Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँगाउमा शौचालय बनेपछि बाजा बजाएर खुसियाली

Published on 1:22:00 PM //


धुर्कोट (गुल्मी) । सबैका घरमा शौचालय बनाइएको खुसियालीमा गाउँगाउँमा जनताले बाजा बजाएर खुसियाली मनाएका छन् ।
घरघरमा शौचालय बनाउन र गाउँ सफा राख्न पाउँदाको खुसियालीमा जनताले बाजागाजासहित नाचगान गरेर खुसियाली मनाएका हुन् ।
 सबैका घरमा शौचालय बनेको खुसियालीमा बाजागाजासहित भेला भएका जनताले गाविसलाई खुला दिसामुक्त गाविस पनि घोषणा गरेका छन् । गाविसमा शौचालय बनाउने प्रतिस्पर्धा नै चलेको छ । कुन गाविसले सबैभन्दा छिटो शौचालय बनाउने भन्ने प्रतिस्पर्धामा जेठ महिनामा यहाँका चारवटा गाविस खुला दिसामुक्त गाविस घोषणा गरिएको छ भने धेरै दिसामुक्त गाविस घोषणाको तयारीमा छन् । अर्जे, घमिर, जैसीथोक र नयाँगाउँ गाविसका हरेक घरमा शौचालय बनेपछि ती गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको हो । ती चार गाविसका तीन हजार २० घरमा शौचालय निर्माण भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीले जनाएको छ ।
 ती गाविसले गाविसको अनुदान, खानेपानी डिभिजन कार्यालयको सहयोग र व्यक्तिगत लगानीमा शौचालय निर्माण गरेका हुन् । त्यसमध्ये सबैभन्दा बढी नयाँगाउँ गाविसमा एक हजार ५२ घरमा शौचालय निर्माण भएको कार्यालयले जनाएको छ ।  दिसामुक्त घोषणा गरिएको नयाँगाउँ गाविसले शौचालय प्रयोग नगर्नेलाई गाविसले दिने सम्पूर्ण सुविधा रोक्ने र जरिवाना समेत गर्ने निर्णय गरेको खुला दिसामुक्त कार्यक्रमका संयोजक शङ्कर कुँवरले बताए ।
 ‘शौचालयमा दिसा नगरी बाहिर गरेको पाइएमा पहिलोचोटि रु २००, दोस्रोचोटि रु ५०० र तेस्रोचोटि पनि अटेरी गर्नेलाई रु एक हजार रुपंैयाँ जरिवाना गर्नाका साथै सूचना दिनेलाई पुरस्कारको व्यवस्था गर्ने निर्णय गरेका छाँै’– गाविससचिव गिरीप्रसाद श्रीसले भने–‘उनीहरुलाई तिरो नलिने, नागरिकताका लागि सिफारिस नदिने, घरजग्गा खरिद बिक्रीका लागि आवश्यक पर्ने राजस्व शुल्क नलिने, खानेपानीको धारा जडान नगर्ने, सामुदायिक वन उपभोक्ताबाट हटाउने र घर परिवारको विवाह, जन्म दर्तालगायत प्रमाणपत्र नदिने र कुनै पनि सिफारिस उपलब्ध नगराउने निर्णय पनि भएको छ ।’

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग