Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीज नजिकिदै गर्दा युएईका महिलाहरु उत्साहित, तिज धमाका २०६९को आयोजना

Published on 11:03:00 AM //


लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । महिलाहरुको महान चाड हरितालिका तीज दिनका दिन नजिकिदै आउदा युएईस्थित रहेका महिलाहरु निकै उत्साहित देखिन्छन् ।

भगवान पार्बतिले ब्रत बसी शंकर भगवान श्रीमानको रुपमा पाएको प्रचलनलाई कायम राख्दै विवाहित महिलाहरुले ब्रत राखि आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दछन् भने अविवाहित युवतीहरुले राम्रो र सुशील श्रीमानको कामनाको लागि ब्रत राखि तीज मनाउने गरिन्छ । विगतमा महिलाहरुले आफुले भोगेको पिरमर्का, दुःख र वेदनाहरुलाई गीतमार्फत गाएर पोख्ने परम्परा थियो भने अब एक्काईसौ शताब्दीमा सबै कुराहरु परिवर्तन हुंदै नयां चलनचल्तीका साथ देश भक्ति र समाजलाई जागरुक बनाउने जस्ता गीतहरु गाएर रातो साडी र हरियो पोतेको पहिरनमा विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरी रमाईलोसंग मनाउने प्रचलनमा आएको छ ।
आगामी १४ सेप्टेम्बर शुक्रबारका दिन दुबईको अस्तोरिया होटलमा गैरआवासीय नेपाली संघ महिला समिति युएई, प्रवासी नेपाली महिला संघ युएई र नेपाली जनप्रगतिशील महिला मञ्च युएईको संयुक्त आयोजनामा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायिका शर्मिला गुरुङ र गायक राजु गुरुङ अतिथि कलाकारका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरु संगीता उप्रेती, दीपिका घोरासैनी, मिना रिजाल, सरस्वती ठकुरी बिष्ट, पवित्रा गुरुङ, मिना गुरुङ, पूर्णिमा, नेत्र केसी, निलम पुन, प्रकाश न्यौपाने, सरस्वती (न्यौपाने) कोइराला, गोपीकृष्ण पंगेनी, धनराज सुन्धी र योगेन्द्र गुरुङको बेजोड प्रस्तुतिका साथ भर्खरै मात्र हांस्य एल्बम निकाल्नमा सफल भएका गायक प्रकाश पौडेल र चर्चित मोडल तथा खतरनाक क्यान्डल डान्सर आशिष पुरुषको बिशेष प्रस्तुतिमा “तीज धमाका दुबई २०६९” विविध सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ ।
उक्त कार्यक्रम खासगरी नेपालमा दुःख पाएका बृद्धा तथा सडकमा अनाथ भई बेसाहारामा परेका वालवालिकाहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको गैरआवासीय नेपाली संघ महिला समितिकी अध्यक्ष अर्चना (बस्नेत) रोकाहाले बताईन् भने आर्थिक संयोजक विमला भट्टले कार्यक्रमबाट आएको रकमले दुःख पाएका बृद्धा तथा वालवालिकाहरुलाई नयां जीवन दान मिल्ने भएकोले उक्त हरितालिका तीज कार्यक्रममा उपस्थित भई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेकी छिन् । त्यस्तैगरी यस पालिको तीजलाई एतिहासिकको रुपमा मनाउनका लागि चर्चित अतिथि कलाकारका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिलाई आकर्षक बनाइएको र युएईको सबै प्रान्तमा रहेका दाजुभाई तथा दिदीबहिनीहरुलाई रंगारंग सांस्कृतिक कार्यक्रममा सहभागी हुन यसै समाचारको आधारमा सांस्कृतिक संयोजक रिना विष्टले निमन्त्रणा समेत गरेकी छिन् ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग