Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लिँदै नलिएको ऋणले च्याप्यो

Published on 11:25:00 PM //


लोकबहादुर चापागाई
गुल्मी वाङ्लाका दामोदर खनाल झरना रिर्सोटको नाममा लिएको पैसा नतिरेको भन्दै तीनपुस्तेसहित ऋण तिर्न आउने ३५ दिने सूचना पाए । लिँदै नलिएको ऋणमा नाम आएपछि उनी अचम्म परे । त्यसबारे सोधीखोजी गर्दै उनी सूचना निकाल्ने महाबौद्धस्थित पिपल्स फाइनान्स कार्यालय पुगे र पाँच वर्षअघिको घटना सम्झिए ।
“त्यतिबेला पिपल्सका कर्मचारीसमेत रहेका चिनेजानेका परशुराम अर्यालले एउटै व्यक्तिका नाममा धेरै जग्गा हुँदा समस्या भयो, यो जग्गा तपाईंको नाममा नामसारी गर्न खोजिएको मात्र हो, डराउनु पर्दैन भने,” खनालले फाइनान्स परिसरमा भने, “त्यही चिनेजानेका आधारमा मैले पनि उनले भनेअनुसार गरिदिएँ । तर, अहिले ऋण नतिरेको भन्दै सावाँ ब्याजसहित कर्जा तिर्न सूचना आयो । मेरो नाममा कति ऋण छ र जग्गा कहाँ छ भन्ने केही थाहा छैन ।” त्यतिबेला ४ हजार रुपैयाँ गाडी भाडाबाहेक कुनै पैसा नलिएको उनले बताए ।
आफ्नै गाउँले भएकाले विश्वासका आधारमा खनालले अर्याललाई नागरिकता सुम्पिएर उनले भनेअनुसार गरे । उनका कागजपत्र प्रयोग गरी अर्याललगायतले नक्कली कम्पनी खडा गरेर फाइनान्सबाट ऋण निकाले । खनालले नलिएको त्यही ऋण तिर्न फाइनान्सले बुधबार पत्रिकामार्फत ३५ दिने सूचना निकालेको हो । उनकै भाइ शशीधर खनालको पनि तीनपुस्ते नामसहित तीनपाते रिसोर्टका नाममा ३५ दिने सूचना आएको छ ।
यो समस्यामा पर्ने खनाल दाजुभाइ मात्र होइनन् । यही घटनामा नाम सार्वजनिक भएपछि ५० भन्दा बढीले बुधबार फाइनान्स घेराउ गरेका थिए । नाम सार्वजनिक भएका भन्दा धेरै व्यक्ति पीडित रहेको उनीहरू बताउँछन् ।
पिपल्सले बुधबार कर्जा तिर्न ४७ ऋणी कम्पनी र त्यसका सञ्चालकहरूको तीनपुस्ते नामावली प्रकाशित गरेको थियो । फाइनान्स परिसरमा भेटिएका सबैले गाडीभाडा भन्दै ३–४ हजार रुपैयाँभन्दा बढी नपाएको दाबी गरेका छन् ।
ठगिनेमा अधिकांश गुल्मी, नवलपरासी र रुपन्देहीका बासिन्दा छन् । पीडित युवराज घिमिरेले फाइनान्सले आफ्नो नाममा लिएको कर्जाबारे विवरण माग्दासमेत नदिइएको बताए । “छिटो ऋण तिर्न नआए नाम सार्वजनिक गरिने पत्र धेरैजसोले पाएका छन्,” उनले भने, “यसबारे राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत जानेछौं ।”
गाउँका सोझासाझालाई सामान्य प्रलोभनमा पारी ठगी गरिएको अर्का पीडित शिवहादुर खत्रीको गुनासो छ । राजेश घिमिरेले फाइनान्सका कर्मचारीले उपत्यकाका साथै धुलिखेलसम्म पु¥याएको बताए । “उनीहरूले केही हुँदैन भन्दै अदालतमा न्यायाधीशका अगाडि जग्गा बिक्री गर्न वारेसनामा दिएको बोलिदिए पुग्ने भन्दै त्यतिबेला फाइनान्समा संलग्न व्यक्तिको नाममा वारेसनामा लेखाएका थिए,” घिमिरेले भने, “खाली कागज र चेकमा सही गराई ४ हजार रुपैयाँ दिइएको थियो ।” त्यतिबेला आफूहरूबाट लिइएको नागरिकता सेयरका लागि फर्म भर्नसमेत उपयोग भएको हुनसक्ने आशंका उनीहरूको छ ।
नक्कली कम्पनी खडा गरी ऋण प्रवाह गर्ने क्रममा अर्यालका अतिरिक्त फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष छविलाल भुसाल तथा सञ्चालक भोला पन्त, कर्मचारी ओम भट्टराई, मनोज रिमाल र कृष्ण सापकोटाको संलग्नता रहेको दाबी उनीहरूको छ ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कुमार वस्तीले राष्ट्र बैंकको निर्देशनअनुरूप सूचना सार्वजनिक गरिएको बताए । “म साउनबाट मात्र फाइनान्समा आएकाले त्यसअघि कसरी यो सबै कारोबार भएको थियो भन्नेबारे थाहा छैन,” उनले भने, “राष्ट्र बैंकले छिटो ऋण असुलीका लागि दबाब दिइरहेकाले सूचना निकालिएको हो ।”
गत जेठ २६ मा कारोबार बन्द गरी तत्कालीन अध्यक्ष भुसाल सम्पर्कविहीन भएपछि राष्ट्र बैंकको स्वीकृतिमा फाइनान्सले वस्तीलाई साउनमा प्रमुख कार्यकारी नियुक्त गरेको थियो । त्यतिबेला राष्ट्र बैंकको प्रारम्भिक अध्ययनपछि साउन अन्तिम साता फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही (पीसीए) लगाई निक्षेप संकलन तथा कर्जा प्रवाहमा रोक लगाई निक्षेप फिर्ता गर्न निर्देशन दिएको थियो । फाइनानसको अनियमिततामा भुसाललाई प्रमुख दोषी बनाई राष्ट्र बैंकले ६४ वटा कर्जा फाइलमा ७३ करोड रुपैयाँ अनिमितता भएको निष्कर्ष निकालेको थियो । भुसाल चार वर्षअघि भएको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. ७ का उम्मेदवारसमेत हुन् । केही समयअदेखि भारतको दिल्लीमा बस्दै आएका भुसाल हाल भैरहवामा रहेको बताइन्छ ।
फाइनान्सका कम्पनी सचिव तथा ऋण अधिकृत केशव भट्टराईले घरजग्गा कर्जामा राष्ट्र बैंकले एकाएक रोक लगाएपछि नियन्त्रण गर्ने प्रयासमा यी सबै घटना भएको बताए । कुनै बेला फाइनान्सको घरजग्गामा ६० प्रतिशतभन्दा बढी कर्जा प्रवाह भएको थियो । २०६६ पुस २ गते राष्ट्र बैंकले घरजग्गा कर्जालाई सीमामा ल्याउने प्रयास थालेपछि एकाएक घरजग्गा कारोबार घटेको थियो । त्योसँगै बैंक तथा वित्तीय संस्थाले नक्कली कम्पनी खडा गरी कर्जा मिलाउने व्यवस्था गरेका खबर आउने गरे पनि घटना छरपस्ट भएको यो पहिलो पटक हो ।
फाइनान्समा हाल ४ हजार ४ सय ७ निक्षेपकर्ताको ५६ करोड ५ लाख ९ हजार निक्षेप छ । त्यसमध्ये ३६ करोड १७ लाख ४५ हजार संस्थागत र १९ करोड ८७ लाख ६४ हजार व्यक्तिगत भएको फाइनान्सले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग