Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लुम्बिनी धौलागिरि जोड्ने पुल अलपत्र

Published on 2:29:00 AM //


गुल्मी, जेठ २ । लुम्बिनी अञ्चललाई मध्यपहाडी लोकमार्गसँग जोड्ने गुल्मी दरमखोला पुल निर्माण गर्न थालिएको चारवर्षसम्म पनि सम्पन्न नहुँदा यहाँका जनतालाई ठूलो समस्या परेको छ । गुल्मी जिल्लाको वामीटक्सार र बाग्लुङको दगातुम्डाँडाबीचमा पर्ने दरमखोलामा निर्माण हुन लागेको मोटरेवल बेलीब्रिज चारवर्षसम्म पनि सम्पन्न हुन नसकेको हो ।

सडक डिभिजन कार्यालय, पाल्पाद्वारा रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको उक्त पुल गुल्मीको रिडी, रुद्रवेणी, वामी हुँदै बाग्लुङको खर्वाङमा मध्यपहाडी लोकमार्गसँग जोडिन्छ । पक्की पुल निर्माण हुन लागेको भन्दै उक्त स्थानमा रहेको झोलुङ्गे पुल भत्काइएको थियो । तर सो पुल चार वर्षसम्म बन्न नसक्दा दैनिक आवतजावत गर्न र मालसामान ढुवानीका लागि कठिन भएकाले स्थानीय बासिन्दाले सो ठाउँमा अस्थायी पुल निर्माण गरेका छन् । जोखिमपूर्ण अवस्थामा रहेको उक्त पुलबाट ओहोरदोहोर गर्ने क्रममा तीन महिला, एक मोटरसाइकल र एक बालिका खोलामा खसिकेका छन् । बुटवलदेखि पाल्पा–तम्घास हुँदै बाग्लुङ क्षेत्र नं ३ र रुकुम, रोल्पासम्म दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने एकमात्र उक्त मार्गमा वर्षातको समयमा गाडी चल्न सक्दैनन् ।

खच्चडलाई बोकाएर सामान ढुवानी गर्ने क्रममा थुप्रै खच्चरहरुसमेत दरमखोलाले बगाएर बेपत्ता भएका स्थानीय पत्रकार कमल पौडेलले बताए । धेरैपटक बाग्लुङ क्षेत्र नं ३ र गुल्मी क्षेत्र नं १ का जनताले पुलको समस्या उठाए पनि कसैले सुनुवाइ नगरेको उनको भनाइ छ । पुल निर्माण ढिलाइ हुन गएको सम्बन्धमा निर्माण व्यवसायी डिल्लीराज भुसाल गतवर्ष पुल जडानका लागि ल्याइएको निर्माण सामग्री पाल्पामा ट्रक पल्टिएर क्षति भएपछि ढिलाइ भएको बताउँछन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग