Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२९ वर्षदेखि सडक निर्माणाधीन

Published on 1:06:00 AM //


घनश्याम गौतम
सडक अभावमा सदरमुकामसँग पहुँच नपुगेका पूर्वी दुर्गम गाविस जोड्ने बाटो २९ वर्षदेखि निर्माणाधीन रहेको छ । तर राष्ट्रिय योजना आयोगले भने यस सडकलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

स्थानीयको पहलमा उतिबेलादेखि निर्माण भइरहेको सडक राष्ट्रिय योजना आयोग उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले निरीक्षण गरेपछि यसलाई उच्च प्राथमिकतामा राखेको हो । सभासद सुदर्शन बलालको पहलमा उपाध्यक्ष क्षेत्रीले सडक पूरा गर्न मुख्य समस्या भएको झन्डै १ किलोमिटर कडा चट्टान क्षेत्र उपाध्यक्षले निरीक्षण गरेका थिए ।

आयोगको बैठकपछि सडकलाई पहिलो प्राथमिकतामा राखेर प्रधानमन्त्रीे कार्यालयमा प्रतिवेदन बुझाएको सभासद बलालले बताए । जिल्लाकै दुर्गम मानिने हर्मिचौर, पूर्तिघाट, जयखानी अर्वेनी, खड्गकोटलगायत झन्डै दर्जन गाविसका सर्वसाधारण सडक अभावमा सदरमुकाम तम्घास आउन स्याङ्जा, पाल्पा पुग्नुपर्ने बाध्यता छ ।

सडकमा सरकार र विभिन्न गैरसरकारी संस्थाले समेत ३ करोडभन्दा बढी खर्च गरिसक्दा पनि यस खण्डमा पर्ने कडा चट्टान फुटाउन सकिएको छैन । सडकमा स्थानीयस्तरबाट ६३ लाख, दाताको १ करोड १४ लाख ५८ हजार र सरकारको १ करोड ४० लाख खर्च भइसकेको उपभोक्ताले बताए । ३ करोड १७ लाखमा ३१ किमिको १७ किमिमा सामान्य ट्रयाक खोलिए पनि कडा चट्टानकै कारण सडक निर्माण लागत बढ्दै गएको उपभोक्ता समिति अध्यक्ष ओमप्रकाश न्यौपानेले बताए ।

'योजना आयोगकै उपाध्यक्षले सडक निरीक्षण गरेपछि उपभोक्तामा भने उत्साह बढेको छ,' उनले भने, 'सडक पूरा भए त्यस क्षेत्रका ३० हजारभन्दा बढी उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।' सडक अभावमा अन्य दुई जिल्ला हुँदै आउनुपर्ने बाध्यताले त्यस क्षेत्रका सर्वसाधारणले सामान्य कामका लागि पनि १ हजार रुपैयाँभन्दा बढी खर्चनुपरेको गुनासो छ ।

जिल्लाका पर्यटकीय र धार्मिकस्थल रेसुंगा, निर्माण सुरु भएर अलपत्र परेको रेसुंगा विमान प्राथमिकतामा परेका सडकहरूको स्तरोन्नतिलगायत योजनाहरूमा पनि आयोगको विशेष ध्यान पुग्ने आयोगका उपाध्यक्ष क्षेत्रीले पत्रकारसँगको भेटमा बताए । उनले अहिले आयोगले नयाँ योजना थप्नेभन्दा पुरानालाई कसरी सम्पन्न गर्न सकिन्छ र अवस्था कस्तो छ भन्ने जान्नकै लागि देशभर अनुगमन गरिएको जानकारी दिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग