Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"बा ! चुरोट छोड्ने भये छोड्नुस् नत्र म नि स्कुल छोड्छु !"

Published on 3:45:00 PM //


रासस
गुल्मी- धूमपान नियन्त्रणका लागि सरकारी निकाय नै उदासीन रहेको बेला  दुर्गम गाउँका विद्यार्थीले आफ्ना बाआमालाई धूमपान त्याग्न दबाब दिन थालेका छन् ।
सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ कार्यान्वयन गर्न सरकारले पटक पटक निर्देशन दिँदा समेत कार्यान्वयनका लागि यहाँ सरकारी निकाय नै मौन छ ।  जिल्लाका विभिन्न गाउँका विद्यार्थीले आफूले विद्यालयमा धूमपानबाट स्वास्थ्यमा पर्ने असरबारे थाहा पाएकाले तुरुन्त धूमपान त्याग्न अविभावकलाई दबाब दिएका छन् ।
विद्यार्थीको दबाबपछि कतिपय अविभावकले बाध्य भएर धूमपान छाडेका छन् ।  बा तपाइँले छाड्नेभए छोड्नुस्, नत्र म स्कुलै जान्न समेत भनेर अड्डी लिएपछि कति अभिभावकले चुरोट खानै छाडे, पृथ्वी उच्चमावि पुर्कोटका प्राचार्य धनीश्वर अर्यालले भन्नुभयो ।
मध्यमाञ्चल विकास क्षेत्रको बनेपामा रहेको शिर मेमोरियल अस्पतालले गाउँगाउँका विद्यालयमा पुगेर विद्यालयस्तरीय स्वास्थ्य शिक्षा तथा धूमपान नियन्त्रण कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थी सचेत भएका हुन् । अस्पतालले जिल्लाका विभिन्न गाउँमा रहेका १०  विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको अस्पतालका वरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापा मगरले बतउनुभयो ।
उदय उच्चमावि शान्तिपुरका शिक्षक गोकर्णप्रसाद शर्माले ग्रामीण क्षेत्रमा विद्यार्थीमार्फत अविभावक सचेतना फैलाउन सफल भएको बताउनुभयो ।  उहाँले गाउँमा विद्यार्थी पुगेर घरदैलोमा सचेतना जगाउँदै हिँडेको जानकारी दिनुभयो ।
जनबोध उच्चमाविका प्राचार्य यज्ञप्रसाद ज्ञवालीले विद्यालय शिक्षामै पाठ्यक्रम परिवर्तन गरी व्यावहारिक ज्ञान दिने शिक्षण प्रविधि र सामग्री समावेश गर्नुपर्छ भन्नुभयोे । विद्यार्थीमा यो चेतना जागेपछि जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई पनि यस विषयमा निरन्तर सचेतनाका लागि निर्देशन गरेको निमित्त जिल्ला शिक्षा अधिकारी लोकनाथ मरासिनीले बताउनुभयो ।
अस्पतालले बीस दिनसम्म महेन्द्र उच्चमावि तम्घास, जनबोध उच्चमावि रानीवास, आत्मबोध उच्चमावि मानकोट, ज्ञानोदय उच्चमावि तुराङ, सत्यवती उमावि हसरा, उदय उच्चमावि शान्तिपुर, मालिका उच्चमावि सिमलटारी, पृथ्वी उच्चमावि पुर्कोटदह र  रुन्खादह उच्चमावि वीरवासमा कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक प्रल्हाद शर्मा हुमागाईँले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग