Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घुम्ती शिविरमा नागरिकता लिन छोरी बुहारीहरुको भिड

Published on 10:20:00 PM //


तेजेन्द्र थापा
शान्तिपुर, गुल्मी– स्थानीय प्रशासनले शान्तिपुरमा संचालन गरेको एकिकृत घुम्ती शिविरमा यस क्षेत्रका छोरी बुहारी, अपाङ्ग र बृद्धबृद्धाहरुको बढी भिड लागेको छ ।
घुम्ती शिबिरमा उपस्थित सेवाग्राहीहरु । तस्बिर: तेजेन्द्र थापा
सेवाका लागि सदरमुकामसम्म पुग्न नसक्ने र विभिन्न सरकारी कार्यालयहरुको सेवाको पहु“चबाट टाढा रहेका सेवाग्राहीहरुलाई लक्षित गर्दै प्रशासनले शान्तिपुरमा मंगलबार देखि दुई दिने शिविर संचालन गरेको थियो । शिविरमा सबै भन्दा बढी नागरिकता वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालका अनुसार दुई दिनमा ५ सय भन्दा बढी नागरिकता वितरण भएका छन् ।
नागरिकतामा थेग्नै नसक्ने गरी भिड बढेपछि प्रशासनले नागरिकता वितरणका लागि शिविर एक दिन थपेको छ । प्रशासनले १४ गाविसका सेवाग्राहीलाई लक्षित गर्दै शान्तिपुरमा शिविर संचालन गरेको थियो । शिविरमा विभिन्न १७ गाविसका कार्यालहरुले सेवा उपलब्ध गराएका छन् ।
शिविरमा नागरिकता, अपाङ्ग परिचय पत्र र फोटो सहितको मतदाता नामावली संकलनमा सबै भन्दा बढी भिड छ । शिविरमा नागरिकता, फोटो सहितको मतदाता नामावली संकलन, अपाङ्ग परिचय पत्र वितरण, आयुर्वेद स्वास्थ्य सेवा, नेपाल टेलिकमको नमस्ते मोवाईलको सिमकार्ड वितरण लगायतका सेवामा बढी भिड लागेको थियो । कार्यालयहरुका अनुसार नागरिकतासंगै ४ सय १ जनाले आयुर्वेद स्वास्थ्य सेवा, स्वास्थ्य कार्यालको ५ सय ८, फोटो सहितको मतदाता नामावली संकलनमा ३ सय १५ जनाले सेवा लिएका छन् ।
त्यस्तै महिला तथा बालबालिका कार्यालयबाट ८६ अपाङ्ग परिचय पत्र, नेपाल टेलिकमको नमस्ते मोवाईलको ८ सय ५० सिमकार्ड बितरण भएको छ । सिंचाई कार्यालयमा १५ जनाले योजना माग गरेका छन् । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिबाट १९ पसल दर्ता र ६ उद्योग नविकरण गरिएको छ ।
शिविरमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, जिल्ला पशुसेवा कार्यालय, कृषि विकास कार्यालय, जिल्ला वन कार्यालय, लगायतका कार्यालयहरुले पनि सेवा र परामर्श प्रदान गरेका छन् । दुर्गम र ग्रामिण क्षेत्रमा संचालन गरिएको शिविरप्रति स्थानीय सेवाग्राहीहरु समेत उत्साही भएका छन् । घरमा श्रीमान् नभएका र विविध समस्याले सदरमुकाम पुग्न नसक्नेहरुका लागि सेवा निकै उपयोगी भएको शिविरबाट पहिलो नागरिकता लिएकी शान्तिपुर–९ रेमीकी रुपा वि.क.ले बताईन । ‘श्रीमान विदेशमा हुनुहुन्छ, घरबाट सदरमुकाम पुग्न नसक्दा नागरिकता लिन सकेकी थिईन’, उनले भनिन् ‘शिविरे म जस्तै धेरै महिला र बृद्धहरुलाई राहत मिलेको छ ।’
स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले पनि शिविरमा यस क्षेत्रका सेवाग्रहीहरु कल्पना गरिएभन्दा निकै बढी आएको बताए । ‘धेरै सर्वसाधरण सरकारी कार्यालयहरुका सेवा सुविधाबाट बञ्चित रहेछन’, उनले भने, ‘यहाँको उपस्थितीले अन्य क्षेत्रमा पनि घुम्ति शिविर आवश्यक छ भन्ने सुझाव दिएको छ ।’ स्थानीय राजनीतिक दल, समाजसेवी लगायतले भने यस क्षेत्रमा छुट्टै इलाका प्रशासन कार्यालय आवश्यक रहेको भन्दै त्यसतर्फ पहल गरिदिन प्रशासनसंग आग्रह गरेका छन् । शिविरको समापन निर्वाचन क्षेत्र नं. १ का सभाषद सुदर्शन बलालले गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग