सेतो गबारो नियन्त्रण गर्न नसक्दा कफीकिसान समस्यामा
Published on
8:09:00 PM //
भरत पाण्डेय
जैविक मलको प्रयोगबाट उत्पादन भैरहेको कफीको विदेशमा लोकप्रियता बढिरहेकै बेला किसानलाई भने नियन्त्रण नै गर्न नसकिने सेतो गबारोको चिन्ताले सताएको छ। विदेशी बजारले उत्साहित भएका किसान गबारो नियन्त्रण गर्न नसक्दा निराश बनेका छन्।
जैविक मल प्रयोग गरेर उत्पादन हुँदै आएको कफी जापान र कोरियामा बढी लोकप्रिय बनेको छ। पछिल्ला वर्षहरुमा अस्ट्रेलियाबाट समेत माग आएको छ। तर झन्डै तीन वर्षदेखि देखिन थालेको सेतो गबारो अहिलेसम्म पनि नियन्त्रणमा नआएपछि किसान चिन्तित बन्दै गएका हुन्। १९९५ मा आँपचौरका एक व्यक्तिको घरबाट शुरु भएको कफी खेती गत आर्थिक वर्षसम्ममा जिल्लाका ४५ गाविसमा विस्तार भएको कृषि कार्यालयले जनाएको छ।
७२ वर्षअघि आँपचौरका हिरा गिरीले बर्माबाट ल्याएर परीक्षणको रुपमा शुरु भएको कफी खेतीलाई अहिले जिल्लाका थुप्रै किसानहरुले व्यावसायिक उत्पादन गरेर राम्रो आम्दानीमा परिणत गर्दै आएका छन्। त्यस्तै कफी खेतीमा लागेर राम्रो आम्दानी गर्नेहरु जिल्लामा थुप्रै छन्। हंसराका लक्ष्मण भण्डारी रिमुवाका भीमबहादुर रेगामी दरबार देविस्थानका अमरबहादुर कुँवर बलिथुमका घनश्याम गौतम घमिरका यमबहादुर कार्कीले कफी खेतीबाट मात्रै वार्षिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन्। तर पछिल्लो २ वर्षमा अधिकांश किसानहरुले लाखौं कफीका बोट सेतो गबारोकै कारण काटेर फाल्न बाध्य भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेले बताउनुभयो।
३ हजार ५ सयभन्दा बढी किसानले उत्पादन गरेको कफीको बजारीकरणका लागि जिल्ला सहकारी संघले सघाउँदै आएको छ। २०५२ सालमा हल्यान्डमा निर्यात शुरु भएको यहाँको अर्गानिक कफी अहिले जापान र कोरियाका अधिकांश बजारमा पुग्ने गरेको सहकारीले जनाएको छ। 'जापानीहरु बारीमै आएर कफी खरिद गर्ने र अर्गानिक परीक्षण गर्ने गरेपछि हामी थप उत्साहित बनेका थियौं’ बलिथुमका घनश्याम गौतमले भने- 'तर पछिल्ला वर्षहरुमा नियन्त्रण गर्नै नसक्ने गरी सेतो गबारोले सताएको छ।’ गौतमले कफी बिक्री गरेर वार्षिक ४० हजार रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। घमिरका यमबहादुर कार्कीले पनि विदेशीले सजिलै खरिद गर्न लागेका बेला कफीका बोटहरुमा लागेको रोगले आफूलाई निकै चिन्ता थपेको बताउनुभयो।
सहकारी संघका व्यवस्थापक युवराज आचार्यका अनुसार गतवर्ष जिल्लामा उत्पादन भएको ७६ मेटि्रक टन कफीमध्ये २८ मेटि्रक टन कोरिया निर्यात भएको थियो। यस वर्ष उत्पादन बढेर झन्डै ९० मेटि्रक टन पुगेको छ। उनका अनुसार गतवर्ष कफी बिक्रीबाट किसानले आन्तरिकसहित १ करोड २० लाखभन्दा बढी रकम बुझेका थिए। संघले किसानलाई ग्रिनबिन चेरी र पार्चमेन्ट गरी ग्रेड विभाजन गरेर रकम भुक्तानी गर्ने गरेको छ।
गुल्मीको कफी जापान र कोरियामा 'गुल्मी अर्गानिक कफी’ कै नामबाट परिचित छ। कृषि कार्यालयका अनुसार जिल्लामा १ सय २५ हेक्टरमा अर्गानिक कफी खेती हुँदै आएको छ। विदेशमा माग बढ्दै जान थालेपछि अर्गानिक कफी खेतीको क्षेत्र हरेक वर्ष ५ हेक्टरका दरले वृद्धि गर्ने गरिएको घिमिरेले बताउनुभयो।
जिल्लामा बोक्रा निकालेको 'क’ ग्रेडको कफीको मूल्यप्रति के.जी. १ सय ८५ रुपियाँ र सुकेको कफीको प्रति के।जी। ८५ रुपियाँ मूल्य छ। अर्गानिक कफिसँगै यहाँ उत्पादित अदुवा बेसार खुसा्रनी लगायतका मसलाजन्य वस्तुहरु समेत जापान निर्यात हुने गरेको सहकारीले जनाएको छ।
0 प्रतिकृयाहरु