Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमान विदेशमा, गाउँमा असुरक्षीत हुँदै श्रीमतीहरु

Published on 1:23:00 AM //


प्रेम सुनार । पौंदिअमराई–१, अरेवा निवासी मोहन्त गिरी २० महिनादेखि दक्षिण-पुर्वी युरोपेली मुलुक बुल्गेरियामा हुनुहुन्छ । यता ३२ वर्षिया उहाँकी श्रीमती कमला गिरी जोत्न बोलाएका स्थानिय लालबहादुर नेपालीसंग लसपस गरेको आरोपमा केही दिनदेखि जिल्ला अदालतमा सम्वन्धविच्छेदका लागि बसिरहनु भएको छ ।
गत साउन २८ गते राती करिव ११ वजे नेपाली उहाँको कोठामा फेला परेको आरोपमा सिंगो गाउँ उल्टीएर सम्वन्ध विच्छेद गराउन वाध्य पारेका हुन । प्रहरीले गराएको मेडिकल रिर्पोटमा नेपालीले उहाँसंग अनुचित सम्वन्ध नराखेको भेटिएको तर उहाँलाई केही रकम दिएर घर पविारले पन्छाउन लागेको धुर्कोट निवासी वोमलाल भण्डारीले वताउनु भयो । "नेपालीकी श्रीमति लछिमाले चियो गर्दै जाँदा ढोका भित्र समेत नपसेका उनलाई भित्र पसेको आरोप लगाएर घर निकाला गरियो", भण्डारीले भन्नु भयो - “नेपालीकी पत्नीको षडयन्त्रका कारण हाम्री भतिजी अनहाकमा फस्नु पर्‍यो ।"

उता कमलाले रुदै भनिन् - "हुँदै नभएको सम्वन्धलाई उनकी श्रीमतिले जवर्जस्ती कोठा भित्र संगै थिए भनेर हल्ला पिटाईन र निर्दोष मलाई श्रीमान छाड्न बाध्य पारिन् ।” “अघिल्लो दिन जोतेको पैसा माग्न आएका थिए", कमलाले थपिन - “उनिहरु दम्पती विच राम्रो सम्वन्ध थिएन त्यसैले शंकैशंकामा पच्छाउँदै आएर संघार बाहिरै भएको मान्छेलाई भित्रसंगै फेला पारेँ भन्दै मलाई लुछिन् ।

उनको लुछाई र त्यसतो हल्लाले म लज्जीत हुँदै त्यसै दिन राती घर तल एक जना दलितको घरमा शरण लिएँ, अर्को दिन लछिमाले गाउँ नै जुटाईन र यो स्थितीमा ल्याईन् ।”

“यस्तै हो भने त म जस्ता विदेश श्रीमान भएका अन्य श्रीमतिहरुले पनि घरमा हली–गोठालो वोलाउन पनि डर भयो हैन र ?" उनले प्रश्न गरिन् ।
"१४ वर्षको छोरो छ म उसैको कसम खाएर भन्छु लालेसंग कुनै संवन्ध थिएन । घर परिवारले स्विकारछन् भने स्विकार गर्छु नत्र कसरी स्विकार गरुँ ? फोनमा श्रीमानले भन्नु हुन्छ", उनले आँसुका ढिका खसाल्दै भनिन् - "१४ वर्षको उमेरदेखिको उहाँ मेरो हजुरलाई कसरी छाडुँ ? म उहाँकै छत्रछाँयामा बस्न पाउँ यदि मैले घात गरेको भए बाँच्न नपरोस्", उनको विलौना थियो, "अर्को जुनिमा पनि म उहाँकै हुन पाउँ ।”

कमलाको अझै पनि विश्वास छ परिवारले घर निकाला गरे पनि पछि उहाँले स्विकार गर्नुहुनेछ र संगैं वस्न पाउने छौं । तर परिवारको दवामा श्रीमानले भने सम्वन्ध विच्छेद गरिदिनु भनि सकेकोले अदालत आएका हौं । कमलका देवर देवा गिरीले भने, “त्यस्तो संम्वन्ध भएको मैले त देखिन तर लालबहादुरकी श्रीमतिले त्यस्तो वतएपछि वेहोस जस्तै भएँ ।” "म त आफ्नै श्रीमतिसंग सुतेको थिएँ" उनले थपे, "भाउजुले त्यस्तो गर्नु भएको होला भनेर पत्याउन सकिन तर अर्को दिन नेपालीकी पत्नीले त्यसो भनेको र उनिहरुले पनि स्विकार गरेको संकेत दिएपछि प्रहरी हुँदै अदालत आएका र्हौ ।”

कमला र आरोपित लालबहादुर भन्छन् “हामी माथी अन्याय भयो, सिंगो गाउँ घोप्टीए पछि जे भन्छन त्यसैमा मुन्टो हल्लाउन बाध्य पारियो । म त काम गरेर खाने मान्छे जस्को घरमा पनि जानु पर्‍यो"  नेपालीले भने, "म त्यस दिन साँझ खेतमा पानी लगाएर फर्किदै थिएँ, अघिल्लो दिन जोतेको पैसा लिएर जाउँ भनेर पसेको थिएँ अनहाकमा फसाईयो ।”

कमला दम्पतीको २० वर्ष अघि विवाह भएको थियो । विभिन्न मुलुक हुँदै उनका श्रीमान विदेश हिंड्न थालेको नौं वर्ष भयो तर अहिले सम्म कमलाको त्यस्तो वानी छ भन्ने कसैले शंका गरेका थिएनन । "श्रीमानले पठाएको पैसा थुकले टिपेर बचाउँथिन, के गर्ने एउटो बोलेर भएन कमला अन्यायमा परिन्", नाम नबताउने सर्तमा एक छिमेकीले भने, "यदी लालबहादुर भित्र पसेको भए उनकी श्रीमतिले बाहिरबाट ढोका लगाई दिनु पर्दथ्यो ।”
वाग्ला माईती घर भएकी कमलाका वावु–आमा छैनन् । "दाजु भाउजु भनेका त्यस्तै हुन् कहाँ गएर बसुँ ?", कमलाले आम चेलीको पिडा सुनाईन् ।

"मेरो नामै हालेर यो पिडा र श्रीमानप्रतिको विलौना सुनाईदिनुस् ताकी विदेशमा हुने अरुका श्रीमती म जस्तै अन्यायमा पर्न नपरोस्" उनले गुल्मीन्युजलाई भनिन् । विदेशमा श्रीमान हुने आम महिलाहरुको प्रतिनिधीमुलक पिडा हो यो –एकादुई महिला विग्रे भन्दैमा विदेश श्रीमान हुने अन्य निर्दोष महिला माथी पनि चियो चर्चो, शंका-उपशंका गर्दै जान थालिएको छ । जिल्ला बाहिर भएका आफन्तहरुकहाँ बसेर फर्किए पनि पोईला गएर आई भन्ने, बाटोमा कसैसंग वोले–हाँसे पनि लोग्ने घर छैन किच्कीएर हिंडेकी छे भन्ने जस्ता चरित्र हत्याका थुप्रै आरोप खेपेर बस्नु परि रहेको छ विदेश श्रीमान हुने महिलाहरु ।

घमिरकी एक महिलालाई परिवारको त्यस्तै आरोपबाट विदेशबाट फर्किएका श्रीमानले हेला गरेपछि उनि माईतमा बसेर यतिबेला न्यायका लागि अदालत धाएकी छिन । श्रीमानकै सल्लाहमा बुटवलमा बसेर पढ्दै थिएँ उनले भनिन् “श्रीमान विदेशबाट सिधै कोठामा आउनु भयो, माया पनि त्यतिकै गर्नु हुन्थ्यो जब उहाँ घर जानु भयो तव परिवारका अनेक कुरा सुनेर मबाट टाढिनु भयो ।” उनले थपिन् “मलाई विस्वास छ अहिले पनि उहाँले मलाई माया गर्नु हुन्छ तर परिवारले नै उहाँलाई भगाएको छ । यो सवै गर्ने देवरको काम हो । उनि चिर–परिचित कलाकार पनि हुन उनले भनिन अझै पर्खयौं, अहिलेलाई मेरो र उनिहरुको नाम नखुलाईदिनुस् यदि यसरी नै षडयन्त्र गरिरहे भनें कलाकार कस्ता हुँदारहेछन् भन्ने कुरा पर्दाफास् गर्रौला ।”

परिवार कै आरोपका कारण पराल्मी रातामाटा की चित्रकला सिंजालीले एक सुको नलिई गत वर्ष सम्वन्ध विच्छेद गरिन् । श्रीमान भारत थिए । घर आएपछि “तेरी श्रीमति त फलानो केटासंग फोनमा निकै रमाउँछे” भनेर कुरा लगाए । त्यो सुनेर श्रीमानले पनि रात दिन टोक्न थाले । अनाहकमा रातदिन आफनो चरित्र माथी हिलो छ्याप्न नछाडेपछि उनले त्यो चोट सहन नसकेर सिधै अदालतमा आईन र सम्वन्धविच्छेद मागिन् ।
“मलाई एक पैसा चाहिंदैन् मेरो चरित्रमा दाग लगाएपछि सहन सकिन नाम बताउने नचाहने उनले भनिन् “माया र समर्पण अनि अस्मीता पैसाले न किनेर पाईन्छ न त बेचेर बेचिन्छ । अदालतमा आए पछि वल्ल श्रीमानले किन दियौ सम्वन्ध विच्छेदको मुद्धा भन्दै हुनुहुन्थो मैले भयो तपाई सुखी रहनुहोला, राम्री चरित्र भएकी श्रीमति विहे गर्नुहोला भनेर सम्वन्ध विच्छेद गरेरै छाडे ।”
हाँसीहाँसी अदालत परिसरबाट छुट्टिएका यि जोडी आ–आफ्नो बाटो लाग्नु पुर्व होटलमा संगै नास्ता गरेर हाँस्दै वाई-वाईको हात हल्लाउँदा देख्नेहरुलाई भने भावुक पारिरहेका थिए ।

छोरालाई राम्ररी पाली दिनुहोला, मलाई संम्झिन पनि नछाड्नुहोला तर भौतिक रुपमा टाढा हुन बाध्य पर्‍यो समाजले भन्दै बिदा भएकी चित्रकला परिवारको उक्साहटमा माइतीले समेत गाली गरेपछि उनी माइतीमा पनि नगई अहिलेसम्म बडगाउँ–१ स्थित दिदीको घरमा बसेकी छन् । “छुट्टीनको राती फोन गरेर के गर्यौ यस्ता भनेर भन्दै हुनुहुन्थ्यो उँहाले । जवाफमा मैले तपाईहरुले बनाएको हो मैले होइन भने । अहिले उँहाले बिहे गरेर बस्नुभएको छ । मैले भन्दा बढी माया दिउन्
उनले । उहाँको दाम्पत्य जीवन सुखी रहोस् म यहि कामना गर्दछु चित्रकलाले गहभरी आँसु पार्दै भनिन् “भौतिक रुपमा नसहि अहिले पनि म उहाँकै हुँ । यो एक मुठी सास रहेसम्म उहाँकै हुँ भन्ने ठान्नेछु । एक्लै पनि बाँच्न सकिन्छ यौन सम्बन्ध भनेको केहि होइन मुटुमा गडेको उहाँप्रतिको माया निकाल्न सक्दिन ।” चित्रकलाको माया र त्यो समर्पणभावले जो कोहीलाई भावुक पार्छ र दाम्पत्य जीवनमा साच्चिकै प्रेरणा प्रदान गर्दछ । भलै केहि महिलाहरु आफ्नो अस्मितालाई बजारको टमाटर सरी ठान्लान् र बेच्लान् तर अधिकांश महिलाहरु आफ्नो अस्मिता माथि कसैले प्रश्न चिन्ह खडा गर्‍यो कि सहन सक्दैनन् भन्ने कुरा पराल्मीकी चित्रकला र पौंदी अमराईकी कमलाबाट बुझ्न सकिन्छ ।
आखिर श्रीमान विदेश हुने महिलाहरुप्रति बढी कुरा काट्ने महिलाहरु नै दैखिएका छन् । पोइला गएको १० महिनापछि फर्किएकी हस्तीचौरकी महिलालाई विदेशमा रहेका श्रीमानले स्वीकार्छु भन्दा पनि बहिष्कार गर्नेहरु महिला नै भए । बिदेश श्रीमान रहेका महिलाहरुको चरित्रमाथी आक्षेप लगाउने अर्को कारण देखिएको छ,– छिमेकीलाई धन कमाएको डाह हुनु । अनि घरका मुली मान्छेलाई नपठाई श्रीमतीलाई पैसा पठाउन थाल्यो भने पनि ति महिलाको जरो खन्ने काम सुरु भई हाल्ने कारणले पनि विदेशमा श्रीमान भएका महिलाहरु छुराको धारमा बाँच्न बाध्य भएका छन् । त्यस माथी केही महिलाहरु परपुरुष गमन र कतिपय टाप कस्ने भएका कारणले पनि अन्य स्वच्छ चरित्रका महिलाहरु समेतलाई ठाडो शिर लगाउन दिएका छैनन् । थाहा छैन, भोलीका दिनमा विदेशमा श्रीमान हुने कमला र चित्रकला जस्ता अझ कति महिलाहरुले अना्हकमा घर निकाला हुनु पर्ने हो यो असाध्यै चिन्ताको विषय बनेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग