Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै फूपुलाई नाम्लोले बाँधेर कुटपिट गरी सुन लुट्ने पक्राउ

Published on 11:24:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ २० । हिजो अर्घाखाँचिको छत्रगंजमा आफ्नै फूपुलाई कुटेर उनले लगाएको गर-गहना लुटेर फरार एक व्यक्तिलाई आज गुल्मी जिल्ला प्रहरीले सदरमुकाम तमघासमा पक्राउ गरेको छ ।
छत्रगंज ६ स्थित ७७ वर्षिया वृद्धा फूपु आइती नेपालीलाई नाम्लाको पासो लगाई निर्घात कुटपिट गरी उनले लगाएको एक जोडी मडवारी र नौगेडी लुटेर फरार भएका अर्घाखाँचि केरुङ्गा ५ घर बताउने २७ वर्षिय कैलाश सार्कीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीको टोलीले तमघासको बालमन्दिर लाइनबाट पक्राउ गरेको हो ।
निजले लुटेर ल्याएको उक्त सुनका गहना दिपक सुनचाँदी पसलमा बेच्न लागिरहेको बेला पक्राउ गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख प्र.नि. जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । लुटिएको एक जोडी माडवारी भनिएकोमा एउटा मात्रै माडवारी र सात गोटा नौ गेडीका टुक्रा भनिए पनि जम्मा पाँच थान सुनारले थिचेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक बस्नेतले पत्रकारहरुका सामु सार्वजानिक गरेका थिए ।
घटना अर्घाखाँचीको भएको कारण उहीँको प्रहरी कार्यालयमा पठाएर उ विरुद्ध मुद्दा दायर गर्ने पक्रिया अगाडि बढाइएको बस्नेतले जानकारी दिए । केरुङ्गा स्थायी घर बताए पनि लुटेरा कैलाश सार्की बुटवलको कालिकानगरमा बस्ने गरेको बताउँछन् । धेरैजसो त भारतमा बस्ने उनका एउटी श्रीमती यतै र अर्की भारततिरै भएको बताए । फूपु आफैले दिएको जिकीर गर्ने सार्कीका कुनै पनि कुरा भरपर्दा छैनन् ।
तत्काल स्थानीयवासीले गुहार नदिएको भए केहि दिन अघि गुल्मीको हस्तिचौरमा झै भान्जाको हातबाट मामा माइजुको हत्या भए जस्तै घटना हुने र त्यहि योजनामा गत नौ दिन देखि कैलाश फूपुको घरमा बस्दै आएको स्थानीयवासी समेत रहेका तम्घासका व्यवसायि तेजेन्द्र कुमार श्रेष्ठले बताए । उनकै सूचनाका आधारमा प्रहरीले कैलाशलाई पक्राउ गरेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग