Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली शैक्षिक क्षेत्रको दुर्दशा: तिन विद्यार्थी चार शिक्षक, दिन कटाउनै गाह्रो

Published on 3:47:00 PM //


प्रेम सुनार
साउन २५, गुल्मी । डिग्री गरेका युवाहरु जगिर नपाउँदा कोही विदेश पलायन त कोही तीन-चार हजार मसिक तलवमा जुन पायो त्यही जागिर खान वाध्य छन् हाम्रो देशमा । निजी विद्यालयमा मेहनतले पढाउने शिक्षकहरुको तलव "जो आज्ञा प्रभुको" भन्ने अवस्था छ । उनीहरुको न तलव न त जागिरको नै ग्यारेन्टी छ । तर जागिरको ग्यारेन्टी पाएका र कम्तीमा मसिक १४ हजार तलव खाएका सरकारी विद्यालयका शिक्षकहरु भने पढाउने विद्यार्थी नभएपछि दिन कटाउनै मुस्किलमा परेका छन् । सरकारी विद्यालयको यो दुर्दशा देशैभरि हुन सक्छ तर तीन विद्यार्थीका चार शिक्षकः गुल्मी, सरकारी बिद्यालयको दुर्दशा देखाउनमा एक कदम अगाडी छ । उदाहरण एउटा मात्रै होईन गत वर्ष पनि यस्तै एउटा विद्यालयको समचार संप्रेषण गरेका थियौं, फेरी अर्को विद्यालय त्यही अवस्थामा पुगेको छ, यो क्षेत्र नं.१ हँसराको खवर हो, जहाँ समायोजन गर्ने सिफारिस गँरिदा तीन विद्यार्थी चार शिक्षक परेका छन् ।
जिल्ला शिक्षा कार्यालयकै उप–सचिव भोजबहादर के.सीको संयोजकत्वमा बसेको बैठकले त्यसलाई लाचारी मैं शिफारिस गर्ने निर्णय गरियो भनिएको छ । ग्राम विकास प्रााथामिक विध्यालय हँसरा–६ को निर्णय हो त्यो । हँसरा गाविसको वडा नं.४ मा रहेको एउटै नामको ग्राम विकास प्राथामिक विद्यालयमा उक्त विद्यालयको कक्षा ४ र ५ समायोजन गर्ने सिफारिसको निर्णय गरिएको छ । कक्ष १ देखि ५ सम्म जम्मा ९ जना विध्यार्थी रहेको त्यस विध्यालयबाट कक्षा ४ र ५ का ६ जना विद्यार्थी वडा नं. ४ को विद्यालयमा जाने भएपछि अव त्यस विद्यालयमा जम्मा ३ विध्यार्थी र ४ जना शिक्षक बाँकी रहने भएका हुन । उप–सचिव केसी भन्छन्, “भौगोकि विकटता र बसाई सराईका कारण त्यस्तो स्थिती आएको हो ।" "समायोजन गर्ने सिफारिस गरिएको छ", उनले थपे- "शिक्षा समितिले पास गर्‍यो भने त्यहाँ त्यति शिक्षक रहँदैनन् ।” केसीले विद्यार्थी संख्या घट्नुको कारण त्यो बताए पनि कारण त्यति मात्र छैन । जबकी त्यस ग्राम विकास प्रा.वि हँसरा ६ र एउटै नामको हसरा ४ को विद्यालयका प्रधानध्यापकहरु नजिकै रहेको वोर्डिङ्ग स्कुलको शेयरधनी छन् । हँसरा ६ का प्र.अ.दुर्गाबहादुर थापा र हँसरा ४ का वावुराम ज्ञवाली स्थानिय ग्रेड ल्यान्ड वोर्डिङ्ग स्कुलको शेयरधनी रहेका हुन ।
सरकारी शिक्षक तपाईहरु वोर्डिङ्ग स्कुलको शेयर धनी हुनुहुँदोरहेछ नि भन्ने प्रश्नमा “हामीलाई मात्र के भन्नु हुन्छ," ज्ञवालीले भने, "माओवादी निकट शिक्षक संगठनका नेता समेत रहेका सरस्वती उच्च माध्यामिक विद्यालय जोहाङ ७ का विज्ञान विषयका शिक्षक छविलाल भण्डारी, रुद्रगंगा वोर्डिङ्ग स्कुल जोहाङका सहायक प्रिन्सीपल हुनुहुन्छ भने थापा र म त शेयर धनी मात्रै हौं ।" उनले थप उदाहरण दिदै भने, "तमघास कै कुरा गर्नुस् क्याम्पसका लेक्चरहरुले त वोर्डिङ्ग स्कुल खोलेर बस्नु भएको छ भने हामीले पनि शेयर हाल्दा केहि फरक नर्पला भनेर हालेका हौँ, यस्तो जताततै छ", उनको जिकिर थियो "तर पनि हामीले सरकारी विद्यालयलाई असर पारेका छैनौं ।"
श्रोतका अनुसार हँसरा ६ को विद्यालयमा वसाई सराईका कारण विद्यार्थी संख्या घटे पनि हसरा ४ अर्थात ज्ञवाली प्र.अ. रहेको विद्यालयबाट बोर्डिङ्गकै कारण विद्यार्थी घटेका छन् । कति छन् त विद्यार्थी ? भनेर सोध्दा सुरुमा ३० जना बताएका ज्ञवालीले पछि ६० जना बताए । हँसराबाट रुपन्देहीतिर बसाई सराई गर्ने क्रम बढ्दो छ, बसाई सराई नगर्नेहरुले पनि वुटवलका वोर्डि स्कुलमा लगेर पढाउन थाले ज्ञवालीले भने त्यो रोक्न पनि वोर्डिङ्ग स्कुल खोलिएको हो । अर्का प्र.अ. दुर्गाबहादुर थापाले पनि आफु वोर्डिङ्ग स्कुलको शेयरधनी बसेर विद्यार्थी संख्या घटेको नभई बसाई सराई नै प्रमुख समस्या भएको बताए । विद्यार्थी संख्या कम, जो एक जना शिक्षकले पढए पनि हुने तर तपाईहरुले त विद्यालय सहयोगीलाई आएको रकमबाट अर्को शिक्षक राख्नु भएछ नि भन्ने प्रश्नमा थापाले भने ‘अँ! त्यसै गरियो एमकली काउछालाई वाल शिक्षामा राखियो, उनका लागि मासिक २४ सय अनुदान आउँछ, विद्यालय सहयोगीका लागि आउने रकम पनि उनलाई तलव खुवाउने लगाएतको काममा खर्च गरिएको छ ।" उनकानुसार अघिल्लो बर्ष ४२ हजार रुपैयाँ पिसीएफ रकम आएको थियो भने गत बर्षदेखि १८ हजार मात्रै आउने गरेको छ ।
स्थानियवासी समेत रहेका शिक्षक थापा २०५८ सालदेखि त्यस विद्यालयमा रहेको बताउँदै भने विद्यार्थी थोरै भए पनि प्रा.वि रहनु पर्ने हाम्रो जिकिर छ । हाँजिरी रजिष्टरमा बिद्यार्थी संख्या ९ देखाईए पनि विद्यार्थीको उपस्थिती भने कहिले २ जना त कहिले शुन्य हुने अवस्था रहेको छ । अब त झन तिन विद्यार्थी चार शिक्षक हुने भयो, कसरी प्रावि चररल्छ त ? भन्ने प्रश्नमा थापाले भने, "देश प्रदेशमा रहेका आउलान् नि ।"
त्यसो त हँसरा-९ स्थित भगवती प्रा.विमा पनि जम्मा ८ जना विद्यार्थी छन् । भौगिलिक विकटताको कारण देखाउँदै त्यस विद्यालयलाई हँसरा श्रोत केन्द्र र स्वंय उप-सचिव के.सी. कै उपस्थितीमा प्रावि कायमै राख्ने निर्णय गरिएपछि ३ जना विध्यार्थी रहेका थापाले पनि आधारभुत प्राविको जिकीर गर्नु स्वभाविक देखिन्छ । समायोजनका क्रममा जिल्ला शिक्षा कार्यालयलाई ठुलो चुनौती छ । पुर्व जिशिअ चन्द्रकान्त अर्यालले न्यृनतम मापदण्ड पुरा नगरेका विद्यालय समायोजन गर्न खोजे पनि राजनैतिक हस्तक्षेप भएको बताएका थिए भने त्यही चुनौतीका विच बर्तामान जिशिअ गोविन्दप्रसाद ज्ञवालीले समायोजन कार्य सुरु गरेका छन् । शिक्षा नियमावलीकै धरातलमा रहेर ज्ञवालीलाई निर्धक्क काम गर्न दिए विना परिणाम राज्यको ढुकुटी रित्याउने त्यस्ता विद्यालय राख्ने कार्यको अन्त्य हुने थियो । जहाँ राजनैतिक पँहुचवाला छन चुनौती भएको त्यहाँ विद्यालय, जहाँ छैन त्यहाँ २ घण्टाको उकालो गर्न बाध्य छन् ५-६ बर्षिय वालवालिकाहरु । उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । सदरमुकाम तमघाससंग जोडिएको गा.विस हस्तीचौरको खहरे, जिउरकाटेका वालवालिकाहरु डेढ दुई घण्टाको उकालो ओरालो गर्न बाध्य छन् । उक्त गाउँदेखि डाँडामा रहेको हिमालय उच्च मा. वि मा ठाडो उकालो स–साना नानी वावुहरु चढ्न नसकेर अभिभावकले बोकेर लैजान्छन् । स्थानिय समाजसेवी गोकर्ण सुर्यवंशी भन्छन् “ २ वर्ष जति त गाउँवासीले रकम उठाएर कटेरोमा पढायौं पछि कसैले रकम दिने कसैले नदिने भएपछि थेग्न नसकेर बन्द गरियो ।”
उनिहरुले यो समस्या राखेको २ बर्ष भयो । त्यसप्रति कसैको चासो छैन । जिल्ला शिक्षा अधिकारी ज्ञवाली भन्छन् “वालवालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चत हुने गरि समायोजन प्रकृया अगाडी बढाईको छ ।” तर निश्चितप्राय छ कि २०४६ को परिवर्तन पश्चात विद्यालयलाई आफ्ना कार्यकर्ताको भर्ति केन्द्र बनाएका दलका मानिसहरुले हिजो विद्यालय जहाँ र जुन स्तरमा थियो त्यसैमा राख्न जिल्ला शिक्षा कार्यालयलाई हस्तक्षेप गर्ने छन् । त्यसमाथी दलहरुकै राजनिती गरिरहेका जिल्ला शिक्षा कार्यलयका वि.नि र श्रोत व्यक्तीहरु पनि कहाँ कसलाई जागिर खुवाउने र को कोसंग वार्गेनिङ्ग गर्ने भन्ने कुरामा तल्लीन भएकोले पनि यस्तो भएको आरोप छ सर्वसाधरणको । यसर्थ यस्तो ३ विध्यार्थी ४ शिक्षक जस्ता गुल्मेली शैक्षिक क्षेत्रमा देखिएको माथी विसंगतिलाई दलका नेता, शिक्षा कार्यलय र अन्य सरोकारवालले ब्यबहारिक समस्या नभनि अन्त्य गर्न जरुरी छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग