Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाहुन-क्षेत्री दलितको चुलोमा, दलित बस्तीमा छायो खुशीयाली

Published on 8:13:00 PM //


भरत पाण्डेय
सधैँ दलित भनेर हेपिने गरेका तोरीपाटाका लालबहादुर नेपालीको घरमा एक हुल ब्राह्मण-क्षत्रीहरु पसेर चियानास्ता खान थालेपछि नेपाली तिनछक परे। पुस्तौंदेखि दलित भनेर कहिल्यै आफ्नो घरमा नपस्ने र सँगै बसेर नखानेहरु एकाएक आफूहरुले नै पकाएको खाना खाँदा नेपालीको पनि अचम्म भयो।

जनयुद्धकालको जस्तै झल्को सम्झेर केहीबेर त नेपाली परिवार फेरि जनयुद्ध नै शुरु भयो कि भनेर त्रसित भए तर केहीबेरपछि गाउँकै क्षत्री समुदायका माओवादी नेता नरेन्द्र कुँवरले आफूहरु अब व्यवहारबाटै छुवाछूत अन्त्य गर्ने भन्दै यसरी अभियान चलाएको जानकारी दिएपछि मात्र उनीहरुको शंका मेटियो।

यो यथार्थता हो गुल्मीको दर्लामचौर गाविस-१ तोरीपाटाको। माओवादी दर्लामचौर गाउँ कमिटी गुल्मीले यस्तो अभियान थालेको हो। केन्द्रमा नयाँ संविधानमा दलितका कुन-कुन अधिकारहरु कसरी समेट्ने वा नसमेट्ने भन्ने विषयमा जनताले चुनेका प्रतिनिधिहरुले लँडाइँ गरिरहेको बेला गुल्मी दर्लामचौरका एकीकृत नेकपा माओवादी कार्यकर्ताले जातीय छुवाछूत अन्त्यको लागि दलितकै घरमा पसेर दलितले नै पकाएको खाना खाने अभियान शुरु गरेका छन्।

भाषणमा सीमित छुवाछूत अन्त्य भनिए पनि व्यावहारिक रुपमा अन्त्य नभएका कारण दलितहरुले पकाएको खाना गैरदलितले खाने अभियान अगाडि सारिएको माओवादी पार्टीका दर्लामचौर इन्चार्ज नरेन्द्र कुवरले बताउनुभयो। अभियानअनुसार दर्लामचौर-१ तोरीपाटाको दलित बस्तीमा स्थानीय ब्राह्मण-क्षत्रीलगायतका गैरदलितहरुले दलितहरुले बनाएको चियानास्ता गरेका छन्।

तोरीपाटाबाट शुरु भएको अभियान गाविसव्यापी बनाइने उहाँले बताउनुभयो। 'भाषण र कानुनले मात्रै छुवाछूत अन्त्य हुने भए नेपालमा छुवाछूत अन्त्य गर्ने कानुन बनेको यत्रो वर्ष भयो नेताहरुले भाषण गर्दै हिँडेका छन् खै त अन्त्य भएन’ कुँवरले भन्नुभयो- 'त्यसैले व्यवहारमै लागू गर्न गाविसभरि यो अभियान शुरु गरेका हौं।’

तोरीपाटाका अभियानको उद्घाटनस्वरुप भेला नै आयोजना गरी प्रमुख अतिथि इलाका सेक्रेटरी तोयनाथ सापकोटा दर्लामचौरका इन्चार्ज नरेन्द्र कुँवर इलाका सदस्यहरु गोविन्द घिमिरे लोकेन्द्र महतलगायतले छुवाछूत अन्त्यको विषयमा प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभयो थियो। भेलामा सहभागी सबै गैरदलित दलितले पकाएको चियानास्तामा सहभागी भएका थिए।

जातीय छुवाछूतको अन्त्य गर्न भन्दै एकीकृत नेकपा माओवादीका ब्राह्मण-क्षत्री कार्यकर्ता दलितहरुको घर-घरमा दलितहरुले पकाएको खाना खाने अभियान थालेपछि दलित बस्तीका जनता निकै खुशी भएका छन्। 'छुवाछूत अन्त्यको लागि विभिन्न भाषण गर्ने कार्यक्रम भए पनि यसरी हाम्रो घरमै पसेर खाने बाहुन-क्षत्रीहरु भेटिएका थिएनन् तर आज साह्रै खुशी लाग्यो’ लालबहादुरले भन्नुभयो- 'कुरा मात्रै होइन काममै सबै बराबर भएको महसुस भयो।’

यो अभियान गाविसव्यापी पारिने र जिल्ला हुदै देशलाई नै पाठ सिकाउने गरी कार्यक्रम साचालन गरिने माओवादीका इलाका सदस्य गोविन्द घिमिरेले जानकारी दिनुभयो। कतिपय घरहरुमा खर्चको अभाव भएमा पार्टीले नै खाना खर्चको लागि सहयोग गरेर भए पनि दलितहरुको घरमा उनीहरुले नै पकाएको खाना खाने व्यवस्था गरिने माओवादी इलाका सेक्रेटरी तोयानाथ सापकोटाले बताउनुभयो। ''उनीहरुकै घरमा खाने भनेर कतिपयमा त खाना खर्च पनि नहुन सक्छ त्यस्ता परिवारलाई खाना खर्चमा सहयोग गरेर भए पनि दलितको घरमा दलितले पकाएको खाना खाने योजना छ’ सापकोटाले भन्नुभयो।
माओवादीले हरेक १५ दिनमा एउटा वार्डमा यो अभियान सम्पन्न गर्ने योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो। 'अभियानअन्तर्गत हरेक १५ दिनमा एउटा वार्डमा पार्टीको भेला र बैठक राखिन्छ प्रतिमहिना २ वार्डमा अभियान चलाउने हाम्रो योजना छ’ उहाँले भन्नुभयो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग