Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

५ लाखको काम समितिले ३ लाखमा ठेक्का दिएपछि काम रोक्का

Published on 1:51:00 AM //


घनश्याम गौतम
गुल्मी– धुर्कोट रजस्थलको ऐतिहासिक कोट संरक्षणका लागि निर्माण गर्न लागिएको रिटेनिङ्ग वाल निर्माण कार्य उपभोक्ता समितिले पनि कम रकममा ठेक्कामा दिएको फेलापरेपछि अनुगमन टोलीले काम रोक्का गरेको छ । समितिले ५ लाखको काम ३ लाख रुपैंयामा स्थानीय निर्माण व्यवसायीलाई ठेक्कामा दिएको थियो ।

पर्यटन कार्यालय भैरहवाले धुर्कोटकोट व्यवस्थापन समितिसंग सम्झौता गरेर रिटेनिङ्ग वाल निर्माण शुरु गरेको थियो । आर्थिक वर्षको अन्त्यमा हुन लागेको काममा उपभोक्ता समितिले कार्यालयसंग सम्झौता गरेपनि कामको जिम्मा स्थानीय ठेकेदारलाई दिएपछि गुणस्तरीय नभएको भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, प्राविधिक कार्यालयका इन्जिनियर नेत्र विश्वकर्मा, रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष निमबहादुर पाण्डे, संचारकर्मी सहितको अनुगमन टोलीले काम रोक्का गरिदिएको हो ।

पर्यटन कार्यालयले २५ मिटर रिटेनिङ्ग वाल निर्माणका लागि यस वर्ष ५ लाख रुपैंया उपलब्ध गराएको छ । मन्दिर व्यवस्थापन समितिले ५ लाख रुपैंयाको काम आफुलाई ३ लाख रुपैंयामा जिम्मा दिएकाले लागत इष्टिमेट अनुसारको काम गर्न नसकेको व्यवसायी पशुपती पोखरेलले बताए । इष्टिमेटमा खोलाको मोटो बालुवा प्रयोगगर्नुपर्ने र १ बोरा सिमेन्ट बराबर ६ बोरा बालुवा राख्नुपर्ने भएपनि व्यवसायीले माटो मिसिएको मसिनो बालुवा प्रयोग गरी सिमेन्ट र बालुवाको मात्रा १÷८ प्रयोग गरेका थिए ।

‘कामको गुणस्तरीयता राम्रो नभएकोले रोक्का गरिएको हो’, निमित्त प्रजिअ अर्यालले भने, ‘पर्यटन कार्यालय भैरहवा र कोट व्यवस्थापन समितिसंग छलफल गरेपछि भएको काम भत्काएर पुनः समितिल आँफैले गर्नेगरी काम शुरु गर्न निर्देशन दिएका छौं ।’ पर्यटन कार्यालयले यस वर्ष जिल्लाका दिब्रुङको शिवालय मन्दिरको ३ सय मिटर कम्पाण्ड वाल निर्माण र दिब्रङ्गदह संरक्षणका लागि १४ लाख रुपैंया, दुविचौरमा ३ कोठे सूचना केन्द्र निर्माणका लागि १० लाख रुपैंया, धुर्कोट रजस्थलको कोट संरक्षणका लागि ५ लाख रुपैंया र ठुलोलुम्पेक गाविसमा पिकनिक स्पट निर्माणका लागि ५ लाख रुपैंया उपलब्ध गराएको छ ।

पर्यटन कार्यालय भैरहवाका प्राविधिक सरोज केशरीले कामको गुणस्तरीयता कम भएको पाईएपछि निर्माण व्यवसायीले अहिलेसम्म निर्माण गरेको वाल भत्काई समितिले नै पुनः गर्ने गरी निर्देशन दिईएको बताए । ‘अब प्राविधिक कार्यालय गुल्मीले नै गुणस्तरको अनुगमन गर्ने गरी जिम्मेवारी दिएका छौं’, केशरीले भने, ‘साथै पर्यटन कार्यालय भैरहवाबाट पनि एकजना छुट्टै प्राविाधिक खटाएका छौं ।’ कोट व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले व्यवसायीलाई कम रकममा ठेक्कामा दिएर कोटका लागि मुर्ति किन्न २ लाख रुपैंया बचाउने गरी समितिमा छलफल भएकोले सोही अनुसार काम ठेक्कामा दिएको बताए ।

जिल्लाका ऐतिहासिक कोटहरु मध्येको धुर्कोट कोट संरक्षणका लागि जिल्लाको रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले पनि यस वर्ष ४ लाख रुपैंया रकम उपलब्ध गराएको थियो । यस वर्षको रकमबाट धुर्कोट कोट संरक्षणका लागि बा“की रिटेनिङ्गवाल र सिंढी निर्माण गरिएको कार्यालयका कार्यकारी निर्देशक श्रीराम गौतमले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग