Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा वनभोज, नेपाली खानाको स्वादसंगै नेपाली संगीत

Published on 2:55:00 AM //


लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । आफ्नै मौलिकताको नेपाली भाषा, खाना, संगीत र नेपालीपन रहेको थियो दुबईको जाविल पार्कमा । विश्वको तेस्रो बिकसित सहर दुबईको बिचौबिचमा पर्ने जाविल पार्कमा मगर संघ युएईको आयोजनामा गत २० अप्रिल २०१२ शुक्रबारका दिन विभिन्न नेपाली परिकारका स्वाद र नेपाली लोक भाकाका संगीतका साथ वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त वनभोज कार्यक्रमको अध्यक्षता मगर संघ युएईका अध्यक्ष नुनप्रसाद सोमै मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा नेपाली राजदूतावासका महामहिम राजदूत धनन्ञ्य झा रहनु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए ।
चन्द्रबिक्रम सारु मगरको संयोजकत्वमा सम्पन्न भएको वनभोज कार्यक्रमलाई ललितमान रानाले संचालन गरेको थियो । प्रवासमा पनि आफ्नो ड्यूटीको बावजुद शुक्रबारे सार्वजनिक बिदाका दिन पारेर आयोजना गरेको वनभोज कार्यक्रमले नेपाली परिकारका स्वाद र मनोरञ्जन मात्र नदिई एकआपसमा भाईचारा र सत्भावको बिकास पनि गरेको पाईन्छ । आधुनिक जीवन शैलीसंगै पूरानो रितीरिवाज र परम्पराहरु लोप हुंदै गएको अवस्थामा यस्ता खाले कार्यक्रमले नयां इतिहास कायम गरेको भान हुन्छ ।
संयोजक बिक्रम सारु मगरको शुभकामना मन्तव्यसंगै थालनी भएको कार्यक्रममा प्रमुख अतिथि झा, कार्यक्रमको अध्यक्ष सोमै मगर लगायत विभिन्न संघ संस्थाबाट निमन्त्रणालाई स्विकार गर्दै पाल्नु हुने अतिथिहरुले आफ्नो मन्तव्यहरु राखेका थिए । सधै होटलको आलिसान हलमा उपस्थित हुने अतिथिहरु यस पालि भने खुल्ला हरियो मनमोहक पार्कको हरियो घासमा उपस्थित हुन पाउंदा निकै चयनका साथ राहत मैसुश गरेका थिए ।
नेपाली विशुद्ध परिकार सेलरोटी, आलुको अचार, चिउंरा, भूजा, ताजा खसीको मासु र अन्य विभिन्न प्रकारका खानाले सबैको चेहरामा रौनक देख्न सकिन्थ्यो, सायद लामो समयको पश्चात् आफ्नै परिकारका व्यन्जनले होला । त्यसैमा माडलको तालले विदेशमा नभई आफ्नै जन्मभूमिमा रमेको आभास हुन्थ्यो । रातो साडीमा सजिएकी सीता केसीको नृत्य हेर्न भने लोकल अरवी र विदेशीहरुको समेत घुइचो लागेको थियो ।
मगर संघलाई सधै सहयोग गर्ने र विभिन्न क्षेत्रबाट आफ्नो योगदान पु¥याउने पदाधिकारीहरुलाई अध्यक्ष नुनप्रसाद सोमै र सल्लाहकार गिरमान थापाले प्रशंसा–पत्र बितरण गरेका थिए । विगतमा भन्दा यस पालिको मगर संघ युएको वनभोज कार्यक्रमलाई सफल र भव्य गराउनमा संयोजक बिक्रम सारु र उहांको सहयोगीहरुको ठूलो भूमिका रहेको छ । उहांहरुको यस कार्यलाई सह्रानीयको रुपमा लिनु पर्दछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग