Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मजुवामा तीज धमाका, १९ टिमलाई पछार्दै पोलारिसले जित्यो प्रथम पुरस्कार

Published on 2:59:00 AM //


प्रेम सुनार
सदरमुकाममा सिडियो, एलडिओ लगाएतका प्रमुख व्यक्तिहरु सहभागि गराइने तिज गीत कार्यक्रमहरुमा अहिलेसम्म त्यति ठूलो सहभागिता र प्रस्तुती देखिएको थिएन जती धमका तुराङ स्थित मजुवामा आयोजित तिज गीत कार्यक्रममा देखिएको सहभागिता र प्रस्तुतीले पिटेको थियो । हरेक जात जातिको पहिचान झल्काउने पोसाकमा सजिएका महिलाहरु  मजुवाको ज्ञानोदय उच्च माध्यमिक विद्यालयको त्यति ठूलो खेल मैदानमा अटि-नअटाउ थिए । भनिन्छ त्यती सहभागिता त्यसै विद्यालयको स्वर्ण महोत्सवमा पनि थिएन । दुरदराज गाउँका वृद्ध वृद्धाहरु समेत लौरीको सहारामा आइरहेका थिए ।

त्यसको श्रेय नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गुल्मीको १ नं. क्षेत्रिय कमिटिलाई जान्छ । यति ठूलो सहभागिता होला भनेर कल्पना समेत गरेका थिएनौँ क्षेत्रिय कमिटि अध्यक्ष विनोद भण्डारीले भने यसको श्रेय यहाँका शिक्षक बुद्धिजिवीलाई पनि जान्छ । कुल २० वटा समूहबीच कडा प्रतिस्पर्धा चल्यो । २० वटै समूहका प्रस्तुतीहरु नियाल्दा हरेक एक अर्कोमा कोही पनि २० को १९ थिएनन् ।

प्रथम पुरस्कार कस्ले जित्ने हो अड्कल लगाउन नै गार्हो थियो । कतिपयले अनुमान पक्कै शान्तिपुर-रेमिको समूहले नै पहिलो पुरस्कार हात पार्छ भन्ने थियो । अनि कसैले मजुवाकै ज्ञानोदय उच्च माध्यमिक विद्यालयको समूहले जित्छ भन्दै हुटिङ्ग गरिरहेका थिए । सो विद्यालयको प्रस्तुती दर्शकको आँखामा नाचिरहने खालको थियो ।

उता हरियाली आमा समूह आँपचौर तल्लाफाँटका महिलाहरु पनि को भन्दा को कममा थिए । बलिथुम ५ रैनादी गाउँका जय हिमालय युवा क्लवका जनजाति युवा युवतीको प्रस्तुती हेर्दा हुटिङ्गको तालि नहान्ने र सिट्टी नफुक्ने त्यहाँ कुनै दर्शक थिएनन् । तर अन्यत्र जस्तै दर्शकको अनुमान र निर्णायक मण्डलको नतिजा त्यहाँ पनि फरक भैदियो ।

गतिलो पुरस्कार हात पार्नेहरु जोड-जोडले हुटिङ्ग गरे पनि अन्य समूह र समर्थक छाँगाबाट खसेजस्तो भए । ज्ञानोदय उच्च मा.वि.का महिलाहरुलाई सान्तवना पुरस्कारको घोषणा गर्दा बहिष्कारको आवाज ननिस्केको पनि होइन तर अन्तत: निर्णायक मण्डलको निर्णय स्वीकार गर्न मञ्जुर भयो त्यो समूह ।

दोस्रो हुने अपेक्षा राखिएका अनि धेरैले कम्तिमा पनि दोस्रो पुरस्कार हात पार्छन भन्ने अड्कल काटेका जय हिमालयन युवा क्लव रैनादीको समूहलाई तृतीय पुरस्कार घोषणा गर्दा त्यो समूह हुटिङ्ग गर्न समेत चाहेन । उता भेषभुषा, गीत नृत्य सबै हिसाबले प्रथम पुरस्कारको दाबेदार नै मानिएकालाई द्वितिय पुरस्कार घोषणा गर्दा उनीहरुको पनि हुटिङ्ग खुसीको नभई निरासको थियो । त्यसको मतलब प्रथम पुरस्कार प्राप्त गर्ने पोलारिस आवासिय माध्यमिक विद्यालय तुराङ्ग १ मजुवाको प्रस्तुती उनीहरुको भन्दा कम थियो र निर्णायक मण्डलले धाधली गर्‍यो भन्ने होइन उनीहरुको प्रस्तुती पनि अरुको तुलनामा २० नै थियो १९ थिएन ।

अन्तिममा पोलारिसलाई प्रथम पुरस्कार घोषणा गर्दा पुरै मैदान गुञ्जायमान भयो । कतिपयले आयोजक सँस्थालाई खानाको व्यवस्था त्यसै विद्यालयले मिलाएकोले पनि प्रथम पुरस्कार दिलाइएको आरोप समेत लगाए । उकृष्ट नृत्यको कुरा गर्नुपर्दा जनहित युवा क्लव शान्तिपुर, रेमीले पाएको उत्कृष्ट पुरस्कार धेरैको अनुमान अनुसारकै भयो ।

अनुमानै लगाउन गार्हो पार्ने गरी तिज गीत प्रतियोगितामा सहभागि हरेक समूहको प्रस्तुती र परिणामले दर्शकको मन त खिन्न पार्‍यो भने समूहको झन् नपर्ने कुरै भएन त्यसैले पनि निर्णयक मण्डल कसलाई कुन तहमा राख्ने भन्ने मै अप्ठेरोमा परेको हुन सक्छ । प्रतियोगितामा अनुमान भन्दा नतिजा फरक आउनु स्वभाविकै हो तर अस्वभाविक र अकल्पनिय त्यो सहभागिता र प्रस्तुतीले क्षेत्र नं. ३ र सदरमुकाम तमघास सहितको क्षेत्र नं २ लाई चुनौती दिइरहेको थियो ।

आयोजक समितिका अध्यक्ष विनोद भण्डारी भन्दै थिए सिडिओ र एलडिओ लगायत ठूलाबडाहरुलाई अतिथि बनाएर गरिने तिज गीत कार्यक्रम संस्कृति संरक्षणका लागि भन्दा पनि चाकरीका लागि आयोजना गरेको अुनुभूत गरी जिल्लाका कुनै ठूला बडालाई बोलाएनौ । उनले थपे राष्ट्रिय कलाकार आउने प्रचार गरेर मान्छे जुट्छन् भन्ने भ्रमलाई समेत हामीले गलत सावित गराइदियौ ।

राष्ट्रिय कलाकार बोलाउने र पैसा खर्च गर्ने यतिबेला जिल्लामा एउटा फेसन चलेको छ । त्यो फेसन अँगाल्नेहरुले मजुवाको त्यो सहभागिता हेर्न जरुरी थियो ।  कार्यक्रमका प्रमुख अतिथी स्थानीय समाजसेवी लक्ष्मीप्रसाद भण्डारीलाई बनाइएको थियो । उहाँले सम्बोधन गर्दै मौलिक सँस्कृतिको खानी क्षेत्र नं १ सदरमुकाम तम्घासबाट टाढा परेकोले पनि ओझेलमा परेको तर लोक दोहोरी प्रतिष्ठानले ब्यापक प्रचारमा ल्याएको भन्दै धन्यवाद दिनुभयो ।

विशेष अतिथि प्रतिष्ठानका जिल्ला सचिव जनक पन्तले आयोजक क्षेत्रिय कमिटिलाई धन्यवाद दिँदै यस्तै कार्यक्रम गाउँस्तरसम्म पुर्याउन निर्देशन दिनुभयो । कार्यक्रममा १० वर्षिया वालिका मजुवा निवासी प्रिया श्रीस हजुआमाहरुले लगाउने कण्ठ माला र मखमलको रातो चोलीमा सजिएर नाच्दा धेरैको आँखाको नानी बनिन् उनी ।

त्यो तयारी धेरै लामो समयको थिएन धेरै रेडियोहरुमा विज्ञापन पनि बजाउनुपरेन । पुरस्कार राशी प्रदान गर्ने स्थानीय व्यवसायिले प्रदान गरे प्रथम पुरस्कार प्रायोजक गौतम सपिङ्ग सेन्टर मुजुवाका प्रेम गौतमले गर्नुभएको थियो । बविता कोल्ड स्टोरका जिवराज फुलदेलले द्धितीय, टेक्नोलोजी मोवाइलका सुन्दर विश्वकर्माले तृतीय लगायत झण्डै एक दर्जन व्यवसायिहरुले पुरस्कार र विभिन्न सहयोग गरेका थिए ।

सँस्कृति संरक्षणमा यसरी सबैको सहयोग भए समग्रमा मजुवा बने भन्दा प्रगतिशील आमा समूह तुराङ्ग १ मझुवा बजारका महिलाहरुलाई सान्तवना पुरस्कार घोषणा गर्दा बहिष्कारको आवाज ननिस्केको पनि होइन तर निर्णायक मण्डलको निर्णय स्वीकार गर्न मञ्जुर भयो त्यो समूह ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग