Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीज गीत कि रत्यौली? तीज सँस्कृति कि बिकृति??

Published on 3:40:00 PM //


प्रेम सुनार
गुल्मी –“बाँदुरै बरु कम्मर भाँचिय भाचिएला, अनि बाजी ठोकाम आऊ झिल्के, बाजी ठोकम आऊ....” जस्ता तिज गीत नाम दिईएका रत्यौलीले हाम्रो मौलिक तिज गीतको महिमा मेटाउन थालेको भन्दै सदरमुकाम तमघासका महिलाहरु तिजका मौलिक गीतहरुको संरक्षणमा जुटेका छन् ।

त्यसो त तिज आउनुको एक महिना अघिदेखि नै प्रत्येक गाउँ गाउँ र टोल टोलमा तिज गीत रामको चहल-पहलले साँझ पर्नासाथ गुञ्जयमान पार्न थालिएको छ । जुन तिज गीत रामहरुमा महिलाहरुको भन्दा युवाहरुको ठूलो सहभागिता र दोहोरी हानाहान अनि नाचिरहेका युवतीको छेउमा पुगेर सँगै नाच्ने हानथाप चल्न थालेको छ ।

ति तिज गीत दोहोरी केहि वर्षअघि गाउँमा बसिने झाम्रे र कतिपय गीत–नाच त ठ्याक्कै रत्यौलीलाई माथ गर्ने खालका छन् । यसर्थ पनि पुराना र मौलिक तिज गीत संस्कृति संरक्षणका लागि रेसुङ्गा महिला वचत तथा ऋण सहकारी सँस्था तम्घासका महिलाहरुले अन्य समूहका महिलाहरुलाई समेत निम्ताएर संरक्षणमा जुटेका हुन् ।

“हामीहरुले पनि पुराना गीतहरु बिर्सन लाग्यौ" सँस्थाकी अध्यक्ष तारा पौडेलले भन्नुभयो- “आजकलका तिज गीत झाम्रे र रत्यौली जस्ता हुन थाले त्यसैले बुढीपाकी महिलाहरु बोलाएर हामीले पनि सिक्दैछौं र अन्य गाउँका महिलाहरुलाई पनि मौलिक गीतहरुमै रम्नुपर्दछ भन्ने सन्देश दिन खोज्दैछौं ।”

भैरहवा माईतीघर भएकी पौडेलले सानामा सुन्ने गरेको माईतीदेशको तिज गीत बोल मात्रै थाहा भएको भाका बिर्सिसकेको भनेपछि पुराना गीतहरु जस्तो पनि गाउन खप्पिस तम्घास ६ की शोभा मरासिनीले त्यो भाका निकालि हाल्नुभयो “आँगनुको डिल बसी काली कौवा काका, के कुमा समचार ल्यायौ बरिलै ” । यस्तो पुरानो गीतमा विसबाइसे उमेरकी सुष्मा पाण्डे आफ्नो साथीसँग जोडेर नाच्दा ३० वर्ष अघिको गाउँघरे तिज गीतको झझल्को आइरहेको थियो ।

साडी ब्लाउज, शिरमा परम्परागत क्लिपर, छड्के तिलहरीमा सजिएकी पाण्डे नेपाली पोशाक मन पर्ने र हाम्रै परम्परागत संस्कृतिमा रमाउन चाहने बताउनुहुन्छ । “खै आजकालको बाजी ठोकम आउ जस्ता रत्यौली गीत सुन्दा लाज लाग्छ", उनले भनिन् - "अब हामी हाम्रा आमा, हजुरआमाबाट पुराना गीत सिक्न जरुरी छ ।”

“माईत जाने मैतालुको मुख कति मनिलो, कसको माया तिमीलाई आयो बरिलै..........” यो पुरानो गीत गाइरहँदा भुँइमा बस्नुभएकी तमघास खानीगाउँकी ६३ वर्षिया वृद्धालाई नाच्ने जोश आइहाल्यो । उहाँ सकिनसकी उठेर कम्मरमा हात लगाई–लगाई ठिटीहरु भन्दा अझ फुर्तिले नाच्नु भयो । “खै आजकल त केके गाँउछन् के के, हाम्रा पालामा त यस्ता गीत गाँउथ्यौ", उहाँले भन्नुभयो, "आज हामीलाई बोलाएर उनै पुराना गीत गाउन लगाएका छन् खुसी लागेको छ ।”

“ऋषिश्वर देवताले हात जोडी बसेका, कसले गर्ला देवताको ध्यान बरिलै” हाम्रा आमाहरुले यस्ता भगवानका गीत गाउनुहुन्थ्यो , मलाई पनि यस्तै मन पर्छ बलेटक्सार–४ घर भई ज्ञवाली गेष्ट हाउस तम्घासकी तुलसा ज्ञवालीले भन्नुभयो “हिजो–आज त झाम्रे जस्तो लाग्छ , हराउँदै गए यस्ता गीतहरु, तिजका नाममा रत्यौली आउन थाले उहाँले थप्नुभयो अब हाम्रा आमा, हजुरआमाहरुको सेख छँदै वर्तमान पिँढीले टिप्न नसके पछुतो लाग्नेछ ।”

“आँगनै डिलमा ओझेल पर्यो, बरिलै कदमका छाँयाले ....” यो गीत निकालिरहँदा रेसुङ्गा आमा समूहकी उपाध्यक्ष सीता पाण्डे फन्की–फन्की नाच्नुभयो । उहाँको भनाई थियो “आमा समूह यि र यस्ता पुराना संस्कृति जोगाउन लागेका छौं ।”

“बाहिर निस्क तबलाकी रानी, बरिलै सिरफूल पहिरन ---- आज र मलाई शिर सञ्चो छैन बरिलै भोलि ब्यान पहिरम्ला ..........." यस गीतमा तम्घास बसपार्ककी एकल महिला दीपा क्षेत्री नाचिरहँदा ४९ वर्ष अघि श्रीमान् बित्दाको वियोगलाई तिज गीतमा ब्यक्त गर्न उहाँलाई दोस्रो पटक नचाइयो । त्यो पति वियोगको गीत थियो
सिर्फुल धुन पानी मैले पाईन, बरिलै परे म त दोमन  
अल्लारे केटालाई दिनुभयो बाबा, बरिलै गयो मेरो जोवान  
खोलीको ढुंगी टपक्कै टिपी, बरिलै चौपारी चिनाम्ला  
गएको जोवान फर्की आउने भए बरिलै पैसाले किनम्ला 
”आज मलाई सञ्चो छैन बिहानीको चिसाले, सासु उठी दैलो लिपिन मेरा रिसले“ तम्घास ६ की माया आचार्य नाचिरहँदा यसै समाचारदाताकी तिहारमा टीका लगाउने र तिजमा दर खान आउने एक मात्र फूपु झल्को आइरहेको थियो । जसको यसै वर्ष मृत्यु भयो । गत वर्ष तिहारमा टीका लगाउने क्रममा नमरे बाँचे दैवले साँचे तिजमा आउला भनेर आँसु खसालेकी मेरी फूपुलाई दैवले साँचेन । दिदीबहिनी बिनाको अभागी यसलाई खड्गकोट घर भई तम्घासमा पसल गरेर बस्नुहुने सीता ढकालको यो गीतले पनि फुपुको झझल्को दिइरहेको थियो –”सिफनको रातो साडी झ्याप्प काँधमा भिरियो, घर धानेर बस स्वामी माईत हिडियो ”

सायद गतवर्ष मेरी फूपू पनि फुपाजुसँग यस्तै घुर्की लगाउँदै आफ्नो घर सिमीचौरको भर्तालटोलबाट माइतीघर मुसीकोट पुगेकी थिइन् । आँगनी डिलमा काली कौवा काका के कुमा समचार ल्यायौ बरिलै । यो गीत सुनिरहँदा अब मेरी फूपुलाई खबर दिने काली कौवा न त कराउनेछ न त यो भदै र त्यो दाजु लिन जानेछन् । दिदी–बहिनी गुमाउने हरेक दाजुभाईको यस्तै पीडा लिएर आएको छ सदा झै यसपालीको तिजले पनि ।

कतै पोईला जान पाम् ,कतै एक लोटा पानी खाने भयो त कतै ५ मिनेटमै स्याँ–स्याँ र फ्याँ– फ्याँ हुने भईन् जस्ता बाजी ठोकम आउ भन्ने गीतका यी शब्द पूरै ज्यूँती गीतका शब्द हुन् ।
तर पुराना भगवानका गीत गुनगुनाउने कोही छैन । सँस्थाकी अध्यक्ष तारा पौडेल लगाएतका महिलाहरु तिनै भगवानका गीत यस्तो बोलमा गाँउदै थिए, ”एउटा गीत गाउँछु मैले तिजको बेलामा सत्यदेवी शिवजीको अपहेलाना“

उपल्लो तम्घासकी सीता मरासीनी यसो संझिदै अर्को एउटा पुरानो गीत निकाल्नुहुन्छ “ बिहानै उठेर पानी लिन जाँदा थुगेस्वरी फुलवाले बाटो छेकेको ” तम्घास–८ भुजेलखर्ककी पुष्पा पन्थी तिजमा गाइने चुट्का निकाल्नुभयो “उभोबाट उर्ली आयो पर्वतेमा खोला, लुकीछिपी लाको माया नभन्दिनुहोला – कस्तो मान्यौ र सिता रामजी नाचेको कस्तो मान्यौ र ...?”

यि र यस्ता मौलिक तिज गितहरुको खोजी–खोजी संग्रह गर्न जरुरी भईसकेको छ । आजकल आधुनिकताका नाममा कामुकता प्रदर्शन गर्न नाङ्गो नाच, उध्रेको चोली भन्ने गितमा बार जस्तो लाजका गहना पुरै देखिने चार औंलको ब्लाउजमा नाचे गाएको देख्दा, झाम्रे हो की रत्यौली छुट्टाउने गाह्रो पर्न थालेको छ ।

तिजलाई आम नारीको चाड नबनाएर सिमित पुँजीपति वर्गको गहना कपडा प्रदर्शन गर्ने अवसरका रुपमा लिन थालिएको छ । त्यसैगरी यो चाड महिलाको नभई पुरुषको हो की भन्ने आभाष हुन थलेको छ । पुरुष विना ननाच्ने युवतीहरुको रहर बढ्दो छ । मानौं कि तिज गित युवा–युवतीहरुको यौनउन्माद शान्त पार्ने सजिलो माध्यम हो । तिजको गितमा हत्केला थपडीमा कुईनाको कमाल अन्यत्रै गरेर मस्ती लिन खोज्नेहरुका कारण कतिपय महिला तिज गित राममा जान पनि डराउन थालेका छन् ।

तिज गितको सारा माहौल नै युवतीको अंग प्रदर्शन र ठाडै यौन अपिलमा भएपछि मस्तीका हस्तीहरुलाई मौकामा चौका हान्ने दाउ ननिकाल्ने कुरै भएन । अनि अति पुरातनवादी महिलाहरु अझै पनि पुरुषलाई स्वामी राजै, उसको चिरायुको कामना गर्दै व्रत वस्ने, उसको गोडाको जल खाने जस्ता पुरुष भगवान स्त्री उसकी चरणकी दासी ठान्ने प्रथालाई वढवा दिदै छन् । लैङ्गिक समानताका भाषण छाँटेर नथाक्ने महिला अधिकारकर्मीहरुले नै पुरानो संष्कृति संरक्षणका नाममा स्वामी राजैलाई अझ नाक ठाडो पारी दिने गित गाउनु कत्तिको जायज हो ? प्रश्न गर्न थालिएको छ । अझ गजवको कुरा त दर खाने महत्वपुर्ण दिनका महिमा नै मेटाउन थालिएको छ ।

दर खाने त त्यो एक दिन मात्रै हो तर यहाँ त साउन १ गते देखि नै एक समुहमा १० देखि२० हजार सम्म खर्च गरेर दर खाने कार्यक्रम धमधम राखिँदै आएको छ । कतिपय स्थानमा त वियर पनि चल्यो भन्ने चर्चा चल्न थालेको छ । दशैं बरु ९–१० दिनको हुन्थ्यो, तिजलाई त एक महिने र त्यो भन्दा पनि खर्चिलो, भड्किलो बनाउने कसरत सुरु भएको छ । प्रगतीशिल पक्षधर महिलाहरु नै अन्धविस्वासलाई बढावा दिने, भाग्यबादी बन्ने र श्रीमानलाई जिवन साथी होईन शिरको स्वामी ठानि रहने हो भने कहिले होला यो देशमा नारी–पुरुष बरवरी ? यो चिन्ताको विषय बनेको छ । साँच्ची भन्ने हो भने आजकलको तिज गित नाच रुपी रत्यौलीले सबैभन्दा ठुलो प्रेरणा यौन र छाडापनलाई दिएको छ । साह्रै छाडा संष्कृतिको पछाडि नलागौँ चेली हो, यौन हिंसाको शिकार हुनु पर्ला ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग