Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भाइरल ज्वरोको प्रकोप, उपचार गर्दागर्दै स्वास्थ्यकर्मी समेत बिरामी

Published on 3:51:00 AM //


गगनशिला खड्का
गुल्मी, ७ भदौ । जिल्लाको उत्तरपूर्वी क्षेत्र अर्बेनी, जयखानी, पूर्तिघाट र खड्गकोटलगायत गाविसमा एक सातादेखि भाइरल ज्वरो फैलिएको छ । ती क्षेत्रमा कतिपय स्वास्थ्यकर्मीसमेत बिरामी परेपछि उपचार प्रभावित भएको छ ।
सुरुसुरुमा घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, बच्चाहरूलाई निमोनिया हुने र पछि कडा ज्वरो आउनुका साथै टाइफाइड र मस्तिष्क ज्वरो आउने गरेको जयखानी उपस्वास्थ्यचौकीकी अनमी सुनु श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार दैनिक ३० देखि ४० जना बिरामी उपस्वास्थ्यचौकी आउने गरेका छन् । यातायातको असुविधा भएका ती गाविसमा बिरामी थप उपचारका लागि बाहिर जान नसक्दा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
दुर्गम गाविसमा फैलिएको ज्वरो बढ्दै जाँदा प्रकोपको रूप लिएको छ । बिरामीलाई केही समयसम्म औषधिले समेत काम नगर्ने गरको श्रेष्ठले बताइन् । 'बिरामीको संख्या एकदमै बढेको छ, यातायातको असुविधाले बाहिर जाने अवस्था छैन,' अनमी श्रेष्ठले भनिन्, 'बिरामीको घरघरमा डुल्दाडुल्दै राति सुत्न पनि पाइएको छैन ।' हरेक गाविसमा रहेका एकएकवटा उपस्वास्थ्यचौकीमा ३/३ जना स्वास्थ्यकर्मी मात्र रहेकाले रातको समयमा समेत उपचारमा जाँदा आफैँ बिरामी हुन थालेको उनले बताइन् ।
अर्बेनी गाविसमा भाइरल ज्वरो अत्यधिक बढेको अर्बेनी उपस्वाथ्यचौकीका सिनियर अहेव गिरिराज भण्डारीले बताए । आफैँ बिरामी भएका कारण उपचारमा जान नसकेको भण्डारीले जानकारी दिए । उनले उपचारका लागि शिविर नै सञ्चालन गर्नुपर्ने वा थप जनशक्ति पठाउनुपर्ने बताए । तर, त्यस क्षेत्रमा फैलिएको भाइरलबारे केही जानकारी नआएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत श्रवणकुमार नायकले बताए ।
खड्गकोट गाविसमा पनि हरेक परिवारमा कोही न कोही बिरामी भएको सिनियर अहेव चन्द्रबहादुर थापाले जानकारी दिए । यता जिल्ला सदरमुकामका अस्पतालमा पनि भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल तम्घास र रेसुंगा अस्पतालमा भाइरल ज्वरोका बिरामीको अत्यधिक चाप बढेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।
दैनिक सयभन्दा बढी बिरामी आउने गरेको तम्घास अस्पतालका सूचना अधिकृत बालकृष्ण श्रेष्ठले जानकारी दिए । यस्तै रेसुंगा अस्पतालमा दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको र अस्पतालमा भर्नाका लागि बेड अभाव भएको हेल्थ असिस्टेन्ट झपेन्द्र घिमिरेले जानकारी दिए ।
भाइरल ज्वरोको उपचार नहुने भएकाले तातो पानी, झोलिलो पदार्थ खाने, आराम गर्ने गरेमा करिब एक सातामा निको हुने स्वास्थ्यकर्मीको भनाइ छ । त्यसपछि पनि निको नभएमा स्वास्थ्यसंस्थामा जान उनीहरूले सुझाब दिएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग