Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषकका समस्या फोनबाटै समाधान

Published on 2:52:00 AM //


सरस्वती ढकाल/किरण आचार्य
सूचना–प्रविधिको द्रूत्ततर विकास र यसको बहुआयामिक प्रयोगले अरु क्षेत्रजस्तै नेपालको कृषि क्षेत्रले पनि ‘फड्को’ मारेको छ । ग्रामीण कृषकले क्षणभरमै समस्याको निदान पाएका छन् भने उनीहरूका उत्पादनले फराकिलो बजार । पछिल्लो आधा दशकयता ‘कृषि कल सेन्टर’ले कृषकलाई मात्रै सहज बनाएको छैन, उपभोक्ताले समेत त्यसको सकारात्मक परिणाम देखे–भोगेका छन् ।
गाउँमा बाली, पशु र बीउबिजन तथा सिजनअनुसारको खेती रोप्न कृषकले कल सेन्टरको प्रयोग बढाएका छन् । बालीमा लाग्ने रोग तथा निवारणका उपायलगायत कृषिसम्बन्धी सरसल्लाह दिन र जनगुनासो सुन्न कल सेन्टर प्रभावकारी बनेको छ । गाउँगाउँमा पुगेको मोबाइल तथा टेलिफोन सेवाले कृषकलाई झन् सहज बनाएको छ ।
गाउँबाटै निःशुल्क कल गरेर कृषकले आफ्नो बाली तथा पशुमा लागेका रोग, औषधिउपचारजस्ता विषयमा सम्बन्धित विज्ञसँग परामर्श लिँदै आएका छन् । “टेलिफोनबाट भए पनि कृषकले आफ्ना बाली तथा पशुसम्बन्धी जानकारी लिएर समयमै समाधान गरी उत्पादन बढाएका छन्,” केन्द्रका प्रमुख विष्णुप्रसाद अर्यालले भने, “हामीले सबै जिल्लामा कल सेन्टर राख्न कृषि कार्यालयहरूलाई सल्लाह दिएका छौं, कृषकको मागअनुसार कल सेन्टर पनि थपिंदै लगिनेछ । उनका अनुसार यसको सम्पूर्ण जिम्मा कृषि कार्यालयलाई हुनेछ ।
पाँच वर्षअघि राजधानीबाट सुरु गरिएको कल सेन्टर हाल देशका २६ जिल्लामा पुगेको छ । केन्द्रमा मात्र कलसेन्टर रहँदा कृषकको पहुँच कम भएको महसुस गरी जिल्लास्तरबाटै कृषकका गुनासा सुन्न सरकाले यो सेवालाई विकेन्द्रीकरण गर्दै जिल्लास्तरमा पु¥याएको हो । हाल कलसेन्टर पुगेका जिल्लामा गोरखा, तनहुँ, मनाङ, लमजुङ, रुपन्देही, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, मुस्ताङ, बाग्लुङ, गुल्मी, अर्घाखाँचीलगायत छन् ।
“राजधानीमा मात्रै सेवा केन्द्रित हुँदा बाहिरका कृषकले सुविधा लिन नपाएपछि जिल्लास्तरमा पहुँच बढाइएको हो,” अर्यालले भने । कार्यालय समयमा कृषकका गुनासा सुन्न जिल्लामा दुई जना कृषि र एक जना भेटेनरीसम्बन्धी विज्ञको व्यवस्था गरिएको उनले बताए ।
कृषकले बालीनाली, मलखाद, बालीसम्बन्धी रोग तथा कीटपतंगजस्ता विभिन्न विषयमा सीधै कृषि कार्यालयमा फोन गरेर समस्या समाधान गर्न सक्छन् । कल सेन्टरको लागत सम्बन्धित कृषि कार्यालयबाट व्यवस्था गरिँदै आएको छ ।
हालसम्म कल सेन्टरबाट फोनमात्र गर्न सक्ने व्यवस्था छ । यसलाई थप विस्तार गर्दै सरकारले चालू आवदेखि काभ्रेको बनेपाबाट कल सेन्टरलाई टेलिसेन्टरमा रुपान्तरण गर्ने काम सुरुसमेत गरिसकेको छ । यसका लागि काभ्रेमा परीक्षण टेलिसेन्टर स्थापना गरिएको छ ।
टेलिसेन्टरबाट फोनमात्र नभई इमेल, फ्याक्स र अनलाइनबाट सीधै सूचना लिन सकिनेछ । गाउँ–गाउँमा प्रविधिको विकास भइसकेकाले कृषकलाई सबै सञ्चारका साधनमार्फत सूचना दिन टेलिसेन्टरको अवधारणा ल्याइएको केन्द्रले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग