Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कच्ची घर पक्की शौचालय

Published on 12:03:00 AM //


गगनशिला खड्का
'कुन्नि के जातीभन्दा देख्नेलाई लाज भनेझैँ हुन्थ्यो, ऐले त आफ्नै सिप्कातिर चर्पी छ, आनन्दै, न फोरो -फोहोर) न सरम -लाज),' अर्जे-३ की पुतली विकले भनिन् । उनलाई दिसापिसाब गर्न खुला ठाउँमा गएर लाज मान्नुपर्ने समस्याले अब पिरोल्न छाडेको छ । कच्ची घरमा खरको छानो तर कर्कटपाता र सिमेन्ट लगाएको शौचालय अर्जे-३ पोखराबारीस्थित दलित बस्तीको पहिचान बनेको छ ।
पोहोरसम्म खोल्सा र बारीको कुनामा दिसापिसाब गर्ने अर्जे-३ पोखराबारीको कुनैपनि घरमा शौचालय थिएन ।
दिसापिसाब गर्नुपर्‍यो भने सधँै बाटोको डिल र बारीका कुनाकानीमा जाने प्रवृत्तिले फोहोर र रोगको हैरानी खेप्नुपरेकाले शौचालय बनाउन पहल गरेको गाविसले जनाएको छ । अहिले गाउँ सफा भएको भन्दै स्थानीय हषिर्त बनेका छन् ।
अर्जे गाविसले शौचालय बनाउन दुई लाख ७५ हजार अनुदान दिएको थियो । जसमा प्रतिघर एक हजार पाँच सय रुपैयाँ वितरण गरी शौचालय बनाउन प्रेरित गरिएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम परिचालक शोभाखर गिरीले बताए । अर्जे गाविसमा एकीकृत ग्रामीण विकास समाज गुल्मीले जिविसको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गाविसमा रहेका ६ सय १४ घरमध्ये चार सय ९३ परिवारले पहिलो चरणमा शौचालय बनाएका थिए । दोस्रो चरणमा एक सय ८१ घरले शौचालय बनाएपछि गाविसका सबै घरमा पक्की शौचालय भएको छ ।
शौचालय बनाउनैपर्ने चेतना फैलिएपछि १०/१५ हजार रुपैयाँ खर्चेर पक्की शौचालय बनाएको स्थानीय ढुण्डीराज उपाध्यायले बताए । 'एक हजार पाँच सय त बहानामात्रै भयो, एक घरमा १५ देखि २० हजारसम्मको लागतमा चर्पी बनेका छन्, गाउँमा पहिला चेतनाको कमी थियो, चेतना भएपछि चर्पी बन्यो,' उनले भने ।
सन् २०१५ सम्म जिल्लालाई नै खुला दिसामुक्त जिल्लाको रूपमा घोषणा गर्ने सरकारको लक्ष्यअनुरूप पक्की शौचालय निर्माण गर्ने काम धमाधम भइरहेको जिविसले जनाएको छ ।
पहिलो र दोस्रो खुला दिसामुक्त क्षेत्र घोषणा हुने गाविसलाई जिविस र जिल्ला खानेपानी कार्यालयले प्रोत्साहनस्वरूप एक/एक लाख रुपैयाँ पुरस्कार दिने जनाएका छन् ।
त्यही कारणले पनि जिल्लामा अहिले खुला दिसामुक्त क्षेत्र घोषणा हुने होडबाजी नै चलेको छ । पहिलोपटक खुला दिसामुक्त क्षेत्र घोषणा भएको अर्जे गाविसलाई जिविस र खानेपानी कार्यालयले एक/एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग