गुल्मीको बसाहा गोरु काण्ड र म
Published on
2:58:00 PM //
मेघराज ज्ञवाली
गर्मीको छुट्टीमा बनारसबाट घर फर्कन भन्दा पहिले कम्युनिष्ट पार्टीलाई समर्थन गर्ने थोर्गेली विद्यार्थीहरूको एउटा सानो भेला रिडीका ठाकुरप्रसाद खनालको नेतृत्वमा गायघाटको मोतिलाल विद्यालयमा भयो । त्यो भेलाले थोर्गाका फटाहाका विरूद्ध संघर्ष गर्ने निर्णय ग¥यो ।
म सानो हुने बेला थोर्गाको डाँडो जाली फटाहाहरूको अखडा थियो । त्यसकारण पिताजीले जाली फटाहाले गर्ने अन्याय अत्याचार र शोषणका बारेमा धेरै कुरा बताई सक्नु भएको थियो । सानो छँदा पिताजीबाट पाएको शिक्षाले मेरा मनमा ठूलो भएर थोर्गाका सबै जाली फटाहाहरूलाई तह लगाउने छु भन्ने अठोट जन्मेको थियो । त्यसकारण गायघाटको भेलाले गरेको फटाहालाई ठीक गर्ने भनेको निर्णय राम्रो लाग्यो र आफ्नो प्रतिबद्धतामा थानापतिबाट पसेर फटाहाहरूका टाउका गेंड्दै रिडी झरेर गंगाजीमा खुकुरी पखाल्ने कुरा राखें । मेरो प्रतिबद्धताले सामान्य विद्यार्थीहरूलाई उत्साहित गराए पनि नेताहरू आतंकित भएर टाउका काट्ने कुरा त गर्न हुन्न भने ।
अघिल्लो वर्षको परीक्षा विग्रेर खिन्न मनले घर जान परेको थियो । तर त्यस वर्षको परीक्षा बनेका कारणले पास हुन्छु भन्ने ढुक्क मनले घर पुगँे । गाऊँ घरका नेतालाई त मैले त्यति चिन्दैनथेँ । त्यसकारण उनीहरूसित मेरो भेट हुने कुरा भएन । थोर्गामा पुगेपछि बनारसबाट गर्मीको छुट्टी मनाउन घर आएका नेताहरूसित पनि धेरै लामो समयसम्म भेट भएन । मैले एक्लै फटाहाहरूसित निहँु खोज्न थालें । त्यसरी निहँु खोज्दा पहिले–पहिलेजस्तो भए फटाहाहरूले आफू नै हातले पिटेर दण्ड जरिमानासम्मको सजाय गरेका हुन्थे । तर एक दुई वर्ष देखि मेरा बारे भए नभएका धेरै हल्लाहरू जस्तै– मेघराजले रामपुरी छुरी र चेन लिएर हिँड्छ, बनारसमा बसेर पहलमानी सिकेको छ । बनारसमै गुण्डाहरूलाई पिट्दै हिँड्छ तरबार र लाठी चलाउन उस्ताद छ आदिले फटाहाहरूले ममाथि आफै हात हाल्ने आँट नगरेर झमादीका बीरबहादुर खत्रीका छोरा सार्कीहरू र माँझ गाउँका कटवालेका सन्तानहरूलाई मलाई पिट्न भनेर खर्च दिएछन् । तर मेरा बारेमा चलेको हल्लाले सबैका मनमा आतंक भएछ । अझ कतिपयले त मेघराजले गुरिल्ला तालिम गरेको छ भनेर प्रचार गरेछन् । त्यो थरी–थरीको प्रचारले पारेको मनोविज्ञानको फाइदा मलाई भयो । रक्सीले मात्तिएर धेरै ठाउँमा मलाई पिटने जम्को गरे पनि सामुन्ने परेर आँखा जुधाउने हिम्मत कसैले गर्न सकेनन् ।
त्यसकारण जाली फटाहाहरू अरू आतंकित भएछन् र मेरै बारेमा अब के गर्ने भनेर बैठक बसेछन् । फटाहाहरूको बैठकले सर्बसम्मत निर्णय यदि मघेराजलाई छिटै तह नलगाउने हो भने यसले गाउँका मान्छेलाई पकाएको आटोसम्म खान दिने छैन भनेर निर्णय गरेछन् ।
थोर्गामा ख्याली र सन्ते भनेर प्रसिद्ध दुईओटा सुनार परिवार थिए । ख्यालीका सन्तानहरू सोझा थिए तर सन्ते सुनार आफै पनि रकमी थिए र उनका साहिला छोरा त फटाहाहरूका बैठकमा जाने गर्दथे । सन्तेका छोरा साहिला फटाहाहरूको त्यो बैठकबाट फकंदा हाम्रो घरमा पसेर पिताजीलाई पण्डित बराजु हजुर त यति सज्जन हुनुहुन्छ, सबैले राम्रो भन्छन् तर हजुरले कस्तो मुर्ख छोरो जन्माउनु भएछ बाबुले त गाऊँ घरका मान्छेलाई पकाएको आटो पनि खान नदिने भए । यिनले काशी गएर के विद्या पढेर आएछन् कुन्नी गाउँका भलाद्मीसम्म डराउन थाले भनेर गएछ । यो हल्ला तालखोला फैलिएछ । मैले फटाहाहरूको हाकाहाकी विरोध गरेको थाहा पाएर बतासेका केशव ज्ञवाली, मोहन ज्ञवाली र यमबहादुर पौडेल मलाई भेट्न आए । हाम्रो कुराकानी मिल्यो । अब म पनि फटाहा विरोधी आन्दोलनमा एक्लै नहुने भएँ । साथीहरूलाई पनि साथ मिल्यो । अब हामी संयुक्त भएर फटाहा विरोधी आन्दोलनमा लाग्यौं ।
ठूलोपोखरे साहिला खत्रीले रिडीबाट बशाह गोरू ल्याएर जोतेका रहेछन् । त्यसको विरोध केशवहरूले गरेका रहेछन् । तर, फटाहाहरूले केशवहरूको विरोधलाई दमन गरेका रहेछन् । केशवहरूसित मेरो भेट भएपछि वशाह गोरू प्रकरण चर्कियो । हामी पनि ज्यान छाडेर लाग्यौं, फटाहाको टोली पनि त्यसैगरी लाग्यो । फटाहाहरूमाथि हाम्रो दवाव बढ्न थाल्यो । फटाहाहरूले बशाह गोरूका बारेमा छलफल गर्ने भनेर ठूलापोखरामा बैठक बोलाएर मलाई ढुटो पारेर पिट्ने केशवहरूलाई माफी मगाउने योजना बनाएछन् । यसका लागि झमादीका बीरबहादुरका छोराको नेतृत्वमा उहीका सार्कीहरूलाई रक्सी पिलाएर बोलाए छन् । माझगाउँतिरका फटाहाहरूलाई पनि बोलाएछन् । तर, हामीले फटाहाहरूले यहाँसम्मको योजना बनाउन सक्छन् भन्ने कल्पनासम्म गर्न सकेनौं । त्यसकारण फटाहाले बोलाएको बैंठकमा जाने तयारीमा लाग्दै थिएँ । ठीक त्यहीबेला नीलकण्ठ र जनार्दन ज्ञवाली आइपुगे । जनार्दन ज्ञवालीले सबैलाई मुलन्दे भन्ने हुँदा हामी उनको नाम मुलन्दे दाइ राखेका थियौं ।
निलकण्ठ सबैका पुरेतका छोरा भएका र झमादीका विरबहादुर खत्रीसितको विशेष सम्बन्ध भएका कारणले फटाहाहरूको योजना थाहा पाएर मलाई ठूलापोखरा नजान भन्न आएका रहेछन् । हाम्राबीचमा जाने नजाने छलफल हुँदाहुँदै केशव ज्ञवाली र मोहन ज्ञवाली आए । उनीहरूले पनि ठूलापोखरा नजाने हो भने हामी गाऊँ छोडेर हिंड्छौं भन्न थाले । मैले त पहिले देखि नै ठूलापोखरा जाने कुरामा जोड गरीरहेको थिएँ । मुलन्दे दाइले पनि जाऊँ मुलन्दे हो, दुई चारजनालाई त मैले पनि हान्न सक्छु भनेपछि अन्तमा हामीहरू ठूलापोखरा पुग्यौं । हामी त्यहा पुग्दा ठूलै जमघट भइसकेको रहेछ । धेरै मान्छेहरू बाहिरबाट पनि बोलाइएको रहेछ । हामी पुगेको केहीबेरमै फटाहाहरूले अत्यन्तै दवावपूर्ण तरिकाले छलफल शुरू गरे । म अगाडि सरेर छलफलमा भाग लिन थालें । मैले फटाहाहरूका कुरालाई भटाभट खण्डन गरेर वशाह छाडेको गोरू ल्याएर जोत्नु धार्मिक र सामाजिक दुवै दृष्टिले अपराध भएका कारणले अपराध गर्नेले सजाय पाउनपर्छ भनें । फटाहाहरूले मेरा कुरा काट्न नसके पनि साहिला खत्रीलाई जोगाउने प्रयासमा लागे । मैले त्यो कुरा पनि नमानेर सामाजिक सजाय दिने कुरा गरेपछि फटाहाहरू चुप भए । मैले कुराले दवाव दिँदै रहँे । मैले धेरै शिष्ट र मर्यादित तरिकाले वहस गरिरहेकाले फटाहाहरूले पनि उच्छार पाएनन् र झमादीका सार्कीहरूले पनि कति बेला ममाथि हात हाल्ने हो भन्ने मेशो पाएनछन् । उनीहरू सबै अल्लमल्ल अवस्थामा पुगे । त्यही बेलामा साहिला खत्रीको छोरा साने एकाएक अगाडि बढेर ए मेघराज तैंलेजस्तो पढाइ अरूले पनि पढेका छन् । के जेडदाइ पल्टेर अरूलाई बोल्न पनि दिन्नस् भनेर मलाई धक्का दिन आयो ।
सानेलाई हामीले साने दाइ भनेर इज्जत गर्थ्यौ । ऊ थोर्गाको डाँडोमा त्यति बेलाको सबैभन्दा बलियो भए पनि कसैसित झगडा गर्दैनथ्यो । ऊ केटीहरूका पछाडि ज्यादा लाग्ने गर्दथ्यो । ऊसित कसैको पनि झगडा हुँदैनथ्यो । आफ्नै घरको मुद्दा भएर होला त्यसदिन ममाथि आक्रमण गर्न आयो । त्यसपछि झमादीका सार्किहरु पनि अगाडि बढे र छाती पिट्दै उफ्रन थाले । मैले अब त यहाँबाट बाँचेर जाने कुरा भएन मर्न परेपछि केहीलाई मारेरै मर्छु भन्ने विचारले पहिले सानेको नाकमा वक्सिङ्ग हानें । सानेले मेघराजले त्यसरी बज्र मुक्का ठोक्छ भन्ने कल्पना गरेको थिएन होला । मेरा मुक्काले उसलाई केही कदम पछि हट्न बाध्य पारेछ । त्यहि मौका पाएपछि एकजना फटाहा बाको लौरो नचाएर सबैलाई पछि हटाएँ । उता केशवले एकजना फटाहा बसेको कुर्सी खोसेर नचाउन थालेछ । भागाभाग शुरू भयो । झमादीका सार्कीहरूले राम्रै चोट पाएर पछि हटे । आरएसएसका शिविरमा गएर लाठी चलाउन सिकेको कला त्यहाँ काम लाग्यो ।
फटाहाहरूको हार भएको देखेर साहिला खत्रीका जेठा दाजुको छोराले मलाई छुरी हान्न अगाडि बढ्दै रहेछ । मैले देख्न भ्याएको थिइन । मोहनले हातमा नाङ्गो छुरी लिएर अगाडि बढ्दै गरेको देखेर उनले पुलिस पुलिस रिडिबाट पुलिस आउँदैछन् भनेर हल्ला गरे । त्यसपछि दिवाकर ज्ञवाली चलाख मान्छे छुरीवाला झमादीका सार्की साने खत्रीलाई भाग्न भनेछन् । लगभग आधाघण्टाको झगडापछि आफसे आफ स्थिति शान्त भयो । त्यस फटाहा टोलीले आज अवेला पनि भयो अब यो मुद्दालाई अर्काे दिन मिलाउला छलफल बोलाएर भने ।
हातपात गर्ने र ज्यान मार्नेसम्मको काम गर्न तयार हुने काम कसले गरेको हो झमादीका सार्कीलाई कसले रक्सी ख्वाएर ल्याएको हो त्यसको टुंगो त आज लाग्न पर्यो । तपाईहरू गाउँका भलाद्मी किन हामीलाई तिमीहरूले यो गल्ती गर्यौ र यस्तो घटना घट्यो भन्न सक्नुपर्यो । होइन हाम्रो कुनै गल्ती छैन भने त गल्ती गर्नेलाई सजाय गर्नु पर्यो । अन्यथा हामीले पनि जे सकेको त्यही गर्नेछौं भने पछि उठेर हिड्न सकेनन् र हाम्रा प्रश्नको जवाफ दिन नसकेर चुपचाप बसीरहे ।
मैले मेरा पिताजी रिसाएको जीवनमा एक पटक मात्रै देखें । त्यो पनि मलाई हातपात गरे भन्ने थाहा पाएपछि । सबै शान्त भएर बसेका थिए । म पनि शान्त भएको थिएं । केवल केशवमात्रै बोल्दै थिए । त्यही समयमा मेरा पिताजी आएर फटाहाहरूलाई नामै काटे मेरा छोराले के गल्ती गरेको थियो र हात पात गराइस ए फलाना ? फटाहा डाँका आदि तथानामले गाली गर्न थाल्नुभयो । कसैले मेरा पिताजीसित कुरा गर्ने आँट गरेन ।
ठूला पोखरामा मेघराजलाई फटाहाहरूले पिटे भन्ने खबर थानापतिको स्कुलमा पुगेछ । त्यसपछि त्यहाँका शिक्षकहरू पिताम्बर, कमल श्रेष्ठ र हेमकान्तका साथै एक हुल विद्यार्थी पनि ठूलापोखरा आइपुगे । थानापतिबाट शिक्षक र विद्यार्थीहरू आइसकेपछि पिताजी बोल्न छाड्नु भयो । शिक्षक पिताम्बरले यहाँ एउटा मात्रै मेघराज छैन सयौ मेघराज छन् । को हो मेघराजमाथि हात पात गर्ने लौ आइज भनेर भाषण गर्न थाले । फटाहाहरूका विरूद्ध नाराबाजी शुरू भयो । कमलले सर्वप्रथम हात हाल्ने व्यक्ति यहाँ चाहियो नभए सबैलाई कुच्याइन्छ भन्न थाले । केशवहरूले फटाहाका नाइकेहरू अँध्यारोको लाभ उठाएर भाग्न नपाउन् भनेर घेरामा राखेका रहेछन् । सुख नपाउने भएपछि अन्तमा पेट्रोमेक्स बालेर साने खत्रीलाई ल्याएर माफी माग्न पठाएर र वशाह रिडी लगेर छाड्ने निर्णय गरेर ठूलापोखराबाट उम्कन पाए फटाहाहरू ।
साने खत्रीले मेघराज भाइ म तिम्रो दाइ हुँम् । यस्तो पहिले पनि भएको थिएन पछि पनि हुनेछैन । एक पटकलाई माफ देऊ भन्दै मेरा अगाडि हात जोड्न आयो ।
दाइ तिमीले गल्ती गर्यौ तर गल्ती गरेर त्यो गल्ती महशुस पनि गर्यौ । हात नजोड भन्दै उसलाई अंकमाल गरँे । सबैले परर्र ताली पिटे । त्यो घटनालाई लामो समयसम्म ठूला पोखराको वशाहा गोरू काण्डले सम्झिने गरिन्थ्यो ।
रिडि देखि तम्घाससम्मको डाँडो मेलोमा फटाहाहरूको बास थियो । हामीले थाहा नपाउँदै चौताराका प्रयागलाल श्रेष्ठले फटाहाका विरूद्ध एक्लो संघर्ष गरेका रहेछन् । उनले फटाहा विरोधी संघर्ष गर्दा तम्घासमा अनशन पनि बसेका रहेछन् । तर सफल हुन सकेका रहेनछन् । थोर्गा च्यूरेकको ठूलोपोखरामा वशाह गोरू काण्डको रूपमा गुल्मी जिल्लामै पहिलो पटक फटाहाका विरूद्धको संघर्ष भएको रहेछ । ठूला पोखराको सफलतापछि गुल्मी जिल्लाको पूर्वबाट क्रमशः फटाहा विरोधी संघर्षहरू एकपछि अर्को गरेर सफल हुन थाले । फटाहा विरूद्ध भएका संघर्षका सफलता मिल्दै जाँदा पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको पनि व्यापक विस्तार भयो । यो विस्तारले लुम्बिनी र गण्डकी अञ्चलमा पनि राम्रो जग बसाल्यो । गुल्मी जिल्लाबाट कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू उत्थान भएर नेपालको पश्चिम क्षेत्र जस्तै भेरी कर्णाली र महाकाली अञ्चलमा पुगे । गुल्मी जिल्लामा पनि फटाहा विरोधी संघर्षले राजनीतिक रूप लिएर प्याँले प्रभु र तम्घास जुलुस काण्डसम्म भयो ।
नेपालको कम्युनिष्ट आन्दोलन अहिले जुन स्थानमा छ यो गर्व गर्न लायक छ कि छैन यो कुरा भविष्यले निर्णय गर्ला । तर नेपालमा जनताका पक्षमा जे जति उपलब्धी भएका छन् ती उपलब्धी प्राप्त गर्न गुल्मी जिल्लाको थोर्गा च्यूरेकको ठूला पोखरामा भएको वशाह गोरू काण्डजस्तै देशैभरी धेरै संघर्षहरू भएका छन् र ती संघर्षका नायकहरू अहिले पृथ्वीमा नभए पनि उनीहरूको संघर्षको महत्वपूर्ण इतिहास ओझेलमा परेको छ । त्यसको खोजविन हुन जरूरी छ । यस प्रकारका इतिहासविना नेपालको कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको इतिहासले पूर्णता पाउन सक्दैन । ठूलापोखराको वशाह गोरू काण्डमा सफलता पाउनु भन्दा पहिले पनि फटाहाहरूकाविरूद्ध संघर्ष गर्नुपर्छ भन्ने धेरै निर्णय भएका रहेछन् । तर ती सबै निर्णयमामात्रै सिमित भएछन् । वशाह काण्डले व्यवहारमा संघर्ष गर्यो र सफलताको द्वार खोलिदियो ।
नेपाली राष्ट्रिय दैनिक दैनिकपत्रबाट
0 प्रतिकृयाहरु