Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सदरमुकामका भाते गोष्ठी छाडेर गाउँ गाउँमा सार्वजनिक सुनुवाई

Published on 12:54:00 PM //


भरत पाण्डेय
गुल्मी २६ जेष्ठ । सदरमुकामका बन्द कोठामा हुने गरेका एकोहोरो गोष्ठीले जनताका समस्या सम्बोधन हुन नसक्ने भन्दै गुल्मीका प्रसासन, सुरक्षा र विकाशे कार्यालयका प्रमुखहरु जनताकै घर दैलोमा पुगेर सार्वजनिक सुनुवाई अभियान सञ्चालन गरेका छन् । पशुपालन क्षेत्रको अनुगमनको क्रममा गाउँ गएको समयको सदुपयोग गरी उहाँहरुले एक रुपैयाँ खर्च नगरी गरी विभीन्न गाविसहरुमा विहान, साँझ र रातको समय समेतमा सार्वजनिक सुनुवाई गर्नुभएको हो । गुल्मी क्षेत्र नम्बर तीनका अर्खावाङ्ग, दर्लिङ्ग, नेटा लगायतका गाविसमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा अर्खावाङ्ग, घमिर, छापहिले, मर्भुङ्ग, सिर्सेनी, ह्वाङ्गदी,दर्लिङ्ग, नेटा लगायतका गाविसका जनताले विभीन्न गुनासोहरु राखेका थिए । उनीहरुले गाउँ गाउँमा हुने विकाशका काममा अपारदर्शीता र भ्रष्टाचार बढेकोले जनताले दुःख पाएको गुनासो राखेका थिए । प्रशासनिक र विकाशे अड्डाका प्रमुखहरु आफ्नै घरदैलोमा पुगेर दुःख सुख बुझ्ने प्रयास गरेकोमा ति गाविसका जनताहरु निकै खुसी भएका थिए ।
कार्यक्रमममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले सरकारी सेवा सुविधामा ढिलासुस्ती भएमा तत्काल कार्वाही गरीने बताउँदै जनतालाई केही समस्या भएमा आफ्नो कार्यालयमा सिधै सम्पर्क गरेमा तत्काल कार्वाही प्रकृया अगाडी बढाई सुधार गरीने बताउनुभएको थियो । स्थानिय विकाश अधिकारी हरी प्रसाद ज्ञवालीले विकाशका काममा हुने गरेको भ्रष्टाचार रोक्न हरेक कामको सार्वजनिक लेखा परीक्षण नगरेसम्म बजेट निकाशा नहुने बताउनुभएको थियो । प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले गाउँमा सुरक्षका लागी आफू प्रतिवद्ध रहेको बताउनुभएको थियो । उहाँले टोल टोलमा गठन गरीएका टोल सुधार समितीका काम सकारात्मक भएकोले समान्य समस्या समुदायमा आफै मिलाउने र ठूला र जटिल अपराधिक घटना नियनत्रणको लागी प्रहरी तत्पर रहेको बताउनुभएको थियो ।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा हरी बहादुर कुँवर, कृषि विकाश बैँक प्रमुख गोपाल गैरे, कृषि विकाश कार्यालयका वागवानी विकाश अधिकृत फटक बहादुर थापा लगायतले किसानलाई कृषि र पशुपालनका लागी गाउँ गाउँमा योजनाहरु सञ्चालन गरीएकोले सहि सदुपयोग गरेर नमुनायोग्य काम गर्न सुझाव दिनुभएको थियो । उहाँहरुले किसानलाई पशु, कृषिका कार्यक्रम, विउ, मल, औषधीउपचार, प्राविधीक सल्लाह र कृषि एवं पशुपालन व्यावसायका लागी ऋण उपलब्ध गराई किसानको हरेक समस्यामा साथ दिन आफूहरु तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको कार्यक्रममा सहभागी पत्रकार महासंघका सचिव भरत पाण्डेयले जानकारी दिनुभयो । तम्घास अस््पत्ताल विकाश समितीका अध्यक्ष विर बहादुर कार्कीले सरकारले सर्वसाधारणका लागी निःशुल्क सेवा र औषधी दिएकोले कसैले नदिएमा र समस्या परेमा तुरुन्त कार्वाही हुने बताउनुभएको थियो । कार्यक्रममा पशु विकाश अधिृति डा. महेन्द्र मल्ल, सञ्चारीका समूहका अँचल सदस्य गगनशिला खड्का, प्रहरी हवल्दार मनि कुमार बोहोरा, नारायण भट्ट लगायतले जनताका सुझावहरु संकलन गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग