Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मलेसियमा मालिकको कुटाइबाट नेपालीको मृत्यु

Published on 8:46:00 PM //


होम कार्की 
 एउटा कामदारले एक दिनमा कति घन्टा काम गर्नुपर्ला ? अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डलाई आधार मान्ने हो भने आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन हो । तर, मलेसियाको एक कम्पनीमा कार्यरत नेपालीले एक पटक कार्यथलो प्रवेश गरेपछि लगातार ३६ घन्टा काम गरेपछि मात्रै आराम पाउँछन् । जसको विरोध गर्दा एक नेपालीले ज्यान गुमाउनुपरेको छ ।

त्यहाँको जोरबारु आइबु्र पासाङमालस्थित साबुन र तेलको कच्चा पदार्थ उत्पादन गर्ने कम्पनीमा कार्यरत दैलेखका विनोद दर्जीको कम्पनी मालिकको पिटाइबाट ज्यान गएको हो । पिटाइ खाने अरू ९ जना नेपाली घाइते छन् ।

'हामीलाई ३६ घन्टा निरन्तर काममा लगाइरहेको थियो । यसको हामी विपक्षमा थियौं । हामीले म्यानपावर कम्पनीसँग सम्झौता गरे अनुसार दिनमा ८ घन्टा काम माग गरिरहेका थियौं,' सिन्धुपाल्चोकका सीताराम दाहालले भने, '१० जना साथीहरू कोठामा बसिरहेका थिए । एक्कासि कम्पनी मालिक आएर पिटपाट गरे । अलि बढी कुटाइ खाएको दर्जीको मृत्यु भयो ।'

कुटाए खाएपछि काम गर्न गएका २६ वर्षीय दर्जी आइतबार साँझ ८ बजे कम्पनीमा मृत अवस्थामा फेला परेका थिए । पीडित कामदारका अनुसार दर्जीको मुटुमा रगत जमेर मृत्यु भएको हुन सक्ने अनुमान छ । घटनालाई गुपचुप राख्न कम्पनी मालिकले कार्यरत नेपालीलाई चर्को दबाब दिएका छन् ।

पिटाइ खानेमा काभ्रेका नर्सिङ तामाङ, सिन्धुलीका पशुपति बल, भोजपुरका लालबहादुर श्रेष्ठ, सप्तरीका श्यामसुन्दर शाह, काभ्रेका दमाइ सिंह, दैलेखका धनबहादुर दर्जी र पूर्णबहादुर दर्जी हुन् । पीडितले यसबारे मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासलाई जानकारी दिएका छन् ।

कम्पनी मालिकले आफू जोगिन साथीहरूबीच झगडा भएको बताउँदै सहकर्मी काभ्रेका दमाइसिंहलाई पक्राउ गराएका छन् । स्थानीय प्रहरीले सिंहलाई नियन्त्रणमा राखेको छ । 'दर्जीको ज्यान जानुको मुख्य कारण कम्पनी मालिकको पिटाइ हो,' त्यस कम्पनीमा कार्यरत अर्का नेपाली भन्छन्, 'तर, उल्टै साथीहरूबीचको विवाद भएको भन्दै हाम्रो गल्ती देखाइरहेको छ ।'

दूतावासका अधिकारीहरू कम्पनीमा आई वास्तविक अवस्था बुझेर पीडितलाई उद्धार गर्न उनीहरूले अपिल गरेका छन् । त्यस कम्पनीमा यसअघि पनि मालिकले नेपालीलाई पटक-पटक पिट्दै आएका थिए । काठमाडौंस्थित रिङ भर्सान्टाइन्टल ओभरसिज र फिसटेल ओभरसिजबाट त्यस कम्पनीमा ७० जना कामदार पठाइएको छ । तीमध्ये कम्पनीको अवस्था देखेर ११ जना भागिसकेका छन् भने अरू १८ जना भाग्ने तयारीमा छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग