Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको सेयर बिक्री खुल्ला

Published on 2:41:00 PM //


गुल्मी विकास बैंकको ७५ लाख रुपैयाँबराबरको ७५ हजार कित्ता साधारण सेयर बिहीबारदेखि सर्वसाधारणमा बिक्री खुल्ला गरिएको छ । १ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको साधारण सेयर बिक्रीपछि चुक्ता पुँजी २ करोड ५० लाख रुपैयाँ पुग्नेछ । सेयर खरिदकर्ताले जेठ ८ गते सोमबारसम्म सेयर खरिदका लागि आवेदन दिन सक्छन् । त्यसअवधिमा सेयर बिक्री नभए बैंकले जेठ १८ सम्म सेयर आवेदन लिन सक्ने बताएको छ । न्यूनतम ५० देखि अधिकतम १० हजार कित्ता सेयर खरिद गर्न सकिने व्यवस्थाका लागि बैंकले १० वटा संकलन केन्द्र तोकेको छ । आव २०६८÷०६९ देखि २०७०÷०७१ सम्म १० प्रतिशतका दरले लाभांश बाँड्ने प्रस्ताव गरेको बैंकले २०६९÷७० मा चुक्तापुँजी बढाएर ४ करोड पु¥याउने आह्वानपत्रमा उल्लेख छ । हाल गुल्मी जिल्लामात्र कार्यक्षेत्र रहेको बैंकले २०६६ असोज ८ देखि तम्घास, पुतलीबजारबाट वित्तीय कारोबार सुरु गरेको हो । बैंकको ७० प्रतिशत सेयरको स्वामित्व १८ जना संस्थापकसँग छ ।
चालू आवको चैतसम्म ४४ लाख ३८ हजार सञ्चितकोष रहेको बैंकले यसअवधिमा ३० करोड २५ लाख ४७ हजार निक्षेप संकलन गरी १७ करोड १५ लाख ५९ हजार ऋण लगानी गरेको छ । यसअवधिमा बैंकको पुँजीकोष ११.५६ प्रतिशत र राष्ट्र बैंकको निर्देशनबमोजिम कर्जा निक्षेप अनुपात ५३.६ प्रतिशत कायम छ ।  बैंकले चैत मसान्तसम्म ३५ लाख ८४ हजार खुद नाफा गरेको छ । बैंकले जिल्लामा परम्परागत बैंकिङका साथै लघुवित्त कारोबारलाई प्राथमकितामा राखेको प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शर्माले बताए ।
 बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्रोमर मर्चेन्ट बैंकर रहेको छ ।
कारोबार दैनिकबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग