Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालय जीर्ण भएपछि पठनपाठनमा समस्या

Published on 10:02:00 PM //


धुर्कोट (गुल्मी), ११ भदौ । सरकारले विद्यालय सुधारका लागि करोडौँ रकम खर्च गरेपनि यहाँका विभिन्न विद्यालय जीर्ण बन्दै जाँदा पठनपाठनमा समस्या भएको छ ।

जिल्ला शिक्षा कार्यालयबाट भवन निर्माण तथा मर्मतका लागि विनियोजित बजेट पहुँचका आधारमा वितरण गरिँदा गरिब, दलित र विपन्न बस्तीमा रहेका विद्यालयहरू जिर्ण बन्दै गएका छन् ।

दौँगा गाविस–३ ठूलापोखरामा रहेको काउले प्राथमिक विद्यालयको भवन जीर्ण हुँदा पठनपाठनमा समस्या उत्पन्न भएको विद्यालयले जनाएको छ । २०५० सालमा निर्माण भएको विद्यालयको तीनकोठे कच्ची भवन जीर्ण बन्दै गएको पूर्व शिक्षक पुरन नेपालीले जानकारी दिनुभएको छ ।

विसं २०५० को विद्यार्थी अनुपातमा निर्माण गरिएको भवन अहिले विद्यार्थीको अनुपातमा कक्षा कोठा, शौचालयसहितका भौतिक पूर्वाधारको अभाव रहेको प्रधानाध्यापक रामबहादुर ज्ञवालीले बताउनुभयो ।

सत्तरी घरधुरी दलित परिवारको एकमात्र विद्यालयको रूपमा रहेको सो विद्यालयमा अहिले ६२ जना दलित समुदायका मात्र बालबालिका अध्ययनरत छन् । यस्तै विद्यालय भवनको गाह्रो चर्केर कक्षा कोठामा पठनपाठन गर्न खतरा हुँदा गुल्मीकै सिर्सेनीको सिदार्थ प्राथमिक विद्यालयका विद्यार्थी चउरमै बसेर पढ्न बाध्य भएका छन् ।

वर्षाका कारण जमिन भासिएर छ कोठे भवन भत्किन लागेपछि कक्षा कोठामा अध्यापन गर्न खतरा भएकाले विद्यार्थीलाई खुला आकाशमुनि राखेर पढाउन बाध्य भएको विद्यालका शिक्षक धीरेन्द्र भट्टराईले बताउनुभयो ।

“पानी परेमा पठन पाठन नै गर्न सकिँदैन”–शिक्षक भट्टराईले भन्नुभयो,–“पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि यसमा ध्यान नदिएपछि सँधैभरि यही समस्या छ, गतवर्ष पनि भवन गाह्रो भत्केको थियो ।”

भित्र पनि भत्केर बस्न नसकिने र पानी परेको बेला चउरमा पनि पठनपाठन नहुने भएकाले वर्षात्को समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । शिक्षक भट्टराईका अनुसार विद्यालयको कार्यालयतर्फको र कक्षा ५ को कक्षा कोठाको गाह्रो चर्केको छ ।

मरभुङ प्रहरी चौकीले विद्यालयको निरीक्षण गरी भवन पुनःनिर्माण गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरेको छ । सम्बन्धित निकायबाट भवन निमार्णमा सहयोग नभएमा भवन पुनःनिर्माण गर्न नसकिने र विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीको पठनपाठन अलपत्र पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर पोखरेलले बताउनुभयो ।

क्षतिको बारेमा जिल्ला शिक्षा कार्यालयमा समेत जानकारी गराएको पोखरेलले जानकारी दिनुभयो ।
मिडिया मिसन न्युज डट कमबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग