गुल्मी प्रहरीद्धारा उत्कृष्ट सवारी चालकहरु सम्मानित
Published on
5:50:00 PM //
प्रेम सुनार
गुल्मी, भादौ १। प्रहरीले चालकलाई कार्वाही मात्र गर्दैन राम्रो काम गरे सम्मान पनि गर्दछ भन्ने सन्देश दिएको छ गुल्मी जिल्ला प्रहरीले । जिल्ला प्रहरी कार्यालयले विभिन्न यातायातका सवारी चालकहरु मध्ये उत्कृष्ट कार्य गर्ने ७ जना चालकहरुलाई गुल्मीको सदरमुकाम तमघासमा एक समारोहका विच सम्मान गरिएको छ। गुल्मी जिल्लामा सञ्चालन भएका वस, ट्रक, जीप, मिनी माईक्रो र सरकारी कार्यालयका चालक मध्ये उत्कृष्ट कार्य गर्ने चालकलाई यसरी सम्मान गरिएको हो।

कार्यक्रममा विशेष अतिथि स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार, एकीकृत नेपाली काँग्रेसका सचिव विष्णु वलाल, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, नेकपा माओवादीका जिल्ला इन्चार्ज विरवहादुर कार्की, राप्रपाका कमल अर्याल, जिल्ला इन्जिनियर लालु गिरी, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे लगायतले पनि सम्मानित चालकहरुलाई मन्तव्यद्धारा वधाई दिनुभएको थियो। कार्यक्रममा कालीदत्त गुल्म धागिथुम व्यारेकका गुल्मपति सेनानी मनोज थापा, कृषि विकास कार्यालयका प्रमुख डा. नरहरीप्रसाद घिमिरे लगायत विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारी, सवारी चालक, स्थानीय वुद्धिजीवि, समाजसेवी, पत्रकार लगायतको सहभागीता रहेको थियो। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रामप्रसाद पोख्रेलको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक रामप्रसाद पाण्डेले गर्नुभएको थियो।