Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैद्यलाई अध्यक्ष र बादललाई प्रधानमन्त्री बनाए पार्टी फुट्दैन : चन्द

Published on 11:41:00 PM //


२० जेठ, काठमाण्डौ । एकीकृत माओवादीका बैद्य पक्षीय स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले पार्टी एकताका लागि विचारको नेतृत्व र पार्टीको रुपान्तरण आवश्यक रहेको बताउनु भएको छ । चन्दले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्व र विचार असफल भईसकेकाले अब नेतृत्व हस्तान्तरण गरे मात्रै पार्टी एकता सम्भव हुने स्पष्ट पार्नु भएको हो । उहाँले भन्नुभयो,’पार्टी भित्र विचारको नेतृत्व बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले गर्दै आएकोले अध्यक्षले पद त्याग गरेर बैद्यलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । प्रधानमन्त्री महासचिव रामबहादुर थापा बादललाई बनाउनु पर्छ । यदि त्यसो भएको खण्डमा पार्टी एक हुन सक्छ । ‘

उहाँले दुई नेताहरुले नेतृत्व हस्तान्तरण नगरे आफै पार्टीबाट विस्थापित भएर जाने चेतावनी समेत दिनुभयो । जेठ ३० गतेभित्र विचार र सरकारको नेतृत्व हस्तान्तरण गरे मात्रै पार्टी एकता सम्भव रहने उहाँको भनाई छ । रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलासंग शनिवार कुराकानी गर्दै चन्दले भन्नुभयो,’असार १ गतेपछि पार्टी नयाँ ढंगले अगाडि बढ्छ । विचार र नेतृत्वमा असफल भएकाहरु आफै पाखाँ लाग्छन ।’ विचार नेतृत्वको असफलताले संविधानसभाको विघटन, लडाकुलाई आत्मसमर्पण गराएको र सरकार असफल भएको आरोप लगाउनु भयो ।

पछिल्लो समयमा राष्ट्रपतिले चालेको कदमको स्वागत गर्दै उहाँले डा बाबुराम भट्टराई असफल भएको शान्ति, संविधान र सहमति कायम गर्न नसकेका प्रधानमन्त्रीलाई नहटाए मुलुक द्धन्द्धमा फस्ने चेतावनी दिनुभयो । उहाँले पार्टीले माग गरेको सर्वपक्षीय गोलमेच सम्मेलनमा काँग्रेस र एमाले सहभागी भएर त्यसैमार्फत सहमतिको सरकार निर्माण गर्नु पर्ने भन्दै त्यसकालागी आहृवान समेत गर्नुभयो ।

 यसैगरी अध्यक्ष प्रचण्ड निकट प्रभावशाली नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्ड पद त्याग गर्न तयार भएको जानकारी दिदै बरिष्ठ उपाध्यक्ष मोहन बैद्यलाई अध्यक्ष पद हस्तान्तरण गर्न कुनै आपत्ति नभएको बताउनुभयो । उहाँले भन्नुभयो,’किरणजीले पहिला पनि महामन्त्री पद त्यागेर प्रचण्डलाई बनाउनु भएको थियो । अब प्रचण्डले त्यागेर किरणजीलाई अध्यक्ष बनाउन कुनै गाह्रो छैन । अध्यक्षले पार्टी फुट्न दिनु हुन्न बरु त्याग गर्नु हुन्छ । फेरि महाधिवेशनबाट अध्यक्ष हुने त प्रचण्ड नै हो ।’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग