Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भाइरलका बिरामी बढे

Published on 8:08:00 PM //


घनश्याम गौतम

गुल्मी, भाद्र १४ - केही दिनदेखि भाइरलले दुर्गम गाउँका बासिन्दामा घाँटी, टाउको दुख्ने, रुघाखोकी र ज्वरोको प्रकोप बढेको छ ।

गुल्मीको उत्तरपूर्वी क्षेत्रका अर्बेनी, जयखानी, पूर्तिघाट, खड्गकोट, फोक्सिङ लगायतका गाविसमा झन्डै दुई सातादेखि फैलिएको भाइरल बढ्दै गएको छ । प्रकोपले उपचार गर्ने स्वास्थ्यकर्मीहरूसमेत बिरामी पर्न थालेका छन् ।

ग्रामीण क्षेत्रका बिरामीहरूमा सुरु घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, बच्चाहरूलाई निमोनिया हुने, कडा ज्वरो आउनुका साथै टाइफाइड र मस्तिष्क ज्वरो आउने गरेको जयखानी उपस्वास्थ्य चौकीकी अनमी सुनु श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार दैनिक १५/२० बिरामी आउने गरेकामा भाइरल प्रकोप बढेपछि दैनिक ५० बिरामी आउन थालेका छन् ।

प्रायः दुर्गम गाविसहरूमा भाइरल प्रकोपको रूपमा बढेको र स्वास्थ्य संस्थामा उपलब्ध औषधिले तत्कालै काम नगर्ने गरेकाले थप समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको

छ । जिल्लाको पश्चिमी क्षेत्रका केही गाविसमा पनि भाइरल बढ्दै गएको जिल्ला अस्पतालका प्रमुख डाक्टर हरिबहादुर केसीले बताए ।

भाइरलका बिरामीहरूको उपचार गर्दागर्दा अर्बेनी उपस्वास्थ्य चौकीका सिनियर अहेब गिरिराज भण्डारी आफैँ बिरामी परेका छन् । 'सबै घरधुरीमा रुघाखोकी, ज्वरो, टाइफाइडका बिरामी छन्,' भण्डारीले भने, 'उपचारका लागि घर-घर पुग्दा आफैँलाई भाइरलले समात्यो ।' चौकीमा औषधि अभाव नभए पनि बिरामीहरूले तत्कालै परीक्षणका लागि स्वास्थ्य चौकीमा नआउने र समयमै उपचार नगर्ने गरेकाले प्रकोप बढ्दै गएको उनले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग