Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सगरमाथा भारतमा : भारतीय राजदूत

Published on 4:16:00 PM //


दक्षिण कोरियास्थित भारतीय राजदूत विष्णु प्रकाशले सगरमाथा भारतमा रहेको अभिव्यक्ति दिएपछि कूटनीतिक क्षेत्रमा हलचल भएको छ । उनले भारत र चीनको सिमानामा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको भन्दै अन्तर्वार्ता दिएपछि नेपाल सरकारले कडा प्रतिवाद गरेको छ ।
कोरिया टाइम्सलाई अन्तर्वार्ता दिँदै राजदूत विष्णु प्रकाशले सगरमाथाको चर्चा गरेका छन् । तर, नेपालको नामसमेत लिएका छैनन् । 'भारतको उत्तरपूर्वी भाग चीनसँग जोडिएको सगरमाथा सुन्दर र आकर्षक छ,' उनले भनेका छन् । त्यसैले कोरियाका पयर्टक भारत भ्रमण गर्नुपर्ने उनको तर्क छ । पत्रिकाले उनलाई भारत किन भ्रमणयोग्य छ भन्ने प्रश्न गरेको थियो ।
भारतीय राजदूतको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल सरकारले प्रतिवाद गरेको छ । 'भारतीय राजदूत विष्णु प्रकाशको अभिव्यक्ति कुनै हालतमा हामीलाई मान्य हुँदैन । यो अभिव्यक्ति फिर्ता लिन कूटनीतिक च्यानलबाट हामीले आग्रह गरिसकेका छौैँ,' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नयाँ पत्रिकासित भने, 'सगरमाथा भारतमा पर्ने खालका आसय दिने भारतीय कूटनीतिज्ञको अभिव्यक्तिको हामीले खण्डन गरिसकेका छौँ । यसबाट दक्षिण कोरियाबाट सगरमाथा चढ्न नेपाल आउने पर्यटकलाई बिच्काउने प्रयास सहज रूपमा बुझ्न सकिन्छ ।'
सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले भारतीय राजदूत विष्णु प्रकाशलाई 'भर्बल नोट' -तर लिखित रूपमै) दिएका थिए, तर भारतीय राजदूतले आफ्नो गल्ती स्वीकार गर्नुको सट्टा उल्टै नेपाली राजदूतलाई यस विषयमा धेरै नबोल्न सल्लाह दिएका छन् । 'भारतीय राजदूतको अभिव्यक्तिको विरोध गर्दै नेपाली दूतावासमार्फत पत्र पठाइयो । तर, भारतीय राजदूतले यसबारे थप टिप्पणी नगर्न दबाब दिएर हाम्रा राजदूतलाई पठाएछन््,' परराष्ट्र स्रोतले भन्यो, 'तर, हामीले सगरमाथा नेपालमा पर्ने र यसबारे अन्यथा टिप्पणी नगर्न औपचारिक रूपमै भनेका छौँ ।'
कोरियास्थित नेपाली दूतावासले भारतीय राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो । लगत्तै परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली दूतावासलाई भारतीय राजदूतसँग सोध्न निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालय र कोरियास्थित नेपाली दूतावासका अधिकारीहरूले यसबारे औपचारिक टिप्पणी गर्न चाहेनन् ।

को हुन् विष्णु प्रकाश ?
सगरमाथा भारत र चीनको सिमानमा पर्छ भन्ने विष्णु प्रकाश कुनै आलाकाँचा कर्मचारी होइनन्, उनी भारतको विदेश मन्त्रालयका प्रवक्ता रहिसकेका व्यक्ति हुन् । प्रवक्ता भएकै वेला कोरियाका लागि राजदूत नियुक्त भएर उनी सोल पुगेका हुन् । तर, त्यहाँ पुगेर उनले  भनिदिए, 'भारत र चीनको पूर्वोत्तर सिमानामा सगरमाथा छ, -पयर्टकले) हेर्दा आनन्ददायक छ ।'
सन् २००२ मा उनी सहसचिवमा बढुवा भए । सन् १९८१ मा भारतीय विदेश सेवामा प्रवेश गरेका विष्णु प्रकाश यसअघि जापानको टोकियो, इजिप्टको कायरो, पाकिस्तानको इस्लामावाद, अमेरिकाको न्युयोर्क, रुसको मस्कोलगायतका स्थानमा रहेका भारतीय कूटनीतिक नियोगमा काम गरिसकेका छन् ।
विदेश मन्त्रालयको प्रवक्ता हुनुअघि उनी चीनको सांघाईस्थित भारतीय महावाणिज्यदूत थिए । गत २०१२ जनवरी १२ मा उनी दक्षिण कोरियाका लागि राजदूत नियुक्त भएका हुन् ।

नयाँ पत्रीका दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग