Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संचार माध्यममा अश्लिल भाषा र जथाभावी शब्द प्रयोग नगर्न आग्रह

Published on 1:39:00 PM //


‘के तपाईलाई छोरा चाहिएको छ, हो भने हामी आयुर्वेदीक औषधीको प्रयोगबाट ग्यारेन्टीका साथ छोरा वा छोरी जे चाहिएको छ, त्यही जन्माईदिन्छौं ।’

घनश्याम गौतम
‘नाम एउटा डाक्टरको, उपचार सय भन्दा बढी रोगको यो कसरी सम्भव हुन्छ’, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले रेडियोमा प्रशारित विज्ञापनलाई लक्षित गर्दै भने, ‘नाम ठुला डाक्टरको आउने तर सेवाग्राहीले विशेषज्ञ डाक्टर कहिल्यै देख्न नपाउने ।’ संगै रेडियोहरुले विज्ञापनको भाषा बनाउंदा कम्तिमा हाम्रो समाजले पचाउन सक्ने खालको पनि हुनुपर्यो नि ।
‘के तपाईलाई छोरा चाहिएको छ, हो भने हामी आयुर्वेदीक औषधीको प्रयोगबाट ग्यारेन्टीका छोरा वा छोरी जे चाहिएको छ, त्यही जन्माईदिन्छौं ।’ यस्तो सन्देश रेडियोले कसका लागि दिएको हो र व्यवसायीले कसरी प्रमाणित गरेको छ यसको नियन्त्रण हुनु जरुरी छ कि छैन ?
रेसुंगा अस्पतालका संचालक महेश श्रेष्ठले प्रश्न गरे । यी दुई भनाई उदाहरण मात्र हुन् । स्थानीय रेडियोमा बज्ने विज्ञापनहरुमा अस्लिल र जथाभावी शब्दहरुको प्रयोग बढ्दै गएपछि स्थानीय सञ्चार समन्वय समिति र पत्रकार महासंघले त्यसको नियन्त्रणका लागि मंगलबार तम्घासमा आयोजना गरेको कार्यक्रममा दर्जनौंले यस्ता गुनासा पोखे ।
रेडियोमा बज्ने प्रायः स्वास्थ्यसंग सम्बन्धित विज्ञापनहरुमा समाजले पचाउनै नसक्ने शब्दहरुको प्रयोग, मेडिकल पसलहरुको विज्ञापनमा प्रशारण भए अनुसारको सेवा सुविधा र डाक्टरहरु उपलब्ध नहुने, मेनपावर कम्पनीहरुको विश्वसनियता लगायतका विषयमा प्रशारित भाषाहरुमा सुधार ल्याउने उद्देश्यले स्थानीय प्रशासनको पहलमा समिति र महासंघले पहिलो पटक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा अधिकांशले रेडियोहरुका विज्ञापनहरुको भाषामा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
कार्यक्रममा रेसुंगा क्याम्पसका प्राध्यापक एवं भाषा विज्ञ दीन पन्थीले ‘असभ्य चेतना फैलाउनु भन्दा शिक्षा नै नदिएको (असभ्य नै) बेश’ हुने बताए । पन्थीले नमरेका मान्छेका समेत समवेदना बज्ने हुन कि भन्ने आशंका बढ्न लागेको समेत टिप्पणी गरे । त्यस्तै महिला, पुरुषका अंगहरु बढाउने घटाउने, थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने, विभिन्न रोगहरुको उपचार विशेषज्ञहरुबाट गराईने भन्दै बज्ने आर्कषक विज्ञापनहरुले सर्वसाधरणलाई सेवा र उपचार भन्दा पनि व्यवसायीहरुको अस्वस्थ्य प्रतिस्पर्धा मात्र भएको अधिकांशको गुनासो थियो ।
नागरिक समाजका संयोजक गुणानिधी शर्माले व्यवसायी र रेडियोहरुको अस्वस्थ्य प्रतिस्पर्धाको प्रत्यक्ष असर आमनागरिकमा पर्ने भएकाले त्यस तर्फ दुवै पक्ष अति संवेदनशील हुनु पर्ने सुझाव दिए । ‘राष्ट्रिय विज्ञापन नीतिको पनि ख्याल गरौं’, शर्माले भने, ‘विज्ञापन प्रशारण भए अनुसारका सेवा सुविधा सर्वसाधरणले पाए कि पाएनन् भन्ने पनि संचारमाध्यमहरुले ख्याल गर्नु जरुरी छ ।’ सदरमुकाम र ग्रामिण क्षेत्रका दर्जनौं मेडिकल पसलहरुले बुटवल, भैरहवा, पाल्पा लगायतका विशेषज्ञ डाक्टरहरुको नाम राखेर सर्वसाधरणका सयौं उपचार एकै साथ हुने भन्दै व्यवसायीहरुले रेडियोहरुमा विज्ञापन प्रशारण गर्ने गरेका छन् ।
तम्घासबाट प्रशारण हुने रेडियो रेसुंगा, रेडियो गुल्मी, सामुदायीक रेडियो स्काई र दिगामबाट प्रशारण भैरहेको रुरु एफएमका प्रमुख एवं प्रतिनिधिहरुले तुलनात्मक रुपमा रेडियोका भाषाहरुमा सुधार भैसकेको र आगामी दिनमा विज्ञापनको आधिकारीकता र भाषाका विषयमा थप संवेदनशील बन्न प्रतिबद्धता जनाएका छन् ।
छलफलपछि प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले संचार क्षेत्र राज्यको चौथो अंग समेत भएकाले सोही अनुसारको व्यवहार हुनुपर्ने बताए । ‘संचारको दायीत्व समाज सुधारात्मक हुनु जरुरी छ’, नेपालले भने, ‘त्यसको सकारात्मक शुरुवात गरौं, यौनजन्य भाषाहरुमा सुधार गरौं ।’ स्थानीय संचार समन्वय समितिका संयोजक एवं हुलाक कार्यालय प्रमुख हरी गैरेले आगामी दिनमा पनि स्थानीय संचार माध्यमहरुको नियमित अनुगमन र भाषागत सुधारका लागि प्रयास गरिरहने बताए ।


हामीले गुल्मिका बिभिन्न एफ.एमहरुबाट सुन्ने गरेका केही बिज्ञापनहरु:
  • काठमाडौं, बुटवल, भैरहवा, पाल्पा लगायतका विशेषज्ञ डाक्टरहरुद्वारा हरेक ..........बार .......... क्लिनिकमा निशुल्क स्वास्थ्य परिक्षण
  • कम्प्युटर सिकेर मासिक ७० हजार सम्म आम्दानी
  • जस्तोसुकै रोग पनि आयुर्बेदिक उपचार मार्फत सजिलै सन्चो बनाईदिने 
  • शरीरको अंगहरु (स्तन, लिङ्ग) चाहना अनुसार बढाईदिने
  • आयुर्बेदिक औषधी मार्फत सन्तान (छोरा) लाभ 


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग