Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिनल्यान्डदेखि नेपालसम्म भ्यान यात्रामा

Published on 7:32:00 PM //


काठमाडौं, भाद्र १६ - कार रेसिङ कसैका लागि सौख बन्न सक्छ त कसैका लागि कलात्मक खेल । फिनल्यान्डका तीन तन्नेरी विद्यार्थीले भने यसलाई विकासोन्मुख मुलुकको शिक्षालाई सघाउने माध्यम बनाए । नेपालका ग्रामीण भेगका सरकारी र सामुदायिक विद्यालयका लागि सहयोग जुटाउँदै फिनल्यान्डको दक्षिणी शहर ताम्पेरेबाट यात्रा थालेका युहो लेप्पानेन, माइकल हौताला र रिका पिक्लेन २४ दिनको स्थल यात्रा हुँदै काठमाडौं आइपुगेका छन् । झन्डै २० हजार किलोमिटरको स्थलगत यात्रापछि गएको आइतबार राजधानी आइपुग्दा उनीहरू निकै खुसी देखिन्थे ।

२० वर्ष उमेर हाराहारीका यिनीहरूले शुक्रबार आफ्नो अनुभव सुनाउन पत्रकार सम्मेलन गरे, जहाँ उनीहरू नेपाली पहिचान (ढाका टोपी) सहित देखिएका थिए । 'यात्राकै क्रममा एक ठाउँमा बाटो नै पूरै बाढीले बगाइदिएको थियो । हामी यति डरायौं कि झन्डै मिसन नै छोडेका थियौं,' फिनल्यान्ड दूतावासले गरेको सम्मेलनमा उनीहरूले यात्राको अनुभव साटे, 'जेनतेन हामीले भ्यानलाई सानो डुंगामा २७ किलोमिटर वैकल्पिक बाटो हुँदै कटायौं । भ्यानमा त्यसबेला बहुमूल्य क्यामेरा र डकुमेन्ट थिए ।'

यी तीन विद्यार्थीले नेपालका धनुषा, महोत्तरी, नुवाकोट र सर्लाहीका केही विद्यालयका लागि एक करोड रुपैयाँ रकम जुटाएका छन् । उनीहरूले फिनल्यान्ड, रूस, काजकिस्तान, किर्गिस्तान, चीन, पाकिस्तान र भारतका सहर हुँदै नेपाल आउनेक्रममा बाटोमै रकम उठाएका हुन् ।

'जसै मैले नेपालबारे पढें, यस देशका लागि केही गर्ने उत्कट चाहना पलायो,' यतिका दुःख गरेर रकम जुटाउनुको कारण खुलाउँदै यात्रादलका एक लेप्पानेनले भने, 'विशेषगरी यहाँको शैक्षिक क्षेत्रमा केही गर्न पाए हुने भनेर केही साथीभाइसँग सल्लाह गर्‍यौं । यात्राकै क्रममा रकम जोहो गर्न सकिनेबारे साझा धारणा बनायौं र यहाँसम्म आइपुग्यौं ।'

भ्रमण दलका अर्का सदस्य हाटाला पेसाले फोटोग्राफर र भिडियो मेकर पनि हुन्, उनी लेप्पानेनको योजनामा फेसबुक, टि्वटर र युट्युबमार्फत जोडिएका थिए । 'र, अहिले पनि हामीले यात्राका दृश्यहरू ब्लगमा राख्दै आएका छौं । त्यही देखेर पनि कति संघसंस्थाले खुला हृदयले सहयोग गरे र हामी सफल भयौं,' उनले सुनाए । उनीहरू शुक्रबार नै भ्यान यात्राबाटै स्वदेश फर्किएका छन् ।
कान्तिपुर दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग