Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दानवीरको सहयोगले क्याम्पस, एकै परिवारबाट ६१ लाख

Published on 4:10:00 AM //


न कुनै महायज्ञ, न पूजा-पाठ । गाउँ शिक्षाको विकासका लागि दानवीरहरूले मन खोलेर सहयोग गरेपछि बैंकमा १ करोड ३१ लाख रुपैयाँ जम्मा गरेर त्यसको ब्याजबाट प्राध्यापकहरूका लागि तलब र

भत्ता । अन्य सञ्चालन खर्चका लागि पनि समस्या छैन । क्याम्पसको भवन निर्माणका लागि जग्गा दिनेहरूको संख्या पनि ठुलै छ ।

तीन वर्षअघि स्थानीय समाजसेवी एवं शिक्षाप्रेमी परमानन्द भण्डारीको सक्रियतामा सदरमुकामबाट झन्डै ५ कोष टाढाको धुर्कोटबस्तुमा क्याम्पस खोल्न गाउँलेहरू कस्सिए ।

दाता खोज्ने क्रममा सुरुमै भण्डारी परिवारबाट सहयोग प्राप्त भयो । अधिकांश भण्डारी परिवारहरूको बाहुल्य रहेको धुर्कोट बस्तुमा एकपछि अर्को गर्दै दाता थपिँदै गएपछि धुर्कोट बहुमुखी क्याम्पस सञ्चालन भयो ।

सहयोग हुने विश्वासमा हिमालय उच्च माविमै क्याम्पस सुरु गरियो । अहिले पनि क्याम्पस उच्च माविकै भवनमा सञ्चालन हुंदै आएको छ । तर क्याम्पसको आफ्नै भवन निर्माणका लागि ५७ रोपनी भन्दा बढी जग्गा दाताहरूले प्रस्तावित गरिसकेका छन् ।

स्नातक तहसम्मको क्याम्पसमा मानविकी र शिक्षाशास्त्र संकाय सञ्चालनमा छन् । क्याम्पसमा १ सय २० छात्रछात्रा अध्ययनरत छन् । अध्ययनका लागि टाढा जान नसक्ने, छोरी-बुहारीको क्याम्पसमा बाहुल्य छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीका अनुसार क्याम्पसमा सहयोग गर्ने सहृदयी गाउँलेहरू जस्तै काठमाडौंबाट आएकी डाक्टर नानीमैया मानन्धर शर्मा भण्डारीको मन पनि दानवीर गाउँलेहरूको जस्तै भेटियो ।

त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरी २०६३ सालमा अवकाश प्राप्त नातीमैयाले क्याम्पसमा निःशुल्क सहयोग गर्दै आएकी छन् । काठमाडौंकी सहरियाले गाउँमा पारिश्रमिक बिनै क्याम्पस प्रमुख बनेर सहयोग गर्न थालेपछि क्याम्पस खोल्ने गाउँलेमा थप उत्साह बढेको छ ।

झन्डै ८ सय घरधुरी रहेको गाउँका ४ सय ६५ जनाले ७ हजार १ सय रुपैयाँदेखि भण्डारी परिवार बाहेक १ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । क्याम्पसले ७ हजार १ सय रुपैयाँ दिनेलाई आजीवन सदस्य र २५ हजार १ सय रुपैयाँ दिनेलाई संस्थापक सदस्य बनाएको छ ।

२५ हजार १ सय रुपैयाँ दिने मात्र झन्डै २ सय गाउँले छन् । त्यो बाहेक शिक्षाप्रेमी परमानन्द भण्डारीको नाममा उनका तीन छोराहरू भुवनेश्वर, कृष्णप्रसाद र दया भण्डारीले गत वर्ष ५१ लाख रुपैयाँ नगदै प्रदान गरेका छन् ।

भण्डारी परिवारको सहयोगपछि गाउँलेहरूले क्याम्पसको नाम नै परिवर्तन गरेर परमानन्द भण्डारी बहुमुखी क्याम्पस नामकरण गरेका छन् । त्यो बाहेक भण्डारी परिवारका छोरा, बुहारी, छोरी ज्वाइँ, नाति नातिनासहितका परिवार २८ जनाबाट २५ हजार १ सय ११ रुपैयाँका दरले आर्थिक सहयोग भएको छ । सबै गरी परमानन्द परिवारबाट मात्र क्याम्पसका लागि ६१ लाख रुपैयाँ सहयोग भएको छ ।

स्थानीयबाहेक धुर्कोटबस्तुबाट काठमाडौं, चितवन, रूपन्देही लगायतमा गएर बस्नेहरूले पनि गाउँमा खुलेको क्याम्पसका लागि मन फुकाएर सहयोग गरेका छन् । बस्तु-काठमाडौं सम्पर्क मञ्चको संयोजनमा ६ लाख रुपैयाँ, बस्तु- रूपन्देही सम्पर्क मञ्चको संयोजनमा ६ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, चितवन, नारायणघाटमा बस्ने धुर्कोटेलीहरूले पनि ५ लाख रुपैयाँ सहयोग गर्ने वचन दिएको भण्डारीले बताए ।

त्यस्तै, छिमेकमा खुलेको क्याम्पस सञ्चालनका लागि छिमेकी गाविसहरू जैसीथोक, धुर्कोटरजस्थलबाट पनि नगद सहयोग गर्ने चन्दा र जग्गादाताहरू छन् । त्योबाहेक दुवै गाविसले समेत १/१ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेका छन् ।

गाउँलेहरूले क्याम्पस सञ्चालनका लागि स्नातकोत्तर हासिल गरेर उच्च माविमा अध्यापन गराइरहेकै प्राध्यापकहरूको सहयोग लिएका छन् । छिमेकका खुलेका ७ उच्च माविहरूबाट उत्तीर्ण विद्यार्थीहरू क्याम्पसमा अध्ययनका लागि आउने गरेका छन् ।

क्याम्पसमा प्रमुखबाहेक १२ प्राध्यापक र २ कर्मचारी छन् । तिनीहरूको तलब भत्तामा वर्षमा १० लाख ५० हजार रुपैयाँ मात्र खर्च हुने गरेको छ, जुन बैंकको ब्याजबाट मात्र सजिलै पुग्ने गरेको छ । गाउँलेहरूले २०१५ सालमा बनेको हिमालय माविलाई २०४९ मा उच्च मावि र २०६५ सालमा क्याम्पसमा स्तरोन्नति गरेका थिए ।

क्याम्पसका लागि नगदबाहेक जग्गा दान दिनेहरूको संख्या पनि ठुलै छ । अध्यक्ष भण्डारीका अनुसार धुर्कोटबस्तुकै नन्दराम पाण्डे र विष्णु कुँवर समेतले २५ रोपनी जग्गा दिने प्रस्ताव गरेका छन् । त्यस्तै, गाउँकै परमानन्द, झविन्द्र र माधव भण्डारीबाट १० रोपनी, स्वर्गीय परमानन्द परिवारबाट १० रोपनी, बस्तु-७ कै झविन्द्र भण्डारीबाट ५ रोपनी, इन्जिनियर कृष्ण भण्डारीबाट २ रोपनी, ओमप्रसाद भण्डारीबाट ५ रोपनी जग्गा दिन प्रस्ताव गरेका छन् ।

जिल्लामा रिडीमा सहित वामी, मजुवा, शान्तिपुर, रिडी, रानीबास, दिगाम, तम्घास, धुर्कोट, पुर्कोटमा गरी १० क्याम्पस सञ्चालित छन् । रिडीको रुरु संस्कृत विद्यापीठ बाहेक अन्य सबै निजी स्तरबाटै सञ्चालनमा आएका क्याम्पस हुन् । निजी स्तरबाट सञ्चालित क्याम्पसमध्ये धेरै नगद र जग्गा सहयोगका लागि उपलब्ध हुने परमानन्द भण्डारी क्याम्पस जिल्लाकै पहिलो धनी क्याम्पस हो । सदरमुकाम तम्घासमा रहेको रेसुंगा बहुमुखी क्याम्पसलाई पनि दाताहरूले झन्डै ८० रोपनी जग्गा उपलब्ध गराएका छन् तर नगद रकम भने परमानन्द क्याम्पसको तुलनामा कम छ ।

वामी, मजुवा र शान्तिपुरका क्याम्पसहरूले महायज्ञ गरेर र अन्य क्याम्पसहरूले स्थानीयस्तरबाटै रकम संकलन गरी सञ्चालन हुँदै आएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग