Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गर्मीयामसंगै आगलागीका घटनामा बृद्दी, सोमबार मात्रै देशभरमा ६५ वटा घरगोठ जलेर नष्ट

Published on 8:12:00 PM //


कपिलबस्तु, बैशाख ११ – गर्मीयामसंगै देशभर आगलागीका घटना बढ्न थालेका छन् । सोमबार मात्रै देशका विभिन्न ठाउँ भएको आगलागीमा झण्डै ६५ वटा घरगोठ जलेर नष्ट भएका छन् भने लाखौ रुपैयाँको नोक्सानी भएको छ ।

कपिलबस्तुको कुशहवामा भीषण आगलागी भएको छ । आगलागीमा परी ५० भन्दा बढी घरगोठ जलेर नष्ट भएका प्रहरीले जनाएको छ । आगलागीमा ३० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कुशहवा ९ गंगौडीका अजिमुल्लाह मुसलमानको घरबाट सल्केको आगो हावाहुरीका कारण गाउँमा फैलिएको थियो । कपिलवस्तु नरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको प्रयासले आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीका घटना बढेपछि रौतहटको कटहरिया २ र ३ नम्बरका स्थानीयवासी बहुमुल्य सामाग्री लिएर जाग्राम बस्न थालेका छन् । आगलागी नियन्त्रण हुने आशमा स्थानीयवासीले आइतबार धामीझाक्री लगाएर पुजापाठ समेत गराएको गाविसका पुर्व अध्यक्ष जादुलाल यादवले जानकारी दिनुभयो । कटहरीयामा सोमबार जलिद मियाको घर गोठ आगोमा जलेर नष्ट भएको छ । कटहरियामा यसै महिना भएका आगलागीमा १६ वटा घरगोठ जलेका छन् ।

आगोले घर जलेपछि खोटाङमा ५ परिवार बिस्थापित भएका छन् । गाउँ नजिकैको जुरेथुम्का सामुदायीक बनबाट फैलिएको डढेलोले घर जलेपछि बिजयखर्क–७ का हेमसागर ढकाल, भवकृष्ण ढकाल, बिष्णुप्रसाद खनाल, तेजबिनोद ढकाल र मीना बिश्वकर्माको परिवार बिस्थापित भएका हुन् ।
आगलागीबाट ५० लाखभन्दा बढिको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेल र बुईपाबाट प्रहरी टोली परिचालन गरिएको छ ।

गुल्मीको ठूलोलुम्पेक गाविसमा लागेको आगोले ५ वटा घरगोठ जलेका छन् । ठुलोलुम्पेक गाविस ८ चेमीमा लागेको आगोमा परी क्षेत्रवहादुर कुँवर, वलीराम कुँवर र जमुना कुँवरका घरगोठ जलेर नष्ट भएका हुन् । घरगोठ जलेपछि पीडितले छिमेकीकोमा आश्रय लिएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग