Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दरमखोलामा चार वर्षसम्म पनि पुल बनेन, जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य

Published on 4:54:00 AM //


गंगा खड्का
राजधानीमा बसेर दूरदराजका जनताको समस्याबारे चर्का कुरा गर्ने स्थानीय प्रतिनिधि अनि विकासका काममा कहिल्यै आँखा नपुर् याउने सरकार कसैको पनि आँखा नपर्दा गुल्मी र बाग्लुङका जनताले पाउनसम्म दुःख पाएका छन् ।  

भौतिक पूर्वाधार निर्माणका लागि भन्दै जनताबाट चर्को कर असुलेर पनि त्यसको लाभ प्रभावकारीरुपमा जनतासम्म नपुर् याउने सरकारको चालाले जनताले सरकार छ कि छैन भन्ने दूरदराजका अनुभूति समेत गर्न नसकेका हुन् ।

लुम्बिनी अन्चललाई मध्यपहाडी लोकमागसँग जोड्ने गुल्मी दरमखोला पुल निर्माण सुरु भएको चार बर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा बाग्लुङ र गुल्मीका जनताले सासको समेत आस मेटाएर यात्रा गरिरहनु परेको छ ।  

गुल्मी जिल्लाको वामीटक्सार र बाग्लुङको दगातुम्डाँडाको बीचमा पर्ने दरमखोलामा निर्माणाधीन मोटरएबल बेलिब्रीज सुरु भएको चार वर्षसम्म पनि नसकिएकाले सर्वसाधारणले यस्तो कठिनाई भोग्नु परेको हो ।

पक्की पुल निर्माण हुन लागेको भन्दै झोलुङ्गे पुल समेत भत्काइएको तर समयमा पुल निर्माण नभएपछि त्रासदीपूर्ण यात्रा गर्न जनता बाध्य भएका छन् । पक्की पुल निर्माणमा ढिलाईं भएकाले दैनिक आवतजावत र मालसमान ढुवानीका लागि सर्वसाधारणले निकै कठिनाई भोग्नु परेको छ ।

पुल नभएपछि स्थानीय बासिन्दाले अस्थायी पुल बनाएर आवतजावत गर्ने गरेकाले जोखिम त्यतिकै छ । अस्थायी पुलबाट ओहोरदोहोर गर्ने क्रममा तीन जना महिला एक बालिका र एउटा मोटरसाइकल खोलामा खसिकेका छन् ।

बुटवलदेखि पाल्पा तम्घास हुँदै बाग्लुङ्ग क्षेत्र नं ३ र रुकुम रोल्पासम्म दैनिक उपभोग्य बस्तुहरु ढुवानी गर्ने एकमात्र बाटोमा वर्षात्को समयमा गाडी चल्दैन । खच्चडलाई बोकाएर सामान ढुवानी गर्ने क्रममा धेरै खच्चडहरु समेत दरमखोलाले बगाएर बेपत्ता भएको स्थानीयवासी बताउँछन् ।

पुल नहुँदा समस्यामा परेका बाग्लुङ क्षेत्र नम्बर तीन र गुल्मी क्षेत्र नम्बर एकका जनताले धेरै पटक कुरा उठाए पनि कसैले नसुनेकाले वर्षा सुरु हुन लागेपछि उनीहरु झन चिन्तित भएका छन् ।

सडक डिभिजन कार्यालय पाल्पाले साढे २ करोड रुपैयाँ लागतमा निर्माण गरिरहेको यो पुल गुल्मीको रिडी रुद्रवेणी वामी हुँदै बाग्लुङ्गको खर्वाङ्गमा मध्यपहाडी लोकमार्गसंग जोड्ने पुल हो ।

पुल निर्माण ढिलाई हुन गएको सम्बन्धमा निर्माण व्यावसायी डिल्लीराज भुसाल आफै पनि चिन्तित रहेको बताउँछन् । गतवर्ष पुल जडानका लागि ल्याइएको निर्माण सामाग्री पाल्पामा ट्रक पल्टिएर क्षति भएपछि निर्माण ढिलो भएको भुसालले बताए ।

पूर्वानुमान अनुसारभन्दा पुलको आकार समेत बदल्नु परेकाले पुल निर्माण ढिलाई भए पनि यसलाई छिटोभन्दा छिटो सक्ने उनको भनाइ छ ।

यद्यपि, लामो समयसम्म पनि पुल निर्माण हुन नसकेपछि निराश र आक्रोशित बनेका स्थानीय बासिन्दा भने यस कुरामा विश्वस्त छैनन् । उनीहरुले आफूहरुको दुःखेसो सुन्दिएर छिटोभन्दा छिटो पुल निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग