Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डिएसपीले घूस लिएको पुष्टि

Published on 8:03:00 PM //


शेरबहादुर केसी, बुटवल, जेठ २३- रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर यादवले अनुसन्धान भइरहेको लागू औषधको एक मुद्दाका अभियुक्तसँग घूस लिएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ। यादवले घूस लिएको आरोप लागेपछि पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले दङ्गा प्रहरी गण बुटवलका प्रमुख एसपी राजेन्द्र ढकालको संयोजकत्वमा  टोली गठन गरी छानविन थालेको थियो।
सोही छानविन टोलीले दिएको प्रतिवेदनका आधारमा डिएसपी यादवमाथि कारबाही हुन थालेको हो। ‘छानविनमा डिएसपी यादव दोषी देखिए'- पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी राजेन्द्रसिंह भण्डारीले नागरिकलाई भने। डिएसपी यादवलाई हुनुपर्ने कारबाही क्षेत्रीय कार्यालय तहबाट हुनेभन्दा बढी भएकाले छानविनको प्रतिवेदन प्रहरी प्रधान कार्यालय पठाएको र त्यहाबाट नै कारबाही अघि बढ्ने डिआइजी भण्डारीले बताए।

लागू औषधको अनुसन्धानको सिलसिलामा समातिएका काठमाडौंका अटोमोबाइल इञ्जिनियर सतिश प्रधानलाई छुटाउन यादवले एक लाख रुपियाँ लिएको छानविन टोलीले प्रतिवेदन बुझाएको छ। चैत दोस्रो साता तीन ग्राम ब्राउन सुगरसहित भैरहवाको डण्डामा पक्राउ परेका प्रधानको परिवारले मुद्दा छिटो अदालतमा पेश गराइदिएर टुङ्गाइदिए रकम दिने सुइको पाएपछि डिएसपी यादवले उनीहरुसँग डिलिङ गरेका थिए। मुद्दा अदालतमा छिटो पेश गरेर छुटाइदिने भन्दै यादवले प्रधान पत्‍नीलाई १ लाख रुपियाँ दिन राजी गराएका थिए।

प्रहरी स्रोतका अनुसार काठमाडौंमा रहेकी प्रधान पत्‍नीले प्रधानको खातामा एक लाख रुपियाँ पठाइदिइन्, त्यो रकमको चेक हिरासतमा रहेका प्रधानले यादवका विश्वासपात्र एक सिपाहीको नाममा काटे।  ‘यादवले भनेझैं मुद्दा छिटो टुङ्गिएन, अनि उनले घूस लिएको पोल खुल्यो– प्रहरी स्रोतले भन्यो।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग