Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फलाम कुट्दाकुट्दै छाला मात्र रहृयो

Published on 10:26:00 PM //


१ जेठ, गुल्मी । भालेको डाकोले प्रायः बिहानीको सङ्केत गर्छ, तर जुभुङ-७ ठूलाचौरका बासिन्दालाई भने एकाबिहानै उठाउँछ आरनमा फलाम पिटेको आवाजले । हिउँद होस् या वर्षा, गर्मी होस् या ठन्डी ठूलाचौरका बलबहादुर विश्वकर्माका तीन छोराको दैनिकी भने भालेको डाकोसँगै फलाम पिट्ने कामबाट सुरु हुन्छ ।

उमेर ६३ का गोकर्ण, ५७ का नरबहादुर र ४४ का  सुर्जै विक हरेक दिन घामको झुल्कोले धर्ती छुन नपाउँदै घन हिर्काउन थाल्छन् । आफूलाई खान त छोरानातिले कमाएकै छन्, तर उनीहरूले घन नहिर्काएमा सिँगो जुभुङ गाविसको हलो हसिँया अड्किन्छ । आफ्ना छोरानातिदेखि गाउँका सबै आर्ने -आरन चलाउने) हरूले यो पेसा छाडे पनि गाउँकै लागि बुढेसकालमा पनि उनीहरूले घन पिट्न छाडेका छैनन् ।

न झरी ओत्ने कुनै ओत छ, न चिसो सिरेटो छेक्ने छेको नै । सिङ्गै आकाशलाई आरनको छानो सम्झेका उनीहरू बिहान ५ः३० देखि बेलुका छ बजेसम्म फलामसँग एकोहोरो भिडन्त गरिरहन्छन्  । ठूलोचौरको एक कुनामा पञ्चायतको पालामा बुबालाई कमाइ खान पञ्चले दिएको एक टुक्रा जमिनमा अझसम्म छानो हाल्न सकेका छैनन् सेतै फूलेका गोकर्णले ।

बाबुको बिँडो थाम्न १५ वर्षको उमेरदेखि घन हान्न सुरु गरेका गोकर्णले हजारौँ किसानका औजार र हतियारमा  धार लगाउन भ्याए पनि आफ््नो जीवनको धार भने कहिल्यै लगाउन पाएनन् ।     ‘आ… सधैँ कति फलाम पिटिराख्नु भनेर यो काम छोडेर हिँडेकाहरूले अहिले बसीबसी पेन्सन थाप्छन्, आफूचाँहि आरनको धर्म धान्न बाउबाजेले गरेको पेसा छोड्न हुन्न भनेर यही काम गरेर बसियो, अहिले चाडबाड आयो भने अरूकहाँ हात थाप्नुपर्छ’- निन्याउरो मुख लगाउँदै भन्छन् गोकर्ण ।

अन्य जातिका केटाहरूझै पढेर ठूलो मान्छे बन्न आफूहरू पनि स्कुल गएको तर त्यहाँ भएको अमानवीय व्यवहारका कारण  पढाइ छाडेर फेरि फलाम समाउन बाध्य हुनुपरेको दुःखेसो पोख्छन्- गोकर्णका माइला भाइ नरबहादुर  ।     ‘अरू स्कुल जाँदा हामी पनि गइयो, तर अरूभन्दा चारहात पछाडि बसाल्ने, सरहरू हामीसँग नबोल्ने, पानी खानसमेत नपाइने, अनि कसरी पढ्न सकियोस् ? ऐेलेको जस्तो भा’पो, सबैको हेलै हेलाले पढ्न नसकेपछि फेरि खँलाती चलाउन थालियो’- उनले बाल्यकालमा भोग्नुपरेको तीतो कोट्याए ।

‘अब हामी त दिनभरि काम गरेर साँझ छाक टार्ने जात परियो, तर यो कामले खानबाहेक अरू खर्च गर्न पुग्दैन’- बिरामी परेको अवस्था सम्झँदै उनले भने- ‘बिमार भए पनि कतिले लौन मेरो यति काम त जसरी पनि गरिदे भनेपछि विस्तारामा परेर उठेको ज्यानले घन हिर्काउनुपर्छ । तर ला तँ बिमार भइछस् दबाई गर भनेर कसैले एक पैसा थपेर दिन्नन् ।’उनीहरूले वर्षभरि गरेको कामको ज्याला प्रति परिवार एकवर्षपछि मात्र पाउँछन्- एक डोको मकै ।  ‘सबै परदेश गएर राम्रै कमाएका छन् भने हामी पनि सक्थ्यौँ नि, तर सबैका लागि भनेर बाबुबाजेको धर्म धानियो, तर हामी दुखियाका जहान सधैं भोकै नाङ्गै छन्’- नरबहादुर भन्छन् ।

यो त पुरानै समस्या हो । तर पछिल्लो समयमा उनीहरूलाई नयाँ समस्याले पनि पिरोलेको छ- फलाम तताउन गोल नै नपाइएपछि अब पेसा धान्न नै समस्या भएको बताउँछन् उनीहरू । ‘अहिलेसम्म त जेनतेन गरियो तर अहिले जङ्गलमा गोल काट्नै दिनछाडे ।  गोल नभए काम गर्न नपाई भोकभोकै हुनुपर्छ, त्यसैले  आगो बालेका घर डुल्दै गोल खोजेर काम चलाइन्छ ।’  यही समस्याका कारण पनि युवापुस्ता अहिले आरन पेसा छाडेर परदेश पस्न थालेकाले आफ्ना तीन भाइको शेषपछि यो पेसा गर्ने कोही नहुने उनीहरूको भनाइ छ ।

अरूका लागि फलाम कुट्दाकुट्दै छालामात्रै बाँकी रहे पनि जीवन परिवर्तन गर्न नसकेको र दुःख पीडामा कसैको सहयोग पाउन छाडेपछि भावी सन्ततिलाई यो काममा कहिल्यै नलगाउने प्रण उनीहरूको छ ।    ‘आफैले जग्गा कमाउन नसकेर पञ्चले दिएको सरकारी जमिनमा आरन चलाउनु परेको छ, बालबच्चाले पढ्न पाएनन्, यति गर्दागर्दै पनि अझ जसका भाँडा कमाउनुपर्छ उनैले गोल दिन बन्द गरे, अब हामीले गर्न छाडेपछि त फलामका भाँडा चाहिनेले आफ्नै अँगेनामा फलाम पोलुन्,  के गर्ने त अब ?’- नरबहादुर भन्छन् । रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग