Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१० हजार कुकुरको बन्ध्याकरण गर्ने प्रस्ताव

Published on 7:58:00 PM //


गणेश लम्साल
विराटनगर, १७ साउन
१० हजार भुस्याहा कुकुरको बन्ध्याकरण गर्नका लागि उपमहानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३१ लाखको प्रस्ताव पेस गरेको छ ।
वर्षेनी यस्ता कुकुरको संख्या बढ्दै जाँदा व्यवस्थापनमा समस्या भएपछि विराटनगर उपमहानगरपालिकाले यस्तो प्रस्ताव गरेको हो । उपमहानगरपालिकाले १० हजार कुकुरको बन्ध्याकरण गराएर रेबिजविरुद्धको खोप दिन ३१ लाख रुपैयाँ खर्चनुपर्ने लागत तयार गरी १४ असारमै मन्त्रालयमा प्रस्ताव पठाएको थियो । २ साउनमा मन्त्रालयले पशु स्वास्थ्य विभागलाई आवश्यक सहयोग गर्न परिपत्र गरिसकेको उपमहानगरपालिका भेटेरिनरी शाखा प्रमुख हीरालाल यादवले बताए । उनले भने, 'सहयोग उपलब्ध हुनासाथ हामी अभियान थालिहाल्छौँ ।'
उपमहानगरपालिकाले पहिले वर्षमा तीन हजार कुकुर मार्ने गर्दथ्यो । हरेक वर्ष सडकका कुकुर मार्न नगरपालिकाले कर्मचारी खटाएरै अभियान सञ्चालन गथ्र्यो । तर, ०६४ सालमा पशुस्वास्थ्य विभागले कुकुर नमार्न परिपत्र गरेपछि यो अभियान रोकिएको हो । पशु अधिकारवादीहरूले कुकुर नमार्न आवाज उठाएपछि सरकारले सबै कुकुरको बन्ध्याकरण गर्न निर्देशन गरेको थियो ।
भेटेरिनरी शाखा प्रमुख यादवका अनुसार अहिले यस्ता कुकुरको संख्या १० हजारभन्दा बढी पुगिसकेको छ । पहिले कुकुर मार्न 'एस्टि्रमिन सल्फेट' नामको कडा विष उपलब्ध हुन्थ्यो । मासुमा त्यो विष मिलाएर कुकुर
मार्ने गरिन्थ्यो ।
नगरपालिकाले हरेक वर्ष पाँच लाख रुपैयाँ खर्चेर तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै आएको छ । तर, त्यो पर्याप्त नभएको उपमहानगरपालिका स्वास्थ्य विभाग प्रमुख तारानाथ निरौलाले बताए । उनले भने, 'कुकुरको संख्या दिन दुईगुना र रात चौगुनाले बढिरहेकाले मन्त्रालयसँग सहयोगका लागि आग्रह गर्नुपरेको हो, एउटा कुकुरको बन्ध्याकरण गर्न २५ सयसम्म खर्च लाग्छ ।'
विराटनगरको भारतसँग सिमााना जोडिएकाले उताबाट कुकुरहरू थपिने गरेको उपमहानगरपालिकाको भनाइ छ । व्यवस्थित रूपले बन्ध्याकरण नगर्दा दिनदिनै बढ्दै गएका कुकुरले नगरका चोक र भयपूर्ण हुँदै गएको नगरवासीको गुनासो पनि बढ्दै गएको छ । उनीहरूका अनुसार नगरका हरेक टोलका चौकमा दर्जनौँ कुकुर अड्डा जमाएर बस्ने गर्दा साँझ बिहान बटुवाहरूलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।
विराटनगर-७ का टीकाप्रसाद सिटौलाले भने, 'रातबिरात चोकमा जम्मा भएका कुुकुरले भुकेर हैरान नै पार्छन्, निन्द्रा बिथोल्छन, बौलाएका कुकुरले कतिखेर कसलाई टोकिदेला भन्ने पिर हुन्छ ।' उनका अनुसार गत वर्ष एउटै कुकुरले दुई दर्जन मानिसलाई टोकेर आतंकित बनाएको थियो । मुख्य राजमार्गमा कुकुर जथाभावी डुल्दा सवारी आवगमनमा समेत समस्या सिर्जना हुने गरको ट्राफिक प्रहरीको भनाइ छ ।
नयाँ पत्रीकाबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग