Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हराएकाहरू प्रहरीको भित्तामा सधैं बेपत्ता सूचीमा

Published on 12:02:00 PM //

घनश्याम गौतम
गुल्मी, श्रावण ७ -
शान्तिपुर ५ की २१ वषर्ीया सावित्रा थापा २०६७ मंसिर ४ गते हराइकी थिइन् । ससुरा विष्णुबहादुर थापाले तत्कालै इलाका प्रहरी कार्यालय शान्तिपुरमा खोजतलासका लागि निवेदन दिए । उनी केही दिनमै आफन्तकै घरमा फेला परिन् र फर्केर घरमा आएर गृहस्थीमा व्यस्त छिन् तर प्रहरी कार्यालयको भित्तामा भने उनी हराएको सूचीमा छिन् ।

साढे दुई वर्षदेखि आफ्नो घरमा रहे पनि उनी प्रहरीकहाँ बेपत्ताको सूचीबाट भेटिएकोमा परिनन् । न त प्रहरीले उनको खोजीमा ताकेता गर्‍यो न त भेट्टाएपछि परिवारले प्रहरीकहाँ खबरै गरे । त्यस्तै बडागाउँ ९ की २७ वषर्ीया रीता कार्की २०६८ मंसिर १४ गते घर छोडेर हिंडिन् । उनका श्रीमान् दीपक कार्कीले हराएको भन्दै प्रहरीमा उजुरी गरे । पछि उनी अर्कैसँग विवाह गरेर बागलुङ बजारमा छुट्टै घरजम गरेर बसेकी छन् तर प्रहरीकहाँ भने उनको भित्तामा तस्बिर हराएकाहरूको सूचीमा टाँसिएको छ ।

घरबाट मानिस हराउँछन् प्रहरीकहाँ उजुर गर्छन् । केही दिन परिवारले खोजेपछि भेट्टाए ठीकै छ नभेट्टाए पनि प्रहरीले ताकेता गर्दैन । सूची बनाएर जिप्रकामा टाँस्ने र एकपटक मातहतलाई खबर गरेपछि प्रहरीको ड्युटी सकिने चलन छ । उजुर परेकामध्ये कति भेट्टएि कति बेपत्ता छन् पत्तो छैन । एकपटक हराएपछि उनीहरू भेट्टएि पनि प्रहरीकहाँ भने बेपत्ताकै सूचीमा रहिरहने गर्छन् । तर अहिले प्रहरीले सक्रियता बढाएपछि हराएका सूचीमा रहेकाहरू ५८ जना भेटिएका छन् ।

प्रहरीले पनि जाहेरी लिने र तत्कालै सम्भावित क्षेत्रमा खोजतलास तीव्र पार्ने तर केही दिनपछि फाइल थन्किने र प्रहरीले बिर्सने गर्दा प्रहरीमा हराउनेहरूको सूची हरेक वर्ष बढ्दो छ । अधिकांश घर परिवारको सम्पर्कमा आएकाहरू पनि अहिले प्रहरीको हराएकै सूचीमा छन् । हराउँदा प्रहरीमा उजुरी दिने, भेटिएपछि कुनै खबर नगर्ने परिपाटीले प्रहरीको हराएको सूची बढ्दो छ ।

२०६७ साउन १ गते देखि २०६९ असारसम्म हराएको भन्दै उजुरी गर्नेहरूको संख्या १ सय ९४ पुगेको थियो । प्रहरीले एक सातादेखि सञ्चार माध्यम र गाउँस्तरसम्म गठन गरिएका १ सय ३५ टोल सुधार समितिमार्फत पनि हराएकाहरूको खोजी तीव्र पारेको थियो । यो अभियानमा ५८ जना आ-आफ्नै घर वा अन्यत्र गए पनि परिवारको सम्पर्कमा रहेको फेला परेको प्रहरी नायब उपरीक्षक राजकुमार बैदावरले बताए ।

'निकै राम्रो प्रगति भएको छ,' प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले भने, 'केही गाविसमा जिल्लाबाटै र धेरैमा टोलसुधार समितिमार्फत खोजी तीव्र पारिएको छ, धेरै सम्पर्कमा आइसके ।' धेरै महिलाहरू अर्कैसँग विवाह गरेर गएको, बालबालिकाहरू लहैलहैमा लागेर कामको खोजीमा गएको लगायतका जानकारीहरू आइरहेको र केही दिनमै सबैको तथ्य सार्वजनिक गर्ने उनले बताए ।

हराएकाहरूको रेडियोमा नाम प्रसारण गरेर प्रहरीले खोजी गरिरहेको छ । प्रहरी रेकर्डमा अझै १ सय ३६ जना हराइरहेकै छन् । फेला पर्नेहरूको जानकारी परिवार वा आफन्तले समेत नदिंदा प्रहरी सधै हैरानीमा पर्ने गरेको छ । प्रहरीका अनुसार २०६७ साउनदेखि २०६८ असारसम्म ६१ वटा हराएको उजुरी परेकोमा २०६८ साउनदेखि २०६९ असारसम्ममा ७१ वटा हराएको उजुरी दर्ता भएका छन् ।

हराएका भनिएकामध्ये ९४ जना महिला छन् । श्रीमान् छोडेर अर्कैसँग लाग्ने, यौन विकिृतिमा लाग्ने, प्रेम वा अन्तर्जातीय विवाह गरेपछि अलपत्र पर्नेहरूका बारेमा रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका पत्रकार प्रेम सुनारका अनुसार प्रहरी तथ्यांकमा उल्लेख भएका ५० प्रतिशतभन्दा बढी महिला श्रीमान् छाडेर अर्कै पुरुषसँग विवाह गरेर हिँडिसकेका छन् ।

'त्यसको रेकर्ड प्रहरीले राखेको छैन,' सुनारले भने, 'कतिपय उजुरी गर्नेले श्रीमती लैजाने अर्को पुरुषसँगबाट क्षतिपूर्तिसमेत लिएका छन् तर प्रहरीमा खबर नै गरेका छैनन् ।' प्रहरीले त्यसरी हराउनेहरूको खोजतलासमा तीव्रता दिनु निकै सकारात्मक भएको सुनारले बताए ।

प्रहरीका अनुसार २ वर्षको बीचमा हराउनेहरूमा ९४ महिला, ३७ दलित, १६ बालिका, १३ बालक र अन्य पुरुष छन् । हराउनेहरू ९ वर्षदेखि ७५ वर्षसम्मका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग