Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा

Published on 7:54:00 PM //


प्रकृतिको कुचीकारका रुपमा मानिएको गिद्ध लोप हुन लागेकाले यसलाई संरक्षण गर्नका लागि गुल्मी जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ ।

पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधि नै गिद्धको मृत्युको प्रमुख कारण रहेको भन्दै गुल्मी जिल्लालाई पनि डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरिएको हो ।

लोपोन्मुख गिद्धहरुको संरक्षणमा हातेमालो गरौँ, पशु उपचारमा प्रतिबन्धित डाइक्लोफेनेक औषधिको सट्टामा मलोक्सिक्याम प्रयोग गरौँ भन्ने मूल नाराका साथ यस्तो घोषणा गरिएको हो ।

नेपालमा गिद्ध संरक्षणका लागि औषधि व्यवस्था विभागले सन् २००६ जुनदेखि लागु हुने गरी पशुमा प्रयोग हुने उक्त औषधिको उत्पादन तथा आयातमा रोक लगाइसकेको छ तर पनि हाल मानवमा प्रयोग हुने डाइक्लोफेनेक औषधिको प्रयोग पशु उपचारमा गरिएको र केही भेटेनरी तथा अन्य पसलबाट यस्ता औषधि बिक्री वितरण हुँदै आएको भन्दै यस्तो कार्य रोक्नसमेत जिल्लाका सरोकारवालाले जोड दिएका छन् ।

जिल्ला पशुसेवा कार्यालय गुल्मीको आयोजनामा मङ्गलबार सदरमुकाम तमघासमा भएको अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले गिद्ध संरक्षणको क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्था, स्थानीय वन उपभोक्ता समिति तथासबै उपभोक्ता लाग्नुपर्नेमा जोड दिँदै यसका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

गुल्मीमा सेतो र सुन गिद्ध लगायतका दुर्लभ प्रजातिका गिद्ध रहेको नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा हरिबहादुर कुँवरले कार्यपत्र प्रस्तुत गर्दै गिद्ध लोपसँगै अहिले रेबिज रोगको सङ्क्रमणमा समेत वृद्धि भइरहेको बताउनुभयो । उहाँले डाइक्लोफेनेक औषधि प्रयोग गरिएका पशुको सिनो खाएमा गिद्ध मर्ने गरेकाले यसलाई पूर्ण निषेधका लागि सबै पक्षले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

नेपाल पशु संरक्षण सङ्घका भेटेनरी अधिकृत डा सागर पौडेलले नेपालमा सन् २००२ देखि २०११ सम्म आइपुग्दा ९१ प्रतिशतले गिद्ध घटेको तथ्याङ्क पाइएको बताउनुभयो ।

गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिएर यसको संरक्षणको प्रयासस्वरुप देशका विभिन्न क्षेत्रमा जटायु रेस्टुरेन्ट तथा यसको सङ्ख्यामा विस्तार गर्न एक प्रजनन् केन्द्र पनि स्थापना गरिएको छ । मरेका पशुलाई खाएर गिद्धले वातावरणलाई सन्तुलित बनाइरहेको हुन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग