बस दुर्घटनाले लुटेको खुशी
Published on
3:14:00 AM //
प्रेम सुनार
"तिनै जना बाँचियो हजुर, यसैमा खुशी छु । छोरो पनि म संगै उपचारमा छ, हामी आमा–छोरा बाँचियो भन्नेमा ढुक्क छौं । उता श्री (श्रीमान श्रीप्रसाद थापा ) पनि माथी मिशन अस्पतालमा भर्ना भएर बाँचेछन् भन्ने सुनेपछि थिलाथिला परेको शरिर पनि दुख्न छाड्यो ।"
"मलाई त मेरो घाउ चोटको दुखाईले भन्दा पनि श्रीलाई केहि भयो की भन्ने पिरले पोलेको थियो अव त मेरो मुटुको विमार पनि निको भए जस्तो महशुस गरेकी छु”, गत आईतवार गुल्मीको हर्दिनेटा वस दुर्घटनामा परी उपचार्थ पाल्पा प्रवास अस्पतालको शैयाबाट ब्याक्त गुल्मी दुविचौर–९ की २८ वर्षिया सुमित्रा थापाको खुशी हो त्यो ।
गुल्मीन्युज सहकर्मीसँग कुरा गर्दै आफ्ना श्रीमान श्रीप्रसाद बाँचेको भन्दै त्यसरी खुशीका आँशु वगाउँदै हुनुहुन्थ्यो उहाँ ।
तर वास्तविकता अर्कै छ ।
“उनको स्वास्थ्य उपचारका लागि पनि वास्तविकता लुकाउनै पर्ने बाध्यता छ’ सुमित्रालाई कुर्न वसेका उर्लेनी निवासी दिलबहादुर बस्नेतले भन्नु भयो–‘श्रीमानको मृत्यु घटना उनिसंग लुकाएका छौं, नभनि दिनु होला है ।” सुमित्रालाई आफु बाँचेको भन्दा पनि तिनै श्रीमान श्रीप्रशाद र ४ वर्षिय छोरा सुदर्शन बाँचेको भ्रमले खुशीको सिमा छैन जसले आफुलाई बचाउनका लागि २ लाख रुपैयाँको जोहो गरेर काठमाण्डौ उपचारमा लैजाँदै थिए ।
“वस चढेपछि उहाँ पछाडी वस्नु भयो, भाई, म र वावु अगाडीको सिटमा वस्यौं’ उहाँले भन्नुभयो, ”उहाँसंग कुराकानी चाँही गर्दै हिडेका थियौं ।”
“गाडी थामी नसक्नु गरेर दौडेको थियो, त्यस्तो वेलामा पनि भाडा मागेर हैरान पार्दै थिए कन्डक्टरले ।" उहाँले थप्नुभयो, "ट्रक र वसको अगाडी बढ्ने कम्पीटेशन जस्तै थियो । पछाडीको ट्याङकरलाई उछनेर अगाडी बढ्नसाथ घन्द्रयाम्म गाडी खस्यो ।"
"मलाई त छोरा र श्री कता छन् भन्ने मै होस्–चेत गुम्यो ।"
उद्धारमा खटिएका स्थानियवासीले पनि भन्दै थिए उनि श्री खोई भन्दै थिईन । गाडीमा हालेर पाल्पा पठाउने वेलामा उनि भन्दै थिईन पत्रकारहरुलाई खोजिदेउ भनेर पनि मानेन श्री कता हराए । उनको त्यो वोली वेहोस अवस्थाको थियो । होसमा पनि श्री वेहोसीमा पनि श्री । सबैको मन भक्कानिएको थियो बारम्बार उनको मुखबाट श्रीमानको नाम बोलिरहँदा ।
"मेरो मुटुमा प्वाल परेको छ भने पछि २० हजार लिएर हिँडेका थियौं अरु पैसा घरमै राखेर पछि मगाउँला भनेर हिँडेका थियौं ।" उहाँले भन्नुभयो, "त्यो २० हजार मेरै साथमा छ तर श्रीको मोवाईल र अरु समान कहाँ छ थाह छैन ।"
श्रीकै सन्चो विसन्चो सोध्दा मै उनले सताउँछिन् केहि तलमाथी भएको थाह दिन सक्ने स्थिती छैन अहिले वस्नेतले भन्नु भयो, सञ्चै छ उहाँलाई पिर नगर्नुस भनि दिनु होला । लौ दिदी तिनै जना वाँच्नु भयो राम्रो संग उपचार गर्नु होला भनेर हामीले भन्न साथ उहाँ मुस्कुराउँदै भन्नुभयो, "हस् उता श्री पनि बाँचेछन् भाग्यमानी रहेछौं ।" उनको त्यो खुशी देख्दा र उता उनका मुटुका टुक्रा श्रीको इह लिलाको वास्तविकता सम्झीदा हाम्रो पनि गह भरियो । मनले भन्यो कठै आफ्नो भन्दा जिवन साथी श्रीको माया गर्ने तिम्रो त्यो खुशी कति दिन टिक्ला ? यो व्रम्हाण्डमा साँच्ची ईस्वर छौ भने फर्काइदेउ सुमित्राको श्रीलाई । अन्यथा उनी सधैको नेयाउली चरी झैं श्री पुकार्दै तड्पी तड्पी वाँच्नेछिन् ।
पति वियोगको वास्तविकता लुकाईएकी दुविचौरकी सुमित्रालाई त्यो दर्दनाक अवस्थामा पु¥याएको छ लुम्छा हर्दिनेटाको दुर्घटनाबाट यता तमघास मिलनचोकको अवस्था पनि उस्तै छ । एकै परिवारका ५ जना यात्रा गरेका वाङला–८ का ईन्द्रमणी भुषालले पत्नी चन्दा भुषाललाई गुमाए । उनलाई पनि ढाँटेर कृत्रिम खुशी दिलाईयो । जव सोमबार ईन्द्रमणिलाई थाह दिईयो, उनी मुर्छित भए । त्यसै दुर्घटनामा उनी सहित उनका साला र जेठान पनि परेका थिए । २८ बर्षिया पत्नी वियोगको पिडाका वावजुद पनि उनी डेढ वर्षिया घाईते छोरीको उपचारका लागि भरतपुर पुगेका छन । उनको भने अवस्था सामन्य रहेको बताईएको छ । तमघास मिलनचोक स्थित १८ दिन अघि वावुको मृत्यु शोकमा काठमाँडौबाट आएकी चन्दा वावुको मृत्युले तिजमा वहिनी आमाहरुलाई नरमाईलो लाग्ने हुँदा तिजमा आउने वाचा गरेर हिँडेकी थिईन । तर दुर्भाग्य उनी यस तिजमा मात्र होईन कुनै पनि तिजमा नफर्किने गरी सधैंको लागि विदा भईन ।
वसपार्कसम्म छाड्न आएका वहिनीहरुलाई नरुन सम्झाउने उनले ति आँसु ओभाउन नपाउँदै माइती पाण्डे परिवारलाई थप आँसुमा डुबाएर गईन ।
अर्खले–८ का २१ बर्षिय राजेन्द्र गौतम हजुर वुवालाई उपचार गराउन काठमाण्डौ लैजाँदै थिए । आखिर उनको ज्यान गयो हजुर वुवा भने सकुशल सोमबार घर आई पुग्नु भयो । श्री दम्पतीको पनि त्यही भयो मरेङ–५ अर्घाखाँचीका गणबहादुर क्षेत्री पनि उपचार कै लागि हिँडेका थिए । जो कल्पना नै गर्न सकिन्न की बस त टुक्राटुक्रा भएर छरिएको छ भने त्यस भित्रको मान्छे कसरी बाँच्यो ?
घाईते घनश्याम बसबाट निक्लेर हिडेको देख्दा सवै चकित परेका थिए । घनाश्याम भन्छन– “ म धेरै चोटी त्यस बसमा यात्रा गरेको छु । त्यस दिन गाडीमा सधै चलाउने डाईवर थिएनन् । पहिला पातलो मान्छेले चलाउँथ्यो त्यस दिन मोटे, जुन त्यसै गाडी मालिक हुन् ।” अगाडीको ट्रकले २–३ जना मान्छे उठाएको रिसले ट्रकलाई उछिन्न खोज्दा यति ठुलो दुर्घटना भएको उनले विभिन्न संचार माध्यममा भन्दै आएका छन ।
उपचार नै गर्न हिडेका तमघास–३ धागिथुमका १९ वर्षिय निरज र आमा छमिकलाको शब पनि सँगै फेला प¥यो जुन दृश्य पनि कम्ता दर्दनाक थिएन ।
जैसीथोक –१ कि २१ बर्षिया लक्ष्मी खड्का, पिपलधारा–७ की लक्ष्मी खनाल, दरवारदेविस्थानकी ७० बर्षिया हरिकला अर्यालको मृत्यु समचार परिवारले सुन्छन् भनेर घरको रेडियो नै लुकाउने र टि.भीको लाईन छुटाई दिने सम्म गरियो तर त्यो धेरै वेर टिकेन । त्यसै आईतवार वाटैमा मृत्यु भएका दुविचौरका श्रीप्रसादको भने अहिले सम्म थाह दिईएको छैन । कठै ति अभागी सुमित्राले तिनै जना बाँचेको भन्दै खुशीमा यसपालिको तिज विशेष समझमका साथ मनाउने सपना साँच्दै हुनुहुन्छ । तर पापी दैवले उनै सुमित्राको सिन्दुर पुछेर, सौभाग्य हरिसकेको छ ।