्रयोगमा ल्याउन प्रेरित गरी आम्दानी बढाउने लक्ष्यसहित मेलाको आयोजना गरेकाले उनीहरूको अवलोकन र परामर्शलाई ध्यान दिएको संयोजक श्रेष्ठले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग