Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दाजुबाट बलात्कृत बालिका अलपत्र

Published on 1:31:00 PM //


अमृता अनमोल
बुटवल, जेष्ठ २१ - दाजुबाट बलात्कृत रूपन्देहीकी एक बालिका अलपत्र परेकी छन् । मेडिकल जाँचबाट बलात्कार पुष्टि भइसके पनि आफन्तले न्याय र उद्धारका लागि सहयोग नगर्दा नातामा आफ्नै ठूलो बाबुका छोराबाट बलात्कृत पोखरभिन्डीकी ४ वषर्ीया मुस्लिम बालिका अलपत्र परेकी हुन् ।

प्रहरीका अनुसार बलात्कार पुष्टि भएपछि कतारमा रोजगारी गरिरहेका आफ्नै बाबु, आफन्त तथा घरपरिवारले घटना लुकाउन र अभियुक्तलाई छुटाउन बालिकाकी आमा अख्तर जहा मुसलमानलाई दबाब दिएका थिए । प्रहरीमा दिएको ठाडो उजुरी फिर्ता लिन र घटना नभएको भनी बयान दिन निरन्तर धम्काउन थालेपछि सातायता पीडित बालिकासहित उनकी आमा र दुई दाजुले गाउँ छाडेका छन् । घरमा ताल्चा लगाएर गाउँ छोडेका उनीहरूलाई आफन्तले माइतीघर भारत गएको बताएका छन् । पीडित माइत गएपछि बलियो प्रमाण नभएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रवीन्द्रनाथ रेग्मीले बताए ।

रेग्मीअनुसार मेडिकल जाँचपछिका दुई दिनमा बालिकाकी आमा २ पटक जिल्ला प्रहरी र पटकपटक मैनहिया प्रहरी चौकी आएकी थिइन् । उनले 'छोरीमाथि बलात्कार भएको होइन, आवेशमा आएर भनेकी हुँ' भनेर प्रहरीबाट भतिजलाई छुटा नत्र तलाईं 'तलाक' दिन्छु, गाउँले लगाएर कुटाउँछु भनेर कतारबाट श्रीमान्ले फोन गरेको सुनाएकी थिइन् ।

प्रहरी प्रमुख रेग्मीले भने, 'त्यसपछि पीडित बालिकासहित उनी सम्पर्क बाहिर छन् ।' मुद्दा फिर्ता गराउन र अभियुक्त छुटाउन सहयोग गर्न भन्दै बालिकाका आफन्त निरन्तर प्रहरीमा धाउँदै आएको उनले बताए । घटना अनुसार वैशाख २९ गते बिहान ठूलो बाबुको घरमा टेलिभिजन हेर्न गएकी बालिकालाई टेलिभिजन कोठामै दाजु इमरान भन्ने मोहमद साफिर खानले बलात्कार गरेका हुन् ।

बलात्कारले रगताम्य भएकी छोरी देखेपछि आमाले उसै दिन प्रहरी चौकी मैनहियामा ठाडो उजुरी दिएकी थिइन् । प्रहरीले तत्काल अभियुक्तलाई पक्राउ र बालिकाकोे उद्धार गरी जिल्ला प्रहरी तथा बाल कल्याण समितिमार्फत भीम अस्पताल भैरहवामा बालिका र बलात्कारमा संलग्न अभियुक्तको मेडिकल जाँच गराइएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग