Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुलुक र गुल्मीवासीको शिर निहुराउने काम गर्दिन – मुख्यसचिव पौडेल

Published on 8:18:00 PM //

काठमाडौँ, ९ भदौ  । नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेलले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि आफूले हरसम्भव प्रयास गर्ने बताउनुभएको छ । गुल्मेली समाजद्वारा आज यहाँ आयोजित ‘विकासका लागि हाम्रो भूमिका’ विषयक कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुक र गुल्मीवासीले शिर निहुराउने काम आफूले गर्ने छैन ।”

मुख्यसचिवको जिम्मेवारी भए पनि अन्यायमा परेका गुल्मीवासीलाई सहयोग गर्न भने आफूले प्रयत्न गर्ने बताउँदै मुख्यसचिव पौडेलले जिल्लाको सामाजिक विकास र सकारात्मक परिवर्तका लागि रचनात्मक र सिर्जनशील काममा ध्यान दिन गुल्मीवासीलाई सुझाव दिनुभयो ।

सो अवसरमा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राजनीतिले बाटो बिराएको बेला मुख्यसचिवको कार्यभार सम्हाल्नु भनेको एउटा निजामती कर्मचारीका लागि अवसर र चुनौती दुवै हो भन्नुभयो ।  राजनीतिक संयन्त्र, कर्मचारीतन्त्र, नागरिक समाज र गुल्मी समाज मिलेर काम गरेको खण्डमा जिल्लाको विकास निर्माणमा निकै ठूलो उपलब्धि हासिल गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका युवानेता चन्द्र भण्डारीले आफ्नो सत्य र इमान्दार छवीलाई जोगाएर काम गर्न मुख्यसचिव पौडेललाई सुझाव दिनुभयो । सो अवसरमा बोल्ने अधिकांश वक्ताले विकास निर्माण, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासका लागि गुल्मेली समाजले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने भएकाले आवश्यक पहल गर्न सुझाव दिएका थिए ।

उनीहरुले मुख्यसचिव पौडेललाई देश र जनताप्रतिको जिम्मेवारीलाई उच्च प्राथमिकता दिँदै देशलाई सधैँ मनमस्तिस्कमा राखेर काम गर्न सल्लाह दिए । निजामती सेवाको सर्वोच्च पदमा पुग्नुभएका मुख्यसचिव पौडेललाई आफ्नो पहिरनमा ख्याल गर्न अरुको समयको व्यस्ततालाई बुझिदिन सुझाव दिँदै मुलुकको समृद्धिको काममा ध्यान केन्द्रित गर्न समेत अनुरोध गरे ।

सो अवसरमा गुल्मीको विकासका लागि के कस्तो कार्यक्रम तय गर्ने र कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेबारेमा प्रा टेकराज ज्ञवाली, इन्जिनियर भेषराज कँडेल र युवकधोज जिसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  कार्यपत्रमा सूचना प्रविधि, कृषि, पशुपालन र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनुपर्ने औँल्याइएको छ ।

आयोजक समाजका अध्यक्ष सूर्यबहादुर सेन, महासचिव टङ्क पन्त, शङ्खमूलस्थित एआईए स्कुलका प्रधानाध्यापक विष्णु अर्यालले गुल्मी जिल्लाबाट उत्पादित जनशक्तिले मुलुकका विभिन्न विधामा रहेर पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो । गुल्मी जिल्ला कफी उत्पादन, धेरै साक्षरता भएको, महिला सक्षरता धेरै भएको, घरखेत बेचेर छोराछोरी पढाउने, धेरै निजामती कर्मचारी उत्पादन गर्ने र टेलिफोनमा धेरै खर्च गर्ने बासिन्दा जन्माउने जिल्लाका रुपमा परिचित छ । रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग