Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ग्यास अभाव र कालोबजारीको मार खेप्दै गुल्मेली

Published on 4:17:00 PM //


भरत पाण्डेय,
गुल्मी जिल्लामा खाना पकाउने एलपी ग्यासको हाहाकार भएको छ। सरकारले मूल्य वृद्धि गरेदेखि फट्टफुट्ट पाइन छोडेको ग्यासको एक सातादेखि चर्को अभाव देखिएको हो।

ग्यास विक्रेताले खाली सिलिन्डर लिएर पनि उपभोक्तालाई ग्यास दिन सकिरहेका छैनन् । विभिन्न कारणले गर्दा गुल्मीमा दुई हप्तादेखि ग्यास पाउन कठिनाइ भइरहेको हो। ग्यासको अभाव भएपछि कोठाभाडामा बसेका विद्यार्थी कर्मचारी होटल व्यवसायी सबैभन्दा बढी मारमा परेका छन् । थोरै मात्र स्टक रहेका ग्यास आफ्ना मान्छेलाई मात्र दिने गरेकोले तम्घासका स्थायी बासिन्दालाई भने कम समस्या परेको छ ।

ग्यास नपाइएपछि होटलहरु बन्द हुने अवस्थामा पुगेको गाउँले होटलका साचालक खुमबहादुर सेजवालले बताउनुभयो। ग्यास नपाइएकाले ग्राहकलाई फिर्ता पठाउनुपरेको उहाँको भनाइ छ। 'व्यापारीहरुले आफ्नो नियमित ग्राहक भन्दै ठूलाबडालाई ग्यास दिएका छन् हामी ठूलाबडा परिएन खाना पकाउने उपाय छैन अहिले होटल बन्द गर्ने स्थिति छ।’ आफूले एक हप्तादेखि ग्यास नपाएका कारण साँझदेखि खाना खाने अवस्था नै बन्द हुने स्थितिमा पुगेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक झविलाल विश्वकर्माले बताउनुभयो। 'हप्तादिन भयो ग्यास खोज्न थालेको छिमेकीको सहयोगमा चलिएको छ तर छिमेकीको पनि सकिएकाले साँझदेखि त खाना पकाउने उपाय नै बन्द छ।’

बजारमा अभाव भएपछि कुनैकुनै व्यापारीले थोरै मात्र लुकाएर राखेको ग्यासमा कालोबजारी शुरु गरेका छन्। उनीहरुले प्रतिसिलिन्डर २५ देखि ७५ रुपियाँसम्म बढी रकम लिएर कालोबजारी गरेका तम्घास नयाँ बजारका हरि घिमिरेले बताउनुभयो।

अहिले तम्घासमा १५ सय देखि १५ सय ५० रुपियाँसम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो। आफ्ना नियमित ग्राहकबाहेक अरुलाई नदिने र दिने गरे पनि २५ देखि ५० रुपियाँसम्म बढी लिने गरेको तम्घास माइकास्थानका एक होटल व्यवसायीले बताए। 'एउटा पसलमा ग्यास छ भन्ने थाहा पाएर धेरै प्रयास गरें मलाई त दिएनन् नै पुरानो बजारका उनका नियमित ग्राहकमार्फत एक सिलिन्डर मगाएको १० रुपियाँ बढी तिरें’ -उनले भने।

तम्घासमा ग्यास बिक्री गर्दै आएको अधिकृत विक्रेता रेग्मी भाँडा पसलका भगवती रेग्मीले भने ग्यासको भाउ बढेदेखि आन्दोलन शुरु भएकाले घट्ने आशामा समयमै नल्याइएको र अहिले स्टक रहेको सबै सकिएकाले अभाव भएको जानकारी दिनुभयो। 'बढ्नेवित्तिकै कम्पनीले नै दिएन पछि आन्दोलनले घट्छ होला भनेर ल्याएनौं अहिले बाँकी रहेको पनि सकियो अभाव भयो। ’ उहाँले भन्नुभयो। बजारमा बढी मूल्यमा बिक्री भएको भन्ने गुनासोमा उहाँले अभावका बेलाको व्यापार भएकाले कसैलाई केही भन्न नहुने बताउनुभयो। 'सबैको व्यापार हो हस्तक्षेप गर्न भएन बढी मूल्यमा बिक्री भएको भन्ने कुराको बचाउ गर्दै उहाँले भन्नुभयो- 'अभावका बेला जसरीतसरी पुर्याउने कुरा हो।’

तम्घासमा ग्यास लुकाएर कालोबजारी विगतदेखि नै हुँदै आएको भए पनि सम्बन्धित निकायले अनुगमन नगरेको कारण सर्वसाधारण मर्कामा परेका छन्।

जिल्ला प्रशासन कार्यालय यसपटक मौन रहेको छ भने उपभोक्ता मन्च पाँच वर्षदेखि एउटै व्यक्तिले अध्यक्षको रुपमा चलाउँदै आएका छन् । आफै ठेकदारसमेत रहेका विष्णु पन्थी अध्यक्ष रहेको मन्चले अहिलेसम्म तम्घासमा कुनै पनि विषयमा अनुगमन गरेको नपाइएको पत्रकार रेशम कुँवरले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग