Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित भित्रै छुवाछुत: १५ महिनादेखि विवाहित जोडी घर पस्न दिईएन

Published on 12:14:00 PM //


प्रेम सुनार
गुल्मी । दलित नेताहरु आफुभन्दा कथित ठूला जातिहरुले जातीय विभेद गरे भनेर चर्काचर्का भाषण ठोक्छन । दलितकै क्षेत्रहरुलाई पेशा बनाएर एनजिओ, आईएन्जिओबाट डलरको खेती गरिरहेको आरोप पनि उनीहरु माथी नआउने गरेको होइन तर एउटा सत्य चाँहीँ के हो भने उनीहरु दलित भित्रकै चरम जातीय विभेदको डंगुरमा बसेर दलित मुक्तिको शंखघोष गरिरहेका छन् ।
त्यसको पछिल्लो उदाहरण देख्न सकिन्छ गुल्मी सदरमुकाम तम्घास नजिकै सिमीचौर गाविसका नवबिवाहित एक जोडीको घटनाबाट, जो प्रेम विवाह गरेको १५ महिना वितिसक्दा पनि घर भित्र प्रवेश पाएका छैनन् । सिमीचौर वडा नं–५ बाँसपाटा निवासी १९ वर्षिय रमेश विश्वकर्माले सोहि गाविस वडां नं. ८ राङ्गवास निवासी १९ वर्षिया सावित्रा नेपालीसँग गत वर्षको असार ९ गते प्रेम विवाह गरेका थिए ।
घरमा बाबु रविलाल विश्वकर्माले तल्ला जातकी केटी भित्र पसाल्दा कुलले नसहने र दाजुभाईले समाजबाट बाहेक गराउने भन्दै घरको दलानमै राखेर खाना खुवाउने, बसाल्ने गरे । दिनभर काम गर्ने खाना चाँही पेटीमा बसेर खानुपर्ने भएपछि अपमान महसुस गरी तमघास आएर वसेको सावित्राले वताइन् । “ठूला जात भनिनेहरुले त विभेद गर्न छाडे" सावित्राले भनिन्, “दलित भित्रै उच–निचको भेदभाव सहन सकिँदैन ।”
रमेशले बाबु रविलाल र दाजु महेन्द्रलाई थुप्रै पटक मनाउने कोशिस गरे । त्यसमा बढी बाधक बने एस.एल.सी. पास गरेका र शिक्षा चेतना र जातिय विभेदको कुरा गर्ने दाजु महेन्द्र । "उनले मोबाइलमा  थर्काउँदै सावित्रालाई तथानाम गाली गलौज गर्दै घरमा टेक्न नदिने चेतावनी समेत दिए", सावित्राले भनिन् । “तेरो तागत भए ल्याएर घर आइज दाजुले यसरी थर्काए’ रमेशले भने, ‘दाजु भन्छन् तँ यस घरभित्र पस्ने हो भने हामी सपरीवार निस्केर अन्यत्रै गएर बस्छौँ ।” स्थानीय दलित अगुवाहरुसँग रमेश दम्पतीले आग्रह गरे तर, न त ति अगुवाहरुले जिल्लाका दलित नेता र संघसंस्थामा नै कुरो पु¥याए न त जिल्लाका नेताहरुले नै खोजे । १५ महिनादेखी रमेशले तम्घासको एक फर्निचरमा काम गरेर डेरा गरी राखेका छन् सावित्रालाई । स–सम्मान घर नभित्राए नजाने सोंचमा छन् यी जोडी ।
उता बाबु रविलालसँग सम्पर्क राख्दा आफ्ना कुलायन असाध्यै अप्ठारा भएकोले उनिहरुलाई भित्राउन नसकिने बताए । कत्तिका अप्ठारा छन् र तपाईका कुलायन बाघ नै हुन् कि क्या हो? भन्ने ठट्यौली प्रश्नमा उनले पनि एकदमै हलुका पाराले ठट्यौली उत्तर दिए, "बाघ होइन, हात्ती भन्दा ठूला छन् ।”
तपाई माथिल्लो जात भनिनेहरुकोमा बाहिर बसेर खाँदा अपमान महसुस भएझैँ तपाइकी बुहारीलाई पनि भए होला नि ? यस प्रश्नमा उनले भने–“ मैले होइन–छैन भनेको छैन, आए बाहिर कोठा छन्, बसे हुन्छ । भित्र त अहिले पसाल्न सक्दिन दाजुभाईले निकाल्छन् ।” उनले आफ्नो सास रहुन्जेल पसाल्न नसक्ने दावी गर्दै भने–“ के गर्ने, समाजको चलन मान्न्नै पर्‍यो, दाजुभाईले मान्दैनन्” कथित जातकाहरुसँग मात्रै जातीय समानताको कुरा गर्ने कि दलित भित्रैको विभेदको पनि कुरा गर्ने ? दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्कर्मासँग यस्तो प्रश्न गर्दा सुरुमा हाँस्नुभयो । साझा मञ्चको गाउँसम्म सञ्जाल छ, सिमीचौरमा पनि होला यहाँहरुलाई जानकारी भएन ? भन्ने प्रश्नमा विश्कर्माले जानकारी प्राप्त नभएको बताए ।
१५ महिनादेखी यि जोडी बाहिर छन् , मञ्चले भित्राइदिन सक्ला ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो–“साथीहरुसँग बुझेर के रहेछ, बिचार गरौला ।” जिल्लाका यि दलित नेताहरुको मात्र के कुरा देशभरका दलित नेताहरुका लागि दलित भित्रको चरम विभेद पहिलो चुनौती बनेको छ । यो चुनौतीको सामना गर्न नसके अर्को चुनौती पानी चल्ने जात भनिएकासँग समानताको हात मिलाउन बल्ल सजिलो पर्ने देखिएको छ ।
जिल्लाका दलित हस्तीहरु आशिन यसै सदरमुकाम सेरोफेरोको अवस्था त यस्तो छ भने दुर–दराज गाउँको अवस्था कस्तो होला ? जो जगजाहेर नै छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग