Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी विद्यालय सम्पर्क कार्यक्रम शुरु

Published on 2:43:00 AM //


गगनशिला खड्का

फोटो: जनार्दन घिमिरे 
गुल्मी २९ बैशाख । गुल्मी जिल्ला प्रहरीले आजदेखि प्रहरी विद्यालय सम्पर्क कार्यक्रम (पि.सी.एल.पी.) शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मी र रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाजको संयुक्त आयोजनामा सञ्चालित माध्यमिक तहसम्मका विद्यार्थीहरुलाई सुरक्षा, चेतना, दृर्व्यासयन मुक्त ट्राफिक नियम र अन्य विविध विषयमा प्रशिक्षण दिने कार्यक्रमको आजदेखि ससदरमुकाम तमघासमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयवाट शुरुवात गरिएको हो।
मादक पदार्थ सेवन प्रवृतिको अन्त्य गर्ने, त्यसको विक्री वितरणमा रोक लगाउने, जुवा तास, गुण्डागर्दी, समाजमा हुने आत्महत्या, घरेलु हिँसा लगायतका विषयमा विद्यार्थीहरुलाई सुसुचित गराई त्यसको न्यूनिकरणमा प्रहरीसँग साझेदारी गर्ने उद्धेष्यका साथ यस्तो कार्यक्रमको शुरुवात गरिएको प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले वताउनुभयो। व्याक्तिगत सुरक्षाका लागि विद्यार्थीले ध्यान दिनुपर्ने कुरा, वैदेशिक रोजगारी, धम्की र अपहरण, ट्राफिक नियमको जानकारी, सडकमा पैदल यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा प्रहरीले विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई प्रशिक्षण दिन शुरु गरेको हो। जिल्ला विकास समितिको ८० हजार रुपैयाँ आर्थिक सहयोगमा जिल्लाका ३० हजार भन्दा वढी विद्यार्थीहरुलाई यस्तो प्रशिक्षण दिईने र त्यसका लागि १६ इलाका प्रहरी कार्यालय जिल्लाका ३० वटा विद्यालयमा परिचालित हुने प्रहरी नायव उपरीक्षक वैदवारले जानकारी गराउनुभयो। विशेष गरी वालवालिकाहरुलाई अपहरण गर्ने प्रवृति वढ्दै गएको, विद्यालय जाँदा सवारी दुर्घटना हुने र विद्यालय प्राङ्गणमै विद्यार्थीहरु असुरक्षित हुने र प्रहरी समक्ष विद्यार्थी उजुरी गर्न डराउने प्रवृतिको अन्त्य गर्न यसको मुख्य उद्धेष्य रहेको वैदवारको भनाई थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले प्रहरीले विद्यार्थीहरु लाई यस्तो सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु सह्रानीय पक्षीय भएको वताउनुभएको थियो। कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सहइन्चार्ज निमवहादुर पाण्डे, नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका प्रचार विभाग प्रमुख शेषकान्त गौतम, कालीदत्त गुल्मका गुल्मपति सेनानी सन्तोषकुमार थापा, जिल्ला अनुसन्धान अधिकृत विमल डंगोल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, तमघास गाविस सचिव दोर्णराज पन्थी लगायतको सहभागीता रहेको थियो। कार्यक्रममा सहयोगी संस्था जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले प्रहरीप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। महेन्द्र उच्च माध्यमिक विद्यालयका प्राचार्य केशरवहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरीको साझेदारी संस्था रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाजका सदस्य ताराप्रसाद भुसालको स्वागत मन्तव्य र सञ्चालन प्रहरी नायव निरीक्षक रामप्रसाद पाण्डेको सञ्चालन रहेको थियो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग