पेण्टिङमा रेसुङ्गा, तम्घास र प्रकृति
Published on
8:32:00 PM //

स्पेक्ट्रम नामक संस्थाद्वारा नेपाल भ्रमण वर्ष २०११ र लुम्बिनी भ्रमण वर्ष २०१२ का अवसरमा कलाकारहरूले स्थलगत भ्रमणकै क्रममा उक्त पेण्टिङहरू तयार पारेका हुन् । एक दशकदेखि हरेक वर्ष चित्रकला प्रदर्शनी गर्दै आएको स्पेक्ट्रमको यो ‘नवौं वार्षिक चित्रकला प्रदर्शनी’ हो । गत शुक्रवारदेखि शुरू प्रदर्शनीमा १५ जना कलाकारका सृजना राखिएका छन् । पृष्ठभूमिमा हिमाल राखेर विभिन्न सांस्कृतिक सम्पदालाई आफ्नो क्यानभासमा सजाएका महेश आचार्यले बुद्ध, नेवारी संस्कृति र हिन्दूधर्मको प्रतिबिम्बमार्फत नेपाली सांस्कृतिक विविधताको परिचय दिन खोजेका छन् । ‘आर्ट–द रिलिजन एण्ड द कल्चर’ नाममा प्रस्तुत भएका कलाकार इन्द्र श्रेष्ठले श्रीयन्त्र र गणेशलाई आप्mनो कलाको विषयवस्तु बनाएका छन् । एकान्तपनलाई विषयवस्तु बनाई आफ्नो क्यानभास सजाएका कलाकार ज्योति प्रकाश बीकेले ‘लेडी वीथ भायोलिन’ नाममा आफ्नो कला तयार पारेका छन् ।
कलाकार नागिन सिंहले नेपाली झण्डाको रङ प्रयोग गरी पेण्टिङ सजाएका छन् । सम्भोगलाई विषयवस्तु बनाएका सिंहले नेपाली रहेमात्र नेपालको अस्तित्व रहने भाव प्रस्तुत गर्न यो विषय रोजेको बताए । आइतवारसम्म चल्ने प्रदर्शनीमा किशोर कनौजिया, कमल गुरुङ, नवीन कर्माचार्य, रामकृष्ण थापा, ईशान परियार, इन्द्रबहादुर खत्री, हरि नेपाली, दिनेश उपाध्याय, दीपक महर्जन, विष्णुप्रसाद चौधरी र विष्णु खत्रीका पेण्टिङ पनि राखिएका छन् । २ हजारदेखि ६० हजार रुपैयाँसम्म मूल्य राखिएका ती पेण्टिङ तयार पार्न कलाकारहरूले काठमाडौंको पशुपतिमा पनि एकदिने कार्यशाला गरेका थिए । कलाकारहरूले तम्घासबजार, रेसुङ्गा मन्दिर, गुल्मेली ग्रामीण गतिविधि तथा रिडी बजार र कालिगण्डकी नदीलाई पनि पेण्टिङमार्फत प्रस्तुत गरेका छन् ।
अभियान राष्ट्रिय दैनिकबाट