Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विश्वकै होचा चन्द्रबहादुरलाई गाउँमा स्वागत

Published on 4:26:00 AM //

दुर्गालाल के.सी
विश्वकै होचा चन्द्रबहादुर डाँगी गिनिज बुकमा नाम लेखाएर घर र्फकंदा शनिबार गाउँमा भव्य स्वागत गरिएको छ । फूलमाला र अबिर लगाएर पुरन्धारा ८, रिमखोलीस्थित घरमा छिर्दा उनले जीवनको सबैभन्दा खुसीको क्षण महसुस गरेको बताए । '७२ वर्षे जीवनमा आज धेरै खुसी छु । यो घरमा यति खुसी र उमंग लिएर प्रवेश गर्न पाएँ,' सदरमुकाम घोराहीदेखि ७० किलोमिटर टाढा विकट गाउँमा पुगेपछि उनले भने, 'आजसम्म यो विकटमा हराएको थिएँ, आज विश्वभर नै मेरो नाम चर्चामा आएको छ ।'

उनलाई भतिजा दोलखबहादुरले जौंबारीबाट पिठ्यूँमा बोकेर घर पुर्‍याएका थिए । शनिबार बिहान तुलसीपुर पुगेका डाँगी सुरुमा आफ्नो कुल देवतालाई पूजा गरी घरतर्फ लागेका थिए । दुधरासस्थित डाँगी बन्धु ट्रस्टको बागेश्वरी मन्दिरमा पूजा गरेरमात्र उनी घरतर्फ लागेका थिए । पुरन्धारा २, हापुरे बजार पुगेपछि गाउँलेले उनलाई स्वागत गरेका थिए । फूलमाला र अबिर लगाइदिएर सबैले गाउँको इज्जत राखेकोमा धन्यवाद दिए ।

पञ्चकन्याले फूलमाला लगाएर स्वागत गर्दा डाँगी हात हल्लाएर सबैलाई अभिवादन गरिरहेका थिए । गाउँलेसामु उनले लामो प्रयासपछि देश-विदेशमा आफ्नो प्रचारप्रसार भएको बताए । 'म आज गाउँ र देशको नाम राख्न सफल भएको छु,' उनले भने, 'यसमा सबैको सहयोग छ, सबैलाई धन्यवाद ।'

घरमा पुग्दा बुहारी रूपा तथा नातिनातिना स्वागत गर्न तयार थिए । डाँगी काइँला दाइका छोरा तिलक र दोलखसँग बस्दै आएका छन् । ६ भाइमध्ये चन्द्रबहादुर राइँला हुन् । कान्छा भाइ र दुई दिदीमात्र जीवित छन् । अन्य सबै दाइहरूको मृत्यु भइसकेको छ । बाआमाको सानैमा मृत्यु भएकाले उनले देख्न पाएनन् ।

अब लन्डन जाने तयारीमा रहेको डाँगीले बताए । 'भोलि नै सल्यान गएर पासपोर्टको तयारी गर्छु,' भतिजा दोलखले भने, 'गिनिज बुकले बेलायत बोलाएको छ । त्यहाँ जान्छौं ।

काकाको अन्य देश पनि घुम्ने विचार छ । मिल्यो भने अन्य देश पनि घुमाउने विचार छ ।' आजसम्म होचो भनेर सबैले बेवास्ता गरेको मान्छे अब देश-विदेश घुम्न थालेकामा निकै खुसी लागेको चन्द्रबहादुरले बताए ।

'काठमाडौंमा राम्ररी बस्न र सुत्न पाइएन' पहिलोपटक काठमाडौ जाँदा कस्तो लाग्यो ? पहिलोपटक जहाज चढ्न पाएँ । आकाशमा उड्दा डर पनि लाग्यो, रमाइलो पनि लाग्यो । काठमाडौं पुग्नेबित्तिकै क्यामराले घेरा हाले । एकछिनपछि ठूलो सहर देखें । निकै बाक्ला घर, गाडी, खान, बस्नको धेरै सुविधा । साह्रै रमाइलो लाग्यो । विदेशी मानिसहरूलाई भेट्न पाइयो । धेरै पत्रकारहरूले टीभी र रेडियोमा लगेर कुरा गरे । रेडियो र टीभीभित्र बसेर त्यहाँभित्रका कुरा देख्न पाइयो ।

धेरै मान्छेले फोटो खिच्दा के महसुस भयो ? सुरुसुरुमा अचम्मै लाग्यो । पछिपछि त बानी पर्‍यो । एक दिन पनि राम्ररी बस्न र सुत्न पाइएन । दिनदिनै मानिसहरूले घेरिरहे । कुनै दिन त खाना खान पनि पाइएन । राति २ बजेसम्म पनि नसुतेर बसियो । पत्रिकामा छापिएको देख्दा खुसी लाग्यो । जीवनमा पहिलोपटक आफ्ना फोटा खिचिएका, छापिएका देखेर धेरै रमाएँ ।

पहिले र अहिलेको जीवनमा के फरक पाउनुभएको छ ? पहिले म विकट गाउँमा गाई, बाख्रा चराएर बस्थें । जंगलको बीचमा बसेर यत्रो जीवन बिताइयो । कसैले चिन्दैनथे । अहिले विश्वभर मेरो नाम रह्यो । धेरैले राम्रो मानेका छन् । देशको नाम राखिस् भन्छन् । पहिले घरमा मात्र सीमित थिएँ । अब सबैको मान्छे भइयो । साझा व्यक्ति भइयो । अब घरमा मात्र बसिँदैन । सबैतिर घुम्नुपर्ने होला ।
कान्तिपुर दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग