Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमतिको वैदेशक रोजगारले श्रीमानको बन्द पेशा खुलायो

Published on 2:41:00 AM //


प्रेम सुनार
गुल्मी । कुनै समय थियो घरमा श्रीमान विरामीले थला परेपछि श्रीमति विचल्लीमा पर्ने । त्यस क्रममा हरेश खाएर कतिपयले त रोगी श्रीमान कुरेर बस्नु भन्दा अन्यत्र जान ठिक भन्दै टाप कस्ने समेत गर्दथे । तर वैदेशिक रोजगारमा महिलाहरु जान थालेपछि अव त्यो स्थितीमा कमी आउँदै जान थालेको छ । त्यसको पछिल्लो उदाहरण बनेकी छन बडागाउँ–७ चुँदरी गाउँकी २८ वर्षिया वालकुमारी सुनार । उनका श्रीमान वावुराम सुनारले हस्तीचौरको उपल्लोफाँटमा आफ्नो परम्परागत पेशा सुनचाँदी पसल राखेका थिए ।
राम्रै चलेको पसल उनको स्वास्थ्य अवस्था विग्रिदै जाँदा घाटामा परेर बन्द गर्नु पर्‍यो । सुनार त्यसको चोटले कुलतमा होमिए । थप विरामी पनि परे । घरमा स–साना पाँच सन्तान, वालकुमारी एक्लैले घर धान्नका लागि ढुङ्गा वोक्नेदेखि दैनिक निमेक मजदुरीले सबै खालका दु:ख भोग्दै आएकी थिईन् ।
उनको त्यो विचल्ली देखेपछि वालकुमारीका मामाले अरव पठाईदिने सल्लाह माग्न आए । श्रीमति जाउ विदेश भन्न वावुरामले नसकेपनि मौन स्वीकृति दिन विवश भए । अन्ततः दुधे वालक छाडेर अरवतिर लागेकी वालकुमारी २ वर्षपछि हालै घर आईपुगेकी छिन् । वावुरामले उनि आए लगतै वन्द त्यो पसल सञ्चालन गरेका छन् । मदिराको कुलतमा समेत फसेका वावुराम वालकुमारी आएदेखि कुलत मुक्त भएका छन् । “दैनिक नसामा डुब्ने उनि आजकल चटक्कै पिउन छाडेकोमा चकित र खुशी छौं”– दाजु गोमबहादुर सुनारले भने । “तमघासमा गहना बनाउने ज्यावलमा लागेको खिया मेटाउने समान किन्न आएको छु’ वावुराले भने– ‘भाडा समेत तिर्नं नसक्ने अवस्था आएको थियो, वालकुमारी आएपछि उनलाई पनि उपल्ला फाँट राखेर पसल सुरु गरियो ।”
“विदेशमा घरमा काम गर्नु पर्दथ्यो", वालकुमारीले भनिन्– ‘सुरुमा त किन आएछु जस्तो लाग्यो र रोएँ पनि विस्तारै काम र भाषा सिकेपछि त राम्रै लाग्यो । ”
“फेरी जाउँ कि लागेको छ यदि उहाँले जा भने" वालकुमारीले थपिन । "नेपाल ओर्लेपछि सुटकेशको समान नै हरायो” उनले भनिन् । बुहारीको वैदेशिक रोजगारले छोराको भताभुङ्ग पेशा फेरी संचालनमा आएकोमा ७० वर्षिय बावु भुपाल सुनार औधी खुशी छन् । “आफुले आँखा देख्ने बेलासम्म कमाएका बिष्ट (ग्राहक) टुटे भन्ने पिर थियो’ उनले भने – ‘छोराले ति बिष्ट थाम्छ कि भन्ने आशा पलायो ।”
पहिला–पहिला गाउँमा विदेश जाने महिलाहरुलाई राम्रो नजरले हेर्ने चलन थिएन तर यति वेला वालकुमारी जस्ता थुप्रै महिलाहरुले परिवारप्रतिको ईमानदारीता र ईज्जतपुर्वक घर फर्किएर उन्नती देखाउन थालेपछि पुरुष विदेश जानु जस्तै सामन्य मान्न थालिएको छ । बालकुमारीसंगै उनकी भतिजी रञ्जु सुनार, अर्की एक युवती पनि गएका थिए । उनिहरु थप एक वर्ष वस्न चाहेको परिवारजनले बताए । जनयुद्धकालदेखिकी माओवादी पुर्ण कालिन सदस्य रहेकी रञ्जु सधै पार्टीमा खटेर वावुआमाको दुख देख्न नसकिएको भन्दै कुवेत पुगेकी थिईन् । “उनैको कमाईले ऋण तिरिएको र घर चलाउन सजिलो भएको उनकी आमा निरा सुनारले बताईन् । “उसले माने अझ एक वर्ष थपेर बस भन्छु,, भिषा पठाइदिए  मै पनि जान वेर लगाउँदिन’ निराले भनिन् –‘सधै श्रीमानकै कमाईको आशमा वस्ने जमना गए ।”

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग